बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीकै बीचमा अन्तर्राष्ट्रिय विमानस्थलका ४ आयोजनाको काम सकियो

मङ्गलबार, ३० भदौ २०७७, १८ : २६
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौँ । कोभिड–१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पार्किङ्ग स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो ।

यी चारवटै आयोजनाको आज अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमकाबीच उद्घाटन गरे । सो अवसरमा मन्त्री भट्टराईले कोभिड महामारीकाबीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणामस्वरुप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए ।

“सङ्क्रमणको जोखिम मोलेर आत्मबल र आत्मविश्वासका साथ निरन्तरताको प्रयासपछि चारवटै आयोजनाको परिणाम आएको छ । विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिनेछ”, पर्यटनमन्त्रीले भने ।

हालैको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ गतेदेखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने उनले बताए । पर्यटनमन्त्री भट्टराईले भने, “अब विमानस्थल छिट्टै पुरानै लयमा फर्किनेछ, विमानस्थलको चहलपहल बिस्तारै बाक्लिनेछ ।”

उनले कोभिड महामारीबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग चाहिने खाँचो औंल्याए । पर्यटनमन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाप कम गर्नुका साथै जहाज आकासमा फन्को लगाउने ‘होल्ड’ हुने अवस्थामा पनि कमी आउने बताए । मन्त्री भट्टराईले विमानस्थलको सुविधा सम्पन्न भौतिक पूर्वाधार तथा आवागमनतर्फ अत्याधुनिक नयाँ आगमन हलले जो कोही नेपाली तथा विदेशीलाई आकर्षण गर्नुका साथै विकसित मुलुकको झझल्को दिने उल्लेख गरे ।

विमानस्थलको विद्यमान संरचनाका साथै क्षमता विस्तारका अन्य कामको पनि चाँडै काम थालिने जनाइएको छ । समानान्तर ट्याक्सी वे, विमानस्थलको उत्तरतर्फ साना ठूला २४ वटा जहाज अटाउने पार्किङ्गस्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तार लगायतका कामसहित विमानस्थलको गुरुयोजनाको काम छिट्टै टुङ्गो लगाएर निर्माण प्रारम्भ गरिने पनि मन्त्री भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप