शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको सर्कुलर : गुटका भेला गर्न र आरोप प्रत्यारोपमा उत्रन निषेध

मङ्गलबार, ३० भदौ २०७७, ०८ : १३
मङ्गलबार, ३० भदौ २०७७

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्ततः आफूहरु पार्टीभित्रको तिक्ततापूर्ण अन्तरविरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न सफल भइएको बताएका छन् ।

पार्टीभित्रको विवाद हाललाई मत्थर भएपछि अध्यक्षद्वयले जारी गरेको अन्तरपार्टी निर्देशन–५ (सर्कुलर) मा ओली र प्रचण्डले भनेका छन्, ‘१० असार २०७७ बाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), स्थायी कमिटीको पाचौँ बैठक २६ भदौ २०७७ मा सम्पन्न भयो । अप्रिय एवम् कटूतापूर्ण बन्दै गएको पार्टीभित्रको अन्तरविरोध, पार्टी तथा सरकारको काम र कोभिड– १९ को महामारी तथा सीमा समस्याजस्ता ज्वलन्त विषयहरूमा केन्द्रित भएको यो बैठक पार्टी इतिहासमै विशिष्ट महत्त्वको हुनपुगेको छ ।’

सर्कुलरमा यसअघि ‘पार्टीभित्रको विवाद र अन्य समस्याको समाधान गर्न सकिन्छ या सकिँदैन, पार्टीको एकता अक्षुण्ण रहन्छ वा रहँदैन ?’ भन्नेजस्ता अन्योलता रहेपनि अब त्यो सबै अन्योल हटेको ओली–प्रचण्डले बताएका छन् ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा छलफलपछि बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गरेको र सोहीअनुसार तल्लो तहमा सर्कुलर गरिएको हो ।

सर्कुलरमा अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटीको बैठकसमेत अवरुद्ध हुन गएको भएपनि अब विगतका कमी कमजोरीहरूबाट शिक्षा लिने, पार्टी भित्रका, विशेषतः नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवम् विकास गर्ने संकल्प गरिएको छ ।

यसैगरी सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ–आफ्ना गल्ती, कमजोरीहरूप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गरिएको छ भने  अतितमुखी नभइ भविष्यमुखी भएर, वर्तमानका चुनौतीलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्ज्वल भविष्य सुनिश्चित गर्ने संकल्प पनि गरिएको छ ।

आन्तरिक विवादलाई कटूतापूर्ण र यदाकदा शत्रूतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुशासित र पार्टीभित्रको बहस–विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने प्रण पनि नेतृत्वले नेता कार्यकर्ता सामु गरेको छ ।

यस्तै सर्कुलरमा अध्यक्षद्वयको अधिकार क्षेत्र, एकताका बाँकी कार्यभार, संगठनात्मक विषय, सरकारका कामकारबाही, भारतसँगको सीमा समस्या, एमसीसीलगायतका विषयमा पनि नेता कार्यकर्तालाई स्पष्ट जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप