केन्द्रीय संस्करण

पाँचतारेमा सीमित बालदिवस

person explore access_timeभदौ २९, २०७७ chat_bubble_outline0

- देवी काफ्ले 

२०२१ सालदेखि मनाउन थालिएको बालदिवस आज पनि निरन्तर मनाइरहेका छौँ । भदौ ४ गते ४२ वटा बालदिवस मनाइसकेर २०६३ देखि भदौ २९ गते मनाउन थालियो । नारा लगाइयो बालबालिकाका लावालस्करका साथ । हरेक वर्ष नारा बदलिन्छ । बाल अधिकारका विषय सरकारी तथा गैरसरकारी संस्थाहरुले उछलकुद गर्दै रेडियो टेलिभिजनमा बहस चलाउँछन् । केही मन्त्रीहरुबाट केही बालबालिकाको अभिभावकत्व लिइन्छ । 

वास्तवमा विसं २०४६ सालको प्रजातन्त्रको पुनस्र्थापनापछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसङ्घ बाल अधिकारसम्बन्धी महासन्धि–१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले भदौ २९ गते यो दिवसलाई देशव्यापी रूपमा मनाउने गरिएको हो । आजसम्म जुन ढङ्गबाट बालदिवस मनाइएको थियो त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रूपमा मनाउन सकून् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ । 
बर्सेनि नाराजुलुस र कार्यक्रम गरे पनि वास्तविक बालबालिकासम्म अधिकारका कुरा पुगेको आज पनि छैन । बालदिवसको औचित्य यसका सार्थकताका विषयमा छलफल, समीक्षा हुँदैन, भइहाल्यो भने पाँचतारे होटलका कोठामा वरिष्ठहरुको भेला हुन्छ । खाजानास्ता हुन्छ  । भत्ता हुन्छ । खाम बुझेपछि सकिन्छ । अनि आउँदो भदौ २९ गतेको पर्खाइ हुन्छ । 
अनि उहीँ कार्यक्रम हुन्छ बालकहरुको सहज पहुँचमा न शिक्षा, न स्वास्थ्य न त गाँस नै पुग्छ । 

हाम्रा दुर्गम जिल्लाका बालबालिका आज पनि मजदुरीका लागि भारतका विभिन्न सहर जाने गर्दछन् । बाँकी केही बालबालिका हाम्रै देशका विभिन्न ठाउँमा मजदुरीका लागि जान्छन् । यी मजदुरहरुको गन्तव्य भनेको इँटाभट्टा, ग्यारेज, फर्निचर उद्योग, होटल तथा रेस्टुरेन्ट, यातायातका साधन प्रमुख हुन् । यिनीहरुलाई केही संस्था तथा गैरसरकारी संस्थाले उद्धार गर्छन् अनि बालगृह पठाउँछन् । आज पनि काठमाडौँ उपत्यकाका यातायातका साधनहरुमा उति नै बच्चाहरु श्रम गरेका पाइन्छन् । भट्टामा काम गर्नेको त बेहाल नै सरकारले भूकम्प पीडितका लागि सहयोगी रकम कहाँ कति खर्च गर्याे तर बालबालिका त्यसको प्रमुखतामा परेनन् । काठमाडौँमा श्रम गर्ने सबैभन्दा धेरै बालबालिका तिनै भूकम्प प्रभावित जिल्लाबाट आएका पाइन्छन् । तिनलाई त यो बालदिवस, यी नारा के हुन् थाहा नै छैन । अनि बालदिवसको औचित्य कहाँ फरियो त ?

सरकारका संस्था र गैरसरकारी संस्थाले केही मात्रामा भारतबाट भित्रिएका पत्थरकट्टा (उनिहरु सडके नै हुन्) का बच्चाहरु बाटोमा मागेर बसेका बालबालिकाका फोटाहरुले नै बजेट नपचाएका होइनन् । यस्तो तरिकाले वास्तविक पीडित र हाम्रा बालबालिकाले उही दुःख बेहोर्न बाध्य छन् । अर्थात उनीहरुको वास्तविकतालाई ओझेल पारिदिएका छन् । 

बालबालिका आज श्रम गर्न मात्रै हैन विभिन्न दुराचारमा समेत परेका छन् । तर न्याय पाएका छैनन् । सबैभन्दा बढी त यौन दुराचारमा परेका छन् । आज ससाना नानीहरु दिनहुँ  बलात्कृत भएका समाचार आउँछन् । ती सबै पीडित बालबालिकाले न्याय पाएका छैनन् । समाजका केही यौन पिपासुहरुले बालबालिका बलात्कार गरेर शिर ठाडो पारेर हिँड्छन् अनि पीडित बालबालिकालाई इज्जतका सवाल उठाएर केही पेटबिटो साटोपाटो पारी अपराध लुकाउँछन् । बलात्कारपछि न्यायको रुपमा पैसासँग उसको अधिकार साटिन्छ । प्रतिनिधि पात्र त निर्मला पन्त छँदैछिन । उनको हत्यापछि कतिवटा बालदिवस मनाइए तर उनले न्याय पाइनन् । यहाँ उनकी आमालाई दिएको अठार लाखले न्यायको खिल्ली उडाएको छ । उनै निर्मलाको न्यायको लागि सडकमा गएका शनि खुनाको छातीको गोलीको मूल्य तोकेर न्याय दिलाइयो । के बाल अधिकारको सार्थकता यही हो ?
बालबालिका आफन्तबाटै दुराचारमा परेका छन् । उनीहरु आफै आवाज उठाउन सक्दैनन् । उनको वरपरका आफन्त, छिमेकी, शिक्षक, प्रहरी सबैका नजर गिद्धे छन् अनि उनको बोली बोलिदिने कसले ? यही हो बालअधिकारको सार्थकता ?

आज पनि यही नारा घन्किने हो उपलब्धि शून्य । आजैका दिन कैयौँ बालबालिका हिंसामा परेका समाचार आउने छन् यता डलर र भत्ता हजम हुनेछ अनि बालअधिकार ती पीडित बालबालिकालाई देखेर टाई टाई फिस्स गर्दै मजाक उडाएर हाँस्ने छ ।  संयुक्त राष्ट्रसङ्घ बाल अधिकारसम्बन्धी महासन्धि– १९८९ लाई सन् १९९० लाई सम्झने र सम्झाउन बालदिवस भव्यताका साथ मनाइने छ । भोलि सबै मिडियाहरुमा बालदिवस भव्यताका साथ मनाएका खबर आउनेछन् । उता हजार निर्मला, हजार सिमलामा भारतीयको घोडा सवार गराउने मजदुर, दिल्लीका होटलमा भाडा धस्काउँदै गरेका मजदुर, मुम्बईको कोठीमा बेचिएका बालिका, इँटाभट्टाका नरे बिरे, सुन्तली, गाडीका खलासी जिते, रिठे फर्निचर उद्योगका समिर, आलम, होटलका लाले, मन्जरीहरुका चित्कार बुलन्द हुनेछन् । 

समस्या समाधान गर्ने दृढता बोक्ने हो भने समस्या समाधान गर्ने उपाय हजार छन् । स्थानीय सरकारले आफ्नो नगर, गाउँपालिकाका बालबालिकाको यथार्थ डाटा सङ्कलन गरेर बच्चा कहाँ के कस्तो अवस्थामा छन् ? घरायसी अवस्था कस्तो छ ? हेरीकन एउटा मात्रै योजना ल्यायो भने बालदिवसको एउटा औचित्य पूरा गर्न सक्छ । सम्पूर्ण बालबालिकाका लागि शुभकामना । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.