शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरस : अस्पताल र चिहानहरु भरिन थालेपछि जकार्तामा पुनः प्रतिबन्ध लागू

मङ्गलबार, ३० भदौ २०७७, १३ : ४७
मङ्गलबार, ३० भदौ २०७७

अदाङ इन्डोनेसियाको राजधानीमा विगत ६ वर्षदेखि चिहान खन्ने काम गर्दै आएका छन् । तर, योभन्दा पहिले उनले कहिलेपनि यति धेरै खट्नुपरेको थिएन । ६ महिनाअघि कोरोनाभाइरसको महामारी देखापर्न अघि उनले जकार्ताको पोन्डोक रंगोन चिहानमा दैनिक ३–४ वटा शव गाड्ने काम गर्थे । अहिले यो संख्या दैनिक २५ पुगेको छ । ‘हामीले यति धेरैलाई पुरेका छौँ कि अब हामी थाकिसक्यौँ,’ उनले भने ।

दक्षिणपूर्वी एसियामा इन्डोनेसिया कोरोनाभाइरसको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्याको आधारमा सबैभन्दा धेरै प्रभावित देशहरुमध्येमा पर्दछ । देशमा हालसम्म ८ हजार बढीले ज्यान गुमाइसकेका छन् । यो संख्या बढ्दै जाँदा पोन्डोक रंगोन चिहान चाँडो चाँडो भरिदैछ । यही दर कायम रहने हो भने अर्को महिनासम्ममा यो पूर्णरुपमा भरिनेछ ।

अप्रिल महिनामा लागू गरिएका प्रतिबन्ध गत जुन महिनामा खुकुलो बनाउन सुरु गरिएको थियो । व्यवसाय, रेस्टुरेन्ट र कार्यालयहरुलाई खुला गरिएको थियो । तर, तीन महिनापछि डाक्टरहरुले देशको स्वास्थ्य व्यवस्था नै धरासयी बनेको बताउन थालेका छन् ।

जकार्ताका गर्भनरले आंशिक सटडाउन गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘यो आपत्काल हो, महामारीको शुरुवातभन्दा पनि अति आवश्यक,’ सहरका १ करोड जनता पुनः घरबाट काम गर्नुपर्ने, पढ्नुपर्ने र प्राथना गर्नुपर्ने बताउँदै अनिस बास्वेडानले बुधबार भने ।

सोमबारदेखि लागू गरिएको प्रतिबन्ध यो वर्षको शुरुवातमा लगाइएका प्रतिबन्ध जस्तै छन् । सार्वजनिक यातायातमा सिमितता, रेस्टुरेन्टमा टेकअवे सेवा, कार्यालयहरुमा सिमित उपस्थिति लगायत छन् ।

उनका अनुसार कोभिड अस्पतालहरुमा आइसोलेसन कक्ष र आइसीयू कक्षहरु ८० प्रतिशत भरिएका छन् । यही दरमा संक्रमितको संख्या थपिने हो भने सहरमा बेडहरु आगामी हप्तामा नै सबै भरिनेछन् ।

जकार्ताका डाक्टरहरुले यो कदमको स्वागत गरेका छन् । यसअघि प्रतिबन्धलाई खुकुलो बनाउन नै नहुने उनीहरुको तर्क छ ।  इन्डोनेसियामा हालसम्म २ लाख २१ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । त्यहाँ २ सयभन्दा बढी स्वास्थ्यकर्मीले कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

स्रोतः अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप