मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोना प्रतिकार्यमा प्रतिष्ठानको भूमिका महत्वपूर्ण’

सोमबार, २९ भदौ २०७७, २१ : ५०
सोमबार, २९ भदौ २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना प्रतिकार्यमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । विगत पाँच दिनदेखि कर्णाली राजमार्ग, प्राकृतिक तथा मानवनिर्मित विपत्तिले पारेको प्रभाव बुझ्न कर्णाली यात्रामा हिड्नुभएका मुख्यमन्त्री शाहीले आज जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकमा बोल्दै प्रतिष्ठान जुम्लाले यो महामारीमा ठूलो योगदान दिएको बताए ।

“जुम्लामा प्रतिष्ठान नभएको भए कर्णालीको स्वास्थ्य अवस्था निकै जटिल हुन्थ्यो”, उनले भने,“प्रतिष्ठान यहाँका नागरिकको जीवन बचाउने भरोसाको केन्द्र बन्दै गएको छ ।”

दश वटै जिल्लामा स्वास्थ्य उपकरण उपलब्ध गराउने भन्दै मुख्यमन्त्री शाहीले प्रतिष्ठानलाई १० मा पाँच थपेर १५ भेन्टिलेटर बनाउने जनाए । अब लक्षण देखिएका बिरामीलाई मात्र निःशुल्क कोरोना परीक्षण हुने जनाउँदै कोरोना महामारीविरुद्ध लड्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु एक अर्ब ५० करोड बजेट छुट्याएको उनको भनाइ थियो ।

उनले आजै प्रदेश सरकार मातहत जुम्लास्थित कार्यालय प्रमुखलाई बजेट कार्यान्वयनमा तीव्रता दिन निर्देशन दिए । यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी, चिकित्सक तथा कर्मचारीसँगको भेटघाटमा प्रतिष्ठानको सेवा प्रवाहको जानकारी लिनुभएका उनले नागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटिएको भन्दै प्रतिष्ठान परिवारप्रति कृतज्ञता प्रकट गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिष्ठानले दुर्गममा रहेर पनि मुलुकमै अग्रणी भूमिका निर्वाह गरेको जिकिर गरे । उनले कालीकोटमा गएको पहिराबाट ज्यान गुमाएका ५१ मृतकका आफन्तलाई रु दुई लाख र घर निर्माणका लागि रु एक लाख प्रदान गरिने जनाए ।

सामाजिक विकासमन्त्री दल रावलले कर्णालीको स्वास्थ्य क्षेत्रमा प्रतिष्ठानको अतुलनीय योगदानले आज यहाँका नागरिकको जीवन बाँच्न सहयोग पुगेको तर्क गरे । कोरोना महामारीले शिक्षा क्षेत्र तहसनहस भएको चिन्ता व्यक्त गर्दै उनले त्यस क्षेत्रको विकल्प खोज्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिए । प्रदेश सरकारले अब जुम्लालाई भेन्टिलेटर, आईसियु र शव वाहन उपलब्ध गराउने उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप