शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्डद्वारा बोगटीप्रति श्रद्धाञ्जलि अर्पण

मङ्गलबार, ३० भदौ २०७७, १६ : २२
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पार्टी मुख्यालय धुम्बराहीमा आज ‘बोगटीको छैटौँ स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले बोगटीको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

कोभिड–१९ का कारणले स्मृति दिवसमा वक्ताका रुपमा कसैलाई नराखिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । अध्यक्ष दाहालले बोगटीको तस्बिरमा माल्यार्पण गरेका थिए । सोही अवसरमा वाग्मती प्रदेशका सहइन्चार्ज हितबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो । 

नेता बोगटी २०७१ साल भदौ ३० गते हृदयाघातका कारणले निधन भएको थियो । एकीकृत माओवादीको हेटौँडामा भएको सातौँ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो । उनले सरकारको ऊर्जा, सूचना तथा सञ्चार, पर्यटन नागरिक तथा उड्डयनमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन नुवाकोट क्षेत्र नं ३ बाट उनी प्रत्यक्ष तर्फबाट निर्वाचित भएका थिए । उनी नुवाकोटको साविकको तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते जन्मिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप