बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालीन राजपाका नेतालाई ठाकुरको चुनौती– आफ्नै तरिकाले अगाडि बढ्छु, तपाईंहरुलाई जे–जे गर्नुछ गर्नुस्

महेन्द्र र राजेन्द्रबीच भनाभन
मङ्गलबार, ३० भदौ २०७७, १५ : ४०
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल गठन भए पनि समायोजनको विषय पेचिलो बन्दै गएका कारण पार्टी एकताकै भविष्य अन्योलपूर्ण हुन थालेको छ ।

तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरुले केन्द्रीय कार्यसमिति सदस्यमा आ–आफ्नो तर्फबाट नामावली बुझाउनु पर्ने थियो तर कसले कति जनाको नाम बुझाउने भन्ने विषयमा मत नमिल्दा समस्या भएको हो । तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलको सोमबार बसेको बैठकमा महन्थ ठाकुरले सबैसँग नामावली माग गरेका थिए । 

त्यसमा नेता राजकिशोर यादवले कुन सुत्रमा कति–कति जनाको नाम बुझाउने भनि प्रश्न गरेका थिए । जवाफमा महन्थ ठाकुरले पहिला जसरी तय भएको थियो, त्यही अनुसार बुझाउन भनेका थिए । तर राजकिशोर यादव र महेन्द्र यादवले त्यसलाई स्वीकार गरेनन् ।

महन्थ ठाकुरले आफ्नो र राजेन्द्र महतोको कोटामा ९५–९५, शरतसिंह भण्डारी र महेन्द्रराय यादवको कोटामा ४४–४४ र राजकिशोर यादव र अनिल कुमार झाको कोटामा ३०–३० जना तय गरेका थिए ।

त्यो संख्यालाई महेन्द्र राय यादव, राजकिशोर यादव र अनिलकुमार झाले अस्वीकार गर्दै आएका छन् । कार्यकारिणी समितिमा महन्थ ठाकुर र राजेन्द्र महतोले जसरी मनमौजी गरेका थिए, केन्द्रीय समिति निर्माणमा पनि उनीहरुले मनमौजी गर्न खोजेको आरोप महेन्द्र राय यादव लगायतका नेताहरुको छ ।

स्रोतका अनुसार राजकिशोर यादव र अनिलकुमार झाले कम्तीमा ४०–४० सदस्य आफ्नो तर्फबाट हुनुपर्ने दावी गरेका छन् । महेन्द्र राय यादवले पनि आफ्नो तर्फबाट कम्तीमा ५० जना हुनुपर्ने दावी गरेको स्रोत बताउँछ । महन्थ ठाकुर र राजेन्द्र महतो भने उनीहरुको दावीलाई स्वीकार गर्ने पक्षमा छैनन् ।

बैठकमा राजकिशोर यादवले कुन सुत्रको आधारमा कसरी नाम दिने भन्ने प्रश्न गरेपछि महन्थ ठाकुरले आफू स्वस्थ्य नरहेको र यसमा धेरै कुरा गर्न नसकिने जिकिर गर्दै आफूसँग भएका नामावली उपेन्द्र यादवलाई बुझाउने जानकारी गराएका थिए । ‘तपाईहरुलाई जहाँ जहाँ बुझाउन मन छ, त्यहाँ बुझाउनुस्,’ ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मसँग आएको नामावली जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बुझाइन्छु । तपाईंहरुलाई जे–जे गर्नुछ गर्नुस् । म आफ्नो तरिकाले अगाडि बढ्छु ।’ 

बैठकमा सहभागी महेन्द्र राय यादवले छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको बताए । बैठकमा सबै नेता उपस्थित नभएका कारणले खासै छलफल नभएको जनाउँदै उनले अर्को बैठकबाट नामावलीको विषयमा टुंग्याउने कुरा भएको बताए ।

महेन्द्र र राजेन्द्रबीच भनाभन
बैठकमा महेन्द्र राय यादव र राजेन्द्र महतोबीच चर्काचर्की नै भएको थियो । राजेन्द्र महतोले एक अर्काको समूहको नेतालाई अर्को समूहबाट केन्द्रीय सदस्यमा नाम पठाउन नहुने कुरा राखेका थिए । कोही आफ्नो समूह छाडेर हिँडिसकेका छन् भने त्यस्ता व्यक्तिलाई पुनः अर्को समूहबाट जसपामा भित्र्याउन नहुने महतोको धारणा थियो । 

जवाफमा महेन्द्र राय यादवले भनेका थिए, ‘कुनै नेतालाई तपाईसँग बस्न मन छैन भने यसको मतलब यो होइन कि ऊ जसपा नेपालमै नजाओस् । तपाईंलाई नरुचाउने नेता तथा कार्यकर्ताले मलाई रुचाउन सक्छन्, मलाई नरुचाउने नेता तथा कार्यकर्ता तपाईलाई रुचाउन सक्छन्, यसमा विवाद गर्नुको कुनै तुक छैन ।’

त्यसपछि राजेन्द्र महतोले भने, ‘मेरो समूहमा काम गरेका नेताहरुलाई तपाईँ आफ्नो समूहमा नाम राखेर पठाउन सक्नु हुन्न, जो पार्टी छाडेर गईसके, उसलाई पार्टीमा भित्र्याउनु हुँदैन ।’
दुई नेताबीच केही बेर एक अर्को समूहको कार्यकर्तालाई पार्टीमा भित्र्याउने सवालमा भनाभन भए पनि यसबारे समेत ठोस सहमति नभएको स्रोत बताउँछ ।
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप