बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको निर्देशन एकातिर नेता–कार्यकर्ताको 'अराजकता' अर्कोतिर !

मङ्गलबार, ३० भदौ २०७७, १२ : २५
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संयुक्त हस्ताक्षर गरेर १९ पेज लामो अन्तरपार्टी निर्देशन जारी गरे ।


पार्टीका केन्द्रीय सदस्य तथा इन्चार्जहरुलाई जारी गरेको उक्त अन्तरपार्टी निर्देशनको १ नम्बर बुँदामा ‘पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने’ भनिएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले यसअघि जारी गरेका चारवटा अन्तरपार्टी निर्देशनमा पनि यो विषय छुट्याएको छैन । तर नेकपाको निर्देशन एकातिर र नेता कार्यकर्ताको अराजकता अर्कातिर हुने क्रम भने रोकिएको छैन ।

भदौ २६ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकको निर्णयसहित अध्यक्षद्वयले भदौ २९ गते आफ्ना पार्टी नेता कार्यकर्तालाई आन्तरिक रूपमा पठाएको सर्कुलरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न अन्तर्विरोधहरूको समाधान केवल पार्टीका लागि मात्र नभई आम जनता र सिङ्गो राष्ट्रका लागि समेत अपरिहार्य भएको भनिएको छ । ‘तदनुरूप कार्यकर्ता र जनताबाट व्यक्त भएको चासो, चिन्ता र खबरदारीले पार्टी एकता अक्षुण्ण राख्न र समस्या समाधान गर्दै अघि बढ्न प्रेरणा प्रदान गरेको छ । नेता, कार्यकर्ताबाट पार्टी एकताको पक्षमा भएका प्रयासहरू र नेतृत्वपङ्क्तिमा अन्तरनिहित चाहनाले आपसी अन्तर्विरोध समाधान गर्दै सहमति र एकतातर्फ अग्रसर हुन सम्भव भएको’, अपानी–५ मा उल्लेख छ ।

पार्टीभित्र उत्पन्न अन्तरविरोधहरूलाई ठीक ढङ्गले समाधान गर्न नसक्दा संस्थागत प्रबन्ध उलङ्घन हुँदै गएको  र आन्तरिक एकता कमजोर भएको अवस्थामा पार्टीले गरेको निर्णय र नेतृत्वबाट जारी निर्देनलाई केन्द्रीय तहदेखि स्थानीय तहसम्मकै कार्यकर्ताले पूर्ण पालना गर्नुपर्नेमा त्यसलाई बेवास्ता गर्ने क्रम अझै रोकिएको छैन ।

कागजमा पार्टी एकता घोषणा भएको झण्डै अढाई वर्ष भए पनि दुई पार्टीबीचको एकता भावनात्मक रूपमा हुन नसकेको नेता कार्यकर्ताहरुकै व्यवहार र अभिव्यक्तिले छर्लङ्ग पारेको छ ।

चाहे त्यो दुई अध्यक्षबीचको टकराव होस् वा अरू नेता कार्यकर्ताकै कार्यशैली र एकले अर्कामाथि गर्ने निरन्तर प्रहार नै किन नहोस् । ‘नेकपाको शक्ति र सामथ्र्यलाई ठीक ढङ्गले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध देखापर्दै, हुर्किंदै र कटुतापूर्ण बन्दै गयो । संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृत्ति झाँगिँदै जाँदा पद्धतिहीनता, गुटबन्दी, अराजकता र अनुशासनहीनता फैलिँदै गयो । विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरू हुन पुगे’, नेकपाले आफ्नो आन्तरिक सर्कुलरमा स्वीकार गरेको छ ।

पार्टीभित्र उत्पन्न अन्तरविरोधहरूलाई ठीक ढङ्गले समाधान गर्न नसक्दा संस्थागत प्रबन्ध उलङ्घन हुँदै गएको  र आन्तरिक एकता कमजोर भएको अवस्थामा पार्टीले गरेको निर्णय र नेतृत्वबाट जारी निर्देनलाई केन्द्रीय तहदेखि स्थानीय तहसम्मकै कार्यकर्ताले पूर्ण पालना गर्नुपर्नेमा त्यसलाई बेवास्ता गर्ने क्रम अझै रोकिएको छैन ।

ओली र प्रचण्डले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आआफ्ना गल्ती, कमजोरीहरूप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यस प्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गर्दछ ।’


यति मात्रै होइन निर्देशनमा नेता कार्यकर्तालाई अतितमुखी होइन भविष्यमुखी हुँदै वर्तमानका चुनौतीलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभार पूरा गर्न कडा निर्देशन दिइएको छ । ‘अतितमुखी होइन भविष्यमुखी भएर, वर्तमानका चुनौतीलाई बेवास्ता गरेर होइन तिनलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्ज्वल भविष्य सुनिश्चित गर्ने सङ्कल्प गर्दछ’, निर्देशनमा भनिएको छ । अन्तर्विरोध एवम् अनुभवहरूबाट शिक्षा लिन र पार्टी एकताको मर्म एवम् भावना, दुई पार्टीबीच एकता गर्दाका सहमतिहरू र संस्थागत रूपमा तय गरिएका नीति, विचार, विधि तथा पद्धति अनुसरण एवम् कार्यान्वयन गर्दै अघि बढ्न सम्बन्धित सबैलाई निर्देशन गरेको नेकपाले कम्युनिस्ट पार्टीको जीवन, विचार र विधिमा आधारित हुने बताएको छ ।

प्रसङ्ग हो, नेकपाले आन्तरिक सर्कुलर जारी गरेकै दिन पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाको हमला । प्रधानमन्त्रीका प्रेस सल्लहाकार समेत रहेका थापाले सोमबार राति आफ्नो फेसबुक पेजमा २ बुँदामा प्रवक्ता श्रेष्ठलाई लक्षित गर्दै प्रश्न उठाएका छन् ।

आन्तरिक विवादलाई कटुतापूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुसाशित र पार्टीभित्रको बहस–विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने दस्तावेजमा प्रण गरेको नेकपाका नेता कार्यकर्ताले व्यवहारमा भने त्यसको ठीक विपरीत गरिरहेका छन् ।

भावनात्मक एकता कि प्रतिशोध ?

अहिले नेकपाका धेरै नेता कार्यकर्ताले भन्ने गरेको विषय हो– दुई पार्टी एकता भावनात्मक रूपले हुन सकेन । यो कुरा नेतृत्वले पनि बुझेको छ । त्यही भएर नेतृत्वले नेता कार्यकर्तालाई समय समयमा सचेत गराउँदै गलत गतिविधि र गुटबन्दी नगर्न निर्देशन जारी गर्ने गरेको छ । तर यति बुझ्दाबुझ्दै पनि जिम्मेवार नेताहरु नै पुरानै संस्कार, प्रवृत्ति र प्रतिशोधबाट मुक्त हुन सकेका छैनन् । लामो समयदेखिको आन्तरिक विवाद मत्थर भएर पार्टी पङ्क्ति एक ढिक्का भएर अघि बढ्छ कि भन्ने आशा पलाएका बेला पार्टीकै जिम्मेवार नेताहरुले देखाउने यस्तो व्यवहारले अरू कार्यकर्ताको मनोबल कस्तो रहला ?

प्रसङ्ग हो, नेकपाले आन्तरिक सर्कुलर जारी गरेकै दिन पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाको हमला । प्रधानमन्त्रीका प्रेस सल्लहाकार समेत रहेका थापाले सोमबार राति आफ्नो फेसबुक पेजमा २ बुँदामा प्रवक्ता श्रेष्ठलाई लक्षित गर्दै प्रश्न उठाएका छन् । थापाले नेपाल विद्युत् प्राधिकरणबाट अवकास पाएका कुलमान घिसिङबारे प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा गरेको टिप्पणी र कोभिड–१९ का सन्दर्भमा श्रेष्ठले गठन गरेको स्वयंसेवा दस्ताबारे श्रेष्ठको पदीय जिम्मेवारीमाथि नै प्रश्न गरेका हुन् ।

श्रेष्ठले सोमबार सामाजिक सञ्जाल ट्विटरमा ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले ऊर्जा क्षेत्रमा जेजति योगदान पुर्याएका छन् त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवाश्यक भएकाले उनको पुनर्नियुक्ति हुन्छ भन्नेमा विश्वस्त छु’ लेखेका छन् ।

तर प्रवक्ता श्रेष्ठले यसरी लेख्नुलाई थापाले भने लबिङ र दबाबका रूपमा बुझेका छन् । थापाले सोमबारै सामाजिक सञ्जाल फेसबुकमा ‘पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै... कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ?’ भनेर प्रश्न गरेका छन् ।

उनले सरकारले गर्ने काममा सल्लाह र  सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरीत व्यक्तिगत दबाब र लबिङ ? पार्टीको हाल जिम्मेवारी यही हो र ? भन्दै श्रेष्ठसँग जबाफ मागेका छन् ।

‘सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्याङ्कन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारको मूल्याङ्कन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व पनि होइन, अनि यो तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला ? बुझ्नै पो कठिन भयो !’ थापाले प्रश्न बर्साएका छन् ।

त्यस्तै उनले पार्टी प्रवक्ता श्रेष्ठले आइतबार आफ्नो व्यक्तिगत सचिवालयअन्तर्गत गठन गरेको कोभिड–१९ का लागि स्वयंसेवा गर्ने घोषणाप्रति पनि असहमति प्रकट गरेका छन् । त्यसलाई उनले “...अहिले आए आँसु” जस्तो गरी निजी हिसाबमा “स्वयंसेवा दस्ता” परिचालनको घोषणा अर्काे उदेक लाग्दो कार्य जानकारीमा आयो । यो सङ्गति र सरोकार नै नभएको कुरा भयो’ थापाले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप