शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन गर्न दिनभर लाग्ने

मङ्गलबार, ३० भदौ २०७७, १२ : २६
मङ्गलबार, ३० भदौ २०७७

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् ।

डिभिजन सडक कार्यालय चितवनका ई शिव खनालका अनुसार पहिरो पन्छाउने काम बिहानदेखि शुरु भएको छ । थप पहिरो नखसेमा दिउँसोसम्ममा एकतर्फी सञ्चालन गर्न सकिने भए पनि पूरै सडक सफा गर्न साँझसम्म लाग्ने उनले जानकारी दिए । ती चार ठाउँमध्ये चार किलो र घुमाउनेमा पहिरो पन्छाउने काम भइरहेको छ ।

खनालले भने, “ती दुई ठाउँमा एकतर्फी भएसँगै उपकरण लगेर बिचका दुई पहिरो पन्छाउँछौँ ।” एकतर्फी सञ्चालन गरेर त्यहाँ अड्किएका सवारी साधन पार गराएपछि दुईतर्फी खुलाइने छ । सोमबार राति शुरुमा १०ः३० बजे चारकिलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमशः अन्य ठाउँमा पहिरो खसेको खनालले बताए । सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

साना पहिरा ठाउँठाउँमा भएकाले सङ्ख्या यकिन गर्न नसकिए पनि ती पहिरो पन्छाउन समय नलाग्ने उनको भनाइ छ । यसैबीच पाँचकिलोमा माथिबाट झरेको लेदोले सडक भरिएर छेउमा रहेका तीन घरमा लेदो पसेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङका अनुसार सडकमा रहेको एउटा बोलेरो लेदोले भरिएको छ । लेदोले अन्य दुई घरको जग खोतलेको तामाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप