शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डीआईजीको निर्देशनमा बाँके प्रहरीले १० किलो अफिमसहित दुई जनालाई  समात्यो

सोमबार, २९ भदौ २०७७, १८ : ००
सोमबार, २९ भदौ २०७७

घोराही । बाँके प्रहरीले सोमबार दाङको घोराहीबाट दुई जनालाई लागूऔषध अफिमसहित पक्राउ गरेको छ । गोप्य सूचना पाएपछि प्रहरी आफै व्यवसायी बनेर खरिद गर्ने गरि बार्गेनिङ गर्न घोराही आइपुगेको थियो ।

५ नम्बर प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र धानुकको बिशेष निर्देशनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले खटाएको प्रहरी टोलीले घोराहीको सेवारखोलाबाट बार्गेनिङ गर्दै बाँकेको कुसुम लगेर १० किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको हो ।

अफिमसहित पक्राउ पर्नेमा रुकुमपूर्व पुथा उतरगङ्गगा गाउँपालिका– ८ का ५३ वर्षीय धनबहादुर सेन, घोराही उपमहानगरपालीका– १९ का बर्ष २४ का निशान घर्तीगर भनेर चिनिने बसन्त घर्तीमगर रहेका छन् । 

बाँकेबाट खटिएको प्रहरी टोली आधा–आधा गरेर घोराही र कुसुम बसेको थियो । घोराहीमा प्रतिकेजि १ लाखका दरले ७ लाखमा खरिद गर्ने गरि बार्गेनिङ गरेको प्रहरी टोलीले बाँकी पैसा कुसुममा दिन आउने गरि व्यवसायीको टोली रहेको भन्दै फकाउँदै कुसुम पुर्याएको थियो । 

रोल्पा हुँदै दाङको घोराहीबाट अफिमसहित २ जना आइरहेको भन्ने गोप्य सूचनाअनुसार उनीहरुलाई पक्राउ गरिएसपी एसपी रानाले रातोपाटीलाई जानकारी दिए । 

उनीहरुबाट झोलाभित्र प्लास्टिकमा राखिएको अवस्थामा एक केजीका दरले बनाइएका १० वटा अफिमका पोका बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलनमार्फत लागुऔषध अफिमसहित उनीहरुलाई सोमबार नै सार्वजनिक गरेको छ । 

लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ वर्षदेखि जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान रहेको एसपी रानाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप