शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रसियाली विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार

मङ्गलबार, ३० भदौ २०७७, १७ : २७
मङ्गलबार, ३० भदौ २०७७

बर्लिन । रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ ।  जर्मनीको च्यारिटी अस्पतालका चिकित्सकहरुका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम स्वासयन्त्र हटाइएको र उनी अस्पतालको शैयाबाट उठेर सामान्य हिँडडुल गर्न थालेका छन् । 

फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन “नोभिचोक” खानामा मिसाएर खुवाइएको पनि जर्मनीले घोषणा गरेको छ । गत अगष्ट २० मा ४४ वर्षीय नाभाल्नीलाई उपचारका लागि रुसबाट जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पताल ल्याइएको थियो । जर्मनीले नोभिचोक रसायन खुवाइएका बारेमा अनुसन्धान गर्न रसियासमक्ष अनुरोध गरेको छ । रसियाले भने पश्चिमा मुलुकले रसिया विरुद्ध षडयन्त्र गर्न खोजेको आरोप लगाएको छ । 

च्यारिटी अस्पतालले भनेको छ, “नाभाल्नीलाई स्वास फेर्नका लागि राखिएको मेकानिकल भेन्टिलेटर हटाइएको छ । छोटो अवधिका लागि उहाँ अस्पतालको शैयाबाट यताउता हिँडडुल गर्न सक्ने हुनुभएको छ ।” रसियाका विदेशमन्त्री सर्गेई लाभरोभले मस्को विरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गर्ने कुत्सित उद्देश्यबाट नाभाल्नीको मुद्दालाई पश्चिमा मुलुकहरुले अघि सारेको आरोप लगाएका छन् । उनले ओम्स्कबाट मस्को फर्कनेक्रममा बिमानमै अचेत भएका नाभाल्नीलाई बचाउन बिमानका पाइलटले ठूलो भूमिका निर्वाह गरेको पनि बताए ।

उनले चिकित्सकहरुले तत्काल उपयुक्त सेवा दिन नसकेको भए नाभाल्नीको जीवन जोखिममा पर्ने बताए । उनले भने- “पाइलट, एम्बुलेन्सका सदस्य र चिकित्सकहरुको तत्काल प्रतिक्रिया निकै सराहनीय छ । रुसी अनुसन्धानकर्ताहरुले पनि घटनामा भरपर्दो र विश्वासिलो नतिजा ल्याउने छन् ।” –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप