शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बोबाङका बाढीपहिरो प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविष्य कोष’

मङ्गलबार, ३० भदौ २०७७, १५ : ४९
मङ्गलबार, ३० भदौ २०७७

बलेवा । जिल्लाको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरो प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविष्य कोष‘’ स्थापना गरिने भएको छ ।  बागलुङ र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाका स्वयंसेवी पाँच महिलाको आर्थिक सहयोगमा सो कोष स्थापना गर्न लागिएको हो । ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप राहत कोष अन्तर्गत रहने गरी सो कोष स्थापनाका लागि ती महिलाले रु २ लाख ५६ हजार ९ सय ३१ सहयोग गरेका छन् । उक्त कोषको ब्याजबाट बाढीपहिरोमा परी अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्यमा सीप तथा रोजगारीका लागि खर्च गरिनेछ । 

जिल्लाको गल्कोट नगरपालिका–८ की पार्वती हितान, काठेखोला गाउँपालिका–२ की इन्द्रकुमारी काउचा, सोही गाउँपालिका–३ की सावित्री खड्का, बागलुङ नगरपालिका–१ की जमुना थापा र सोही नगरपालिका–१३ की यशोदा शर्माले सो कोष स्थापनाका लागि उक्त रकम सहयोग गरेका हुन् । उनीहरुकै आग्रहमा नगरपालिकाले ‘बालबालिकाका लागि शिक्षा तथा भविष्य कोष’ स्थापना गर्न लागेको हो । यो कोषले पीडित बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्ने नगर उपप्रमुख करमती पुनले बताइन् । 

ढोरपाटनका बाढीपहिरा पीडित महिला तथा बालबालिकाका लागि ती महिलाले जिन्सी सामग्री सङ्कलन गरी वितरणसमेत गरेका छन् । वितरण गरिएका सामग्रीमा महिलाका लागि लुङ्गी एक सय थान, पेटीकोट एक सय थान, टि–सर्ट एक सय थान, भित्रीवस्त्र ९÷९ दर्जन, च्यादर ८० थान, प्याड २ बन्डल, किशोरीका लागि सुरुवाल ४० थान, चप्पल १०४ थान, टि–सर्ट ४० थान, भित्रीवस्त्र ३ दर्जन ४ थान, सेन्डो ३ दर्जन, स्यानिटरी प्याड ४० थान, बेलुन चप्पल ३१ थान र बालबालिकाका लागि कपडा ३१ थान, टोपी २७ थान, बिस्कुट ५ दर्जन, चकलेट २ पोका र नौ महिने शिशुका लागि ब्लाङ्केट एक थान, खेलौना ३५ थानलगायत छन् । ती सामग्रीको मूल्य रु २ लाख ४४ हजार ८ सय रहेको बताइएको छ । 

मृत्यु भएकाको परिवारलाई काजकिरिया खर्च 

बागलुङको जैमिनी नगरपालिकाले पहिरामा परी मृत्यु भएकाको परिवारलाई रु २५÷२५ हजार काजकिरिया खर्च उपलव्ध गराएको छ ।  गत आइतबार र सोमबार वर्षासँगै आएको पहिरामा परी मृत्यु भएका तीन जनाको परिवारलाई रु २५ हजारका दरले काजकिरिया खर्च उपलव्ध गराएको नगरपालिकाले जनाएको छ । 

पहिरोमा परी मृत्यु भएका जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटकी लक्ष्मीपौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ की जालपादेवी पौडेलको परिवारलाई तत्कालै किरिया खर्चबापत सो रकम उपलव्ध गराएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । “तत्कालको समस्या समाधान गर्नु हाम्रो दायित्व हो, मृत्यु संस्कार पूरा गर्नका लागि स्थानीय सरकारले सो रकम सहयोग गरेको छ”, उनले भने, “बाँकी राहत र पुर्नस्थापनाका लागि प्रदेश र सङ्घीय  सरकारसँग समन्वय गर्छौं ।” 

मृतकको परिवारलाई घटनास्थलमै पुगेर नगदै प्रदान गरिएको नगरप्रमुख पौडेलले बताए । दुई दिनको निरन्तर पहिराले जैमिनीमा आठ घर पुरिएका छन् भने ३४ घर उच्च जोखिममा छन् । घर पुरिएपछि टुनीबोटका २५ जनालाई आफन्तको घरमा राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप