शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामजानकी मठको करोडौँको जग्गामा भूमाफियाको चलखेल

समाचार नलेख्न ६ लाख रुपैयाँको प्रस्ताव
मङ्गलबार, ३० भदौ २०७७, १० : ४५
मङ्गलबार, ३० भदौ २०७७

रौतहट । रौतहटको दक्षिण–पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका–६, पेटभरवास्थित रामजानकी मठको करोडौँ मूल्य पर्ने जग्गा बिक्री गर्नका लागि भूमाफियाले चलखेल गरेको छ । तत्कालीन भूमिसुधार कार्यालय रौतहटका प्रमुख रामकृष्ण उप्रेती र गाविस सचिव सत्यलाल साह कानुको मिलोमतोमा किर्ते गरी नागेन्द्र यादवले आफ्नो नाउँमा गराएको करोडौँको जग्गा हाल बिक्री गर्न लागिएको हो ।

माधव नारायण नगरपालिका–६ का बुुसाई राय यादवका छोरा नागेन्द्र यादव किर्ते मोहीधनी बनेर रामजानकी मठको ३ बिघा १५ कट्ठा जग्गाबाट मोही हक बापत १ बिघा १७ कट्ठा १० धुर जग्गा लिएका थिए । नागेन्द्रले पछि उक्त जग्गा आफ्ना दुईजना साहु सञ्जयप्रसाद साह र जयमंगल साहको नाउँँमा रकम लिएर धरौटी राखेका थिए ।

सोही धरौटीमा राखिएको जग्गा हाल बाहिरिया मानिसलाई बिक्री गर्न खोजेको फतुवा बिजयपुरका नगर कार्यपालिका सदस्य लक्षुमण साहले बताए । साहका अनुसार मठको मोही हकबापत नागेन्द्र यादवले आफ्नो नाउँमा नामसारी गराइ २०७५ अषाढ २५ गते माधव नारायण नगरपालिका वडा नम्बर ६ का गोपाल साह तेलीका छोरा सञ्जयप्रसाद साहको नाउँमा १ बिघा १३ कट्ठा जग्गा पास गरेका थिए ।

भूमाफियाले कर्मचारीको मिलेमतोमा रामजानकी मठको जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गराएर पनि उक्त जग्गा फिर्ता गराउन पछिलो एक वर्षदेखि कार्यपालिका सदस्य साहसहित पेटभरवा गाउँका केही युवा सक्रिय हुँदै आएका छन् ।

तर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले असहयोग गरिरहेकाले मठको जग्गा फिर्ता गराउन कठिन भइरहेको अभियन्ताहरु बताउँछन् । कार्यपालिका सदस्य लक्षुमण साहले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो पीडा सुनाए । नागेन्द्र यादवले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएको उनले बताए ।

भूमाफियाले बिक्री गरिसकेको र बिक्री गर्न लागेको जग्गाको मूल्य प्रतिकट्ठा ५ लाखदेखि १० लाख रुपैयाँसम्म रहेको स्थानीयवासी बताउँछन् ।

कहाँबाट आयो उक्त जग्गा रामजानकी मठको नाउँमा ?

साविक फतुवा बिजयपुर गाविस–६, पेटभरवा गाउँका बुसाई राय यादवको छोरा मंगर राय यादवको सन्तानको रुपमा एकमात्र छोरी थिइन् । छोरीको बिहे पश्चात उनी अध्यात्मतर्फ लागे ।

आफनो पुस्तैनी सम्पत्ति ८ बिघा १० कठ्ठा जग्गा गाउँमै रहेको रामजानकी मठको नाउँमा २०२१ साल माघ २६ गते रजिष्ट्रेसन पास गरी उनी साधुु बनेका थिए ।

मठमै पूजापाठ गर्दै बसेका उनको केही वर्ष पश्चात देहान्त भएको टेंग्राहा गाविसका पूर्व उपाध्यक्ष रामएकवाल यादव बताउँछन् ।

जग्गादाता मंगर राय यादवको मृत्यु पश्चात गाउँकै बहादुर राय यादवले २०६७ सालमा मोही हकका लागि भूमिसुधार कार्यालय गौरमा मुद्दा लडेका थिए तर मंगर राय यादवले रामजानकी मठलाई दिएको जग्गामध्ये ३ बिघा १५ कट्ठा जग्गामा मोहीहक नलाग्ने फैसला भएको थियो ।

मठको जग्गा कसरी पुग्यो भूमाफियाको हातमा ?

हाल माधोपुर नगरपालिका वडा ६ का नागेन्द्र यादवले साविक फतुवा बिजयपुर गाविस सचिव सत्यलाल साह कानु र तत्कालीन भूमिसुधार कार्यालय गौरका प्रमुख रामकृष्ण उप्रेतीसँग कुरा मिलाएर रामजानकी मठको नक्कली मोहीधनी बनेर मोही हकका लागि भूमिसुधार कार्यालयमा निवेदन दिएका थिए ।

भूमिसुधारका प्रमुख उप्रेतीको फैसला अनुसार २०७१ असोज ३१ गते मठको साविक फतुवा बिजयपुर–३, को कित्ता नम्बर १५५, १५९, १७१, १३७ गरी कुल ३ बिघा १५ कट्ठा जग्गामा नागेन्द्र यादव मोही धनी बनेका थिए ।

मोहीहक लिएको ४ वर्षपछि २०७५ भदौ २२ गते नयाँ कित्ताको रुपमा फतुवा बिजयपुर गाविस–४, कित्ता नम्बर ६४१ को ४ कट्ठा १० धुर, कित्ता नम्बर ३८१ को ८ कट्ठा १० धुर, कित्ता नम्बर ३८३ को १ बिघा गरी कुल १ बिगहा १३ कट्ठा जग्गा नागेन्द्र यादवले माधव नारायण नगरपालिका–६ का सञ्जय प्रसाद साहको नाउँमा धरौटी बापत पास गरेको कार्यपालिका सदस्य लक्षुमण साह बताउँछन् ।

त्यसैगरी रामजानकी मठको नक्कली मोहीधनी बनेर नागेन्द्र यादवले लिएको १ बिघा १७ कट्ठा १० धुर जग्गामध्ये बाँकी ४ कट्ठा १० धुर गरुडा नगरपालिका १ जयनगरका जिमदार महतोको छोरा जयमंगल महतोको नाउँमा नागेन्द्र यादवले सोहीदिन धरौटी स्वरुप नै पारित गरेका थिए ।

समाचार नलेख्न ६ लाखको प्रस्ताव

दुवै साहुको नाउँमा मठको जग्गा रजिष्ट्रेसन गरेर नागेन्द्र यादवले ठूलो रकम ब्याजमा लिएका छन् । नक्कली मोहीधनी बनेका नागेन्द्र यादवले उक्त ऋण तिर्नका लागि रामजानकी मठको सोही जग्गा बिक्री गर्न चलखेल सुरु गरेका छन् ।

फतुवा बिजयपुरका नगर कार्यपालिका सदस्य लक्षुमण साहले रातोपाटीकर्मीसमक्ष भूमाफियाको चलखेलबारे गुनासो गर्दै सहयोगको आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय रौतहटमा यसबारे जानकारी गराइएको थियो ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उक्त जग्गा तत्कालका लागि लिखित रुपमै रोक्का गराएका थिए । घिमिरेको सरुवापछि आएका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पनि जग्गा रोक्कालाई निरन्तरता दिएका छन् ।

यसैबीच रामजानकी मठको नक्कली मोही बनेर यादवले आफ्नो नाउँमा गराएर अन्य साहुसमक्ष धरौटी राखेको जग्गाको बारेमा समाचार रोकन बिचौलियाहरु परिचालन गरिएको छ ।

बिचौलियाले भूमाफियाको समाचार नलेख्न र जिल्ला प्रशासन कार्यालयबाट जग्गा फुकुवा गराउन सहयोग गर्न भन्दै रातोपाटीकर्मीलाई ६ लाख रुपैयाँको अफर गरेका छन् ।

केही बिचौलियाले फतुवा बिजयपुर–६ का अध्यक्ष हिरालाल यादवलाई पनि जग्गा फुकुवा सिफारिस गर्न आर्थिक प्रलोभन दिरहेका छन् ।

तर वडा अध्यक्ष यादवले रामजानकी मठको जग्गा बिक्री गराउन कुनै पनि हालतमा सिफारिस नगर्ने प्रतिवद्धता जनाएका छन् ।

फतुवा बिजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले रामजानकी मठको किर्ते गराएर बेच्न लागेको जग्गाबारे खासै चासो नलिएको आरोप लाग्दै आएको छ ।

उता कार्यपालिका सदस्य लक्षुमन साह, मेयर पदका प्रत्यासी सुरेन्द्र यादवका साथै पेटभरवा गाउँका बासिन्दा कुनै पनि बहानामा मठको जग्गा ब्यक्तिलाई भोग गर्न तथा बिक्री गर्न नदिने अडानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप