केन्द्रीय संस्करण
डाक्टरका कुरा

सावधान ! थाहा नपाइ हुनसक्छ ‘डिप्रेशन’

डिप्रेशनका बारेका भ्रम र यसका लक्षणहरू

person explore access_timeभदौ ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । कोभिड–१९ का कारण सिर्जित समस्याले कयौं मानिसमा मानसिक समस्या देखिन थालेको छ । कोभिड–९ अर्थात् कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चार महिनासम्म जारी गरेको ‘लकडाउन’ र त्यस यताको निषेधाज्ञाका कारण कयौँको व्यापार–व्यवसाय चौपट भएको छ । कयौँको रोजगारी गुमेको छ भने आर्थिक भार बढ्दै गएको छ । यस्ता समस्याका कारण मानिसहरुमा तनाब बढ्ने र मानसिक रोग उत्पन्न हुने गरेको पाइन्छ ।

विभिन्न मुलुकमा खोप तयार भइरहेका कारण आगामी वर्षभित्र कोरोनाभाइरसको प्रकोप नियन्त्रणमा आउने अपेक्षा गरिएको छ । तर यसबाट उत्पन्न परिस्थितिले भित्र्याएको मानसिक रोग कोरोनामाथि विजय प्राप्त गरेको वर्षौँसम्म पनि कायम रहन सक्ने विज्ञहरुको भनाइ छ ।

उनीहरुका अनुसार सबल र मनोबलयुक्त भएर बाँचेमा मात्रै कोरोनाको युग समाप्त भएपछि सक्षमरुपमा जीवन बिताउन सकिन्छ । नेपालमा विगत ६ महिनादेखि कोरोना संक्रमितको संख्यामात्र होइन, सामाजिक, आर्थिक र मनोवैज्ञानिक समस्याका कारण मानसिक रोगी बढ्नुका साथै आत्महत्या गर्नेको संख्यामा पनि वृद्धि भएको रिपोर्टहरू सार्वजनिक हुन थालेका छन् ।

यस्तो अवस्थामा मानसिक समस्याबाट कसरी जोगिने, डिप्रेशन भनेको के हो र यो रोग लागेको कसरी थाहा पाउने भन्नेबारे सबैले सामान्य जानकारी लिनु उपयोगी हुन्छ । कोरोना महामारी र यसबाट मानसिक स्वास्थ्यमा परेका प्रभावबारे मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारी यसो भन्छन्–

थाहा नपाइकन हुन्छ डिप्रेशन 

मानिसमा घोर निराशा, अवसादको अवस्था नै डिप्रेसन हो । सामान्य अवस्थामा मनमा निराशा उपन्न भएमा त्यो डिप्रेशन होइन । डिप्रेशनको शिकार हुनका लागि विनाकारण दुई हप्ताभन्दा बढी समय लगातार निराशा, नरमाइलोपन, असहजपन महसुस गरेको हुनुपर्छ ।

यो रोग लागेपछि सानो कुरामा धेरै दिक्दार वा नरमाइलोपन लाग्न सक्छ । पहिला–पहिला आफूलाई रमाइलो लाग्ने कुराहरूले रमाइलो दिन छाड्छ । थोरै सक्रियता अपनाउँदा धेरै थकानको महसुस हुन्छ । त्यस्ता व्यक्तिमा विशेषज्ञले जाँचपड्ताल गर्दा अन्य कुनै शारीरिक समस्या नदेखिएमा डिप्रेशनको भएको मान्न सकिन्छ ।

विश्वमा लगभग एकैपटक ४ प्रतिशत मानिसलाई डिप्रेशनले गाँजेको हुन्छ । तर डिप्रेशनका बिरामी पर्याप्त उपचारको पहुँच छैनन् । नेपालको सन्दर्भमा धेरैजसो मनोरोगीहरू त्यसमा पनि डिप्रेशनका बिरामी उपचारबाट बञ्चित छन् ।

मनोरोगीहरु उपचारबाट बञ्चित हुनुका कारणमध्ये सेवाको पहुँच कम हुनु, सामाजिक धारणाका कारण रोगलाई लुकाउने गर्नुजस्ता प्रमुख कारण हुन् । मानसिक रोगलाई कलङ्कित र सामाजिक हेयको दृष्टिले हेर्दा समाजमा लुकाउने चलन छ । जसले गर्दा डिप्रेशनका बिरामी उपचारको पहुँचमा पुग्न सकेका छैनन् ।

डिप्रेशनका लक्षणहरू

–दुई हप्ताभन्दा बढी समयसम्म दैनिकजसो हरेक समय मनमा निराशा, दिक्दारी छाउने, रमाउन छाड्ने ।

–कम काम गर्दा बढी थकाइ लाग्ने ।

–भोकमा गडबड हुने ।

–निद्रामा गढबड हुने ।

–वरिपरिको वातावरण आफ्नो पक्षमा नहुँदा निराश हुने ।

–मेरो जीवन व्यर्थको हो, जीवन समाप्त भए राम्रै हुने थियो, म समुदाय र परिवारको लागि बोझ भएँ भन्ने भावना मनमा आइरहनु ।

–डिप्रेशनले धेरै गाँजेपछि व्यक्तिमा आत्महत्या गर्ने सोच आउनु, आत्महत्याको उपायहरू सोचेर आफुलाई समाप्त गर्ने सम्भावनासम्म रहन्छ ।

–बिरामी थला पर्ने, शारीरिक शक्ति नहुने अवस्था समेत सिर्जना हुन सक्छ ।

–कहिलेकाहीँ बिरामीमा विक्षित अवस्था आउँदा अस्वाभाविक व्यवहारहरू देखाउने गर्छन् । 

डिप्रेशन हुने कारणहरू

यो–यो समस्या हुँदा मानिसलाई डिप्रेशन हुन्छ भन्न सकिँदैन । डिप्रेशनलाई बाहिर ल्याउने केही तत्वहरू छन् । जस्तै–

जैविक कारण— जैविक कारण भन्नाले कुनै व्यक्तिमा डिप्रेशन छ भने उसको भावी सन्तानहरूमा देखिने सम्भावना सामान्य मानिसको तुलनामा अलि बढी हुन्छ । यस्तै, कुनै कारणले मष्तिष्कमा हुने स्नायुतन्त्रिका सिग्नल तल–माथि गर्ने व्यालेन्स बिग्रियो भने पनि समस्या देखिन्छ । स्नायुतन्त्रिका तल–माथि हुनुको कारण कुनै मादकपदार्थ सेवन, कुनै औषधिको साइडइफेक्ट वा अन्य कारणले डिप्रेशनको लक्षण देखिन सक्छ ।

मनोवैज्ञानिक कारण— मनोवैज्ञानिक कारण भन्नुपर्दा व्यक्तिको सहन गर्ने क्षमता, वातावरण पर्यावरणमा आफुलाई हेर्ने दृष्टिकोणले केही प्रभाव पारेका हुन्छन् ।

सामाजिक कारण— बाह्य कारणले गर्दा पनि डिप्रेशनको समस्या देखिन सक्छ । जस्तै, हामीले भोगिराखेको कोरोनाको सन्त्रास, कोरोनासँग जुध्नुपर्दा आर्थिक, सामाजिक  क्रियाकलाप न्यून रुपमा परिचालित भएको अवस्था, कोरोना महामारीको कारण घरभित्रै सीमित हुँदा डिप्रेशनमा जान सक्ने सम्भावना रहन्छ ।

डिप्रेशनको उपचार के हो ?

यो एक प्रकारको रोग हो र यसको उपचार पनि छ । डिप्रेशन रोगको उपचार पद्धति दुई प्रकारको हुन्छ । एउटा मनोवैज्ञानिक उपचार । यसलाई साइकोथेरापी भनिन्छ । अर्को, औषधि उपचार, जसलाई फर्माकोथेरापी भनिन्छ ।

सामान्य खालको वा भर्खरभर्खर देखिन सुरु भएको डिप्रेशनका लक्षणहरू जस्तै, सामान्य रुपमा मानिसलाई निराशाको अनुभूति हुन थाल्यो, धेरै थाक्न लाग्न थालेको लामो समय भएको छैन वा पेशा व्यवसायमा समस्या परेको छैन भने यो सुरुवाती अवस्थामा मनोपरामर्शले ठिक भएर पुरानो अवस्थामा फर्किन सकिन्छ ।

तर डिप्रेशनका लक्षणहरूले च्यापेर सामाजिक सम्बन्ध, काम–पेशामा असर पर्न थाल्यो, व्यक्तिको जीवनस्तरमा समस्या पर्न थाल्यो भने औषधि उपचारको आवश्यकता पर्छ । केही महिना उपचार पाएको खण्डमा पूर्ण रुपमा निरोगी भएर डिप्रेशनबाट पार पाउन सकिन्छ । यस्तै अलि कडा खालको डिप्रेशन लागेको छ भने औषधि उपचारसँगसँगै व्यक्तिको शरीरमा आउने परिवर्तनहरूलाई न्युट्रेसन र अन्य उपचारको पनि जरुरी पर्नुका साथै मनोपरामर्श उपचार पद्धतिलाई पनि सँगै लैजानुपर्छ । उपचार गरेपछि मानसिक रोग निको हुने भएकाले उपचारको दायरामा आउन कोही पनि हिच्किचाउन हुँदैन ।

डिप्रेशनका बारेका भ्रमहरू यस्ता छन्

भ्रम नम्बर १ः समाजमा डिप्रेशन कमजोर मानसिकता भएकालाई लाग्छ भन्ने एक प्रकारको भ्रम छ । तर त्यो कुरा गलत हो । डिप्रेशन जोकोहीलाई हुन सक्छ । आत्मबल बलियो भएका मानिसहरूलाई पनि डिप्रेशनले सताउन सक्छ । जस्तै, हामीले चर्चित सेलिब्रेटीहरू समेत डिप्रेशनको शिकार भएको देखेका, सुनेका छौं । राजनीतिक नेताहरू समेत यस रोगको शिकार भएको देखेका छौं । त्यसैले जोसुकै व्यक्ति यस रोगको शिकार हुन सकिन्छ । यसले कसैलाई पनि छाड्दैन । यो रोग देखिनेबित्तिकै मनोपरामर्श तथा उपचारको दायरामा आउन जरुरी छ ।

भ्रम नम्बर २ : डिप्रेशन पूर्वजन्मको पाप भन्ने गलत धारणा छ । तर डिप्रेशन अरु रोगहरू जस्तै एउटा रोग हो । यसको उपचार गरेपछि यो निको हुन्छ ।

भ्रम नम्बर ३ः डिप्रेशनजन्य मनोरोगीले जीवनभरी औषधि खानुपर्छ भन्ने गलत धारणा समाजमा छ । तर केही महिना औषधि खाएपछि, मनोपरामर्शमा संलग्न भएपछि पूर्ण रुपमा यो रोग निको हुन्छ । मनोरोग निको भएपछि पुनः औषधिको प्रयोग पर्दैन । अपवादमा केहीमा नियमित औषधि खाने विभिन्न प्रकृतिका रोगहरू पनि हुन्छन् । मनोरोग जटिल अवस्थामा पुगेको खण्ड लामो समयसम्म औषधि खान परे पनि जीवनभर औषधि खानु पर्दैन ।

भ्रम नम्बर ४ः औषधि उपचार गरेपछि मानिसको मष्तिष्कलाई ‘डल’ बनाउँछ, औषधिको लत बस्छ भन्ने गलत धारणा रहेकाहरु पनि उपचारको दायरामा आउँदैनन् ।

भ्रम नम्बर ५ः डिप्रेशनको विरुद्धमा चलाउने सबै खालका औषधिले मानिसको दिमागलाई बोधो गराउँदैन । अपवादमा केही औषधिका साइडइफेक्टहरू हुन्छन् । निरन्तर रुपमा विशेषज्ञको निगरानी तथा फलोअपमा रहेको खण्डमा साइडइफेक्टलाई हटाउन सकिन्छ । 

महामारीको बेला मानसिक रोगबाट कसरी बाच्ने ?

— कोरोना महामारीको बेलामा आइसोलेशन, क्वारेन्टिनमा बस्दा वा घरभित्रै सीमित हुँदा मनोवैज्ञानिक, सामाजिक र आर्थिक कारणबाट डिप्रेशनका शिकार भएजस्तो आफुलाई लाग्छ भने समस्या के हो भनेर उजागर गर्ने कोशिस गर्नुपर्छ । साथै आफूमाथि आएका समस्यालाई समाधान गर्ने कोशिस गर्नु हामी सबैको कर्तव्य हो । यस्तै कडाखालको मानसिक रोग लागेको शंका भएमा स्वास्थ्य संस्थामा परामर्श तथा उपचारको लागि जानुपर्छ । सबै स्वास्थ्य संस्थामा मनोचिकित्सकको उपलब्धता छैन । नजिकैको स्वास्थ्य संस्थामा पुगेपछि सामान्य समस्या भएमा त्यहीँ व्यवस्थापन गर्न सकिन्छ भने आवश्यकता परेको खण्डामा निश्चित सेन्टरहरूमा रिफर गर्न सकिन्छ ।

—वर्तमान समयमा मानसिक स्वास्थ्यलाई सबल बनाएर  भावी दिनहरूमा अगाडि बढ्नुपर्छ । कोरोना महामारीले निम्त्याएको समस्या संक्रमण दर, मृत्यु दरलाई हेर्दा, सुन्दा, पढ्दा वाक्क भएको अवस्था भरपर्दो र विश्वसनीय समाचारलाई फलो गर्नुपर्छ । 

— महामारीको बेलामा घरभित्र सीमित हुँदा सामाजिक सञ्जालको व्यापकरुपमा प्रयोग भएको छ । सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्दा मानिसमा एक खालको मनोवैज्ञानिक त्रास सिर्जना भएर मानसिक समस्या देखिएको छ । त्यसैले केही कुराहरूको अपडेट दिनमा एक दुईपटक हुनु सामान्य कुरा भए पनि दिनभरि यसकै पछि लागेर बस्न हुँदैन ।

—कुनै पनि दीर्घरोगी जस्तै मधुमह तथा मिर्गौलाका रोगी, मनोरोगीहरु विशेषज्ञको सम्पर्कमा आएर विगतदेखि सेवन गर्दै आएको औषधिलाई निरन्तरता दिनुपर्छ ।

—रोजगार गुमेको अवस्थामा, स्कुल कलेजमा पढाइ संचालन नभएको अवस्थामा पनि आफुलाई सक्रिय राख्नुपर्छ । यो समयमा सिर्जनात्मक कार्यमा संलग्न हुने, आफुलाई मन परेका कुराहरू गर्ने, आफन्तहरूसँग भौतिक दूरी कायम गरेर आफ्ना मनका भावनाहरू व्यक्त गर्दा मनोवैज्ञानिक रुपमा सबल बन्न सकिन्छ ।

— कोरोना महामारीको बेलामा मानसिक रोग निम्त्याउने कारण मादकपदार्थ हो । घर बस्ने, रक्सी तथा मादकपदार्थ सेवन गर्दा डिप्रेशन लगायतका मनोरोगहरू देखिएका छन् । मनोरोगबाट जोगिनका लागि लागूपदार्थबाट टाढा बस्नु पर्छ ।

—  आत्मबल बलियो बनाउनु पर्छ । संसारमा धेरै ठूला महामारी आए–गए । त्यसैले आजको यो महामारी पनि सधैँ रहँदैन, केही समयपछि हराएर जानेछ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले लागू गरेको मापदण्डहरूलाई पालना गरेर भोलि पनि सहज भएर बाँच्नुपर्छ भन्ने हिसाबले हामीले सोचेर जीवनयापन गरेमा कोरोनाको सन्त्रासमा  मानसिक त्रासबाट बाँच्न सकिन्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.