शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा व्यवसाय सञ्चालनको माग

सोमबार, २९ भदौ २०७७, १५ : २७
सोमबार, २९ भदौ २०७७

चितवन । चितवनका होटल र यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । लकडाउन र निषेधाज्ञाले व्यवसाय धरापमा पर्न गएको  जनाउँदै उनीहरुले सञ्चालनको माग गरेका हुन्  । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलाई  ज्ञापनपत्र बुझाउँदै बाँच्ने आधार तय गरिदिन अनरोध गरे ।

यातायात व्यवसायीले अगामी असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन ।  उनीहरुले प्रशासनले स्वीकृति नदिए स्वतःस्फुर्त यातायता सञ्चालन गर्ने बताएका छन ।
गत चैत ११ गतेदेखि  सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञालाई यातायात व्यवसायीले कडाइका साथ पालना गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीले बताए । उनले भने, “यातायात व्यवसाय ठप्प हुँदा व्यवसायीसंगै मजदुरको दैनिकी कष्ठकर बन्न थालेको छ, ६ महिनादेखि रोजिरोटी खोसिएको छ ।” उनका जिल्लामा ७० हजार भन्दा बढी यातायात व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको छन् ।

पूरानो नारायणी यातायात प्रालिका कार्यालय प्रमुख शंकर गिरीले सुरक्षाका उपायहरु अवलम्बन गरेर यातायात व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरे । उनले व्यवसाय धरापमा पर्न गएको अवस्थामा बैंकको किस्ता लगायतका तनाब व्यवसायीले झेल्नुपरेको बताए । कोरोना भन्दापनि आर्थिक कारणले मानिसको ज्यान जाने खतरा बढेको उनको भनाई छ ।

यस्तै भरतपुर मलमल यातायात प्रालिका अध्यक्ष चिनीबहादुर बोहोराले व्यवसाय सञ्चालन नहुँदा यातायातका साधनमा खिया लाग्ने अवस्था आएका बताए । उनले स्थानिय स्तरमा प्रशासनले समन्वय गरेर यातायात सञ्चालनको वातावरण बनाइदिनुपर्ने उल्लेख गरे । प्रजिअ भट्टराइले जिल्लामा कोरोनाका सङ्क्रमित झन् बढ्दै गएकाले यथास्थितिमा सार्वजनिक सवारीसाधन सञ्चालन सम्भव नभएको बताए ।

उनले भने, “यातायात नचल्दा धेरैलाई समस्या भएको छ भन्ने मैले बुझेको छु तर तत्काल सञ्चालनमा ल्याउँदा सङ्क्रमण फैलने खतरा छ ।” यतायात व्यवसायीहरुले प्रशासन कार्यालयले जारी गरेको पास दुरुपयोग गरी नीजि सवारीसाधनले समेत यात्रुहरुले ओसार पसार गरेको आरोप समेत लगाएका छन ।  

यस्तै व्यवसायीले नेपाल राष्ट्रबैकद्वारा जारी गरिएको कोभिड १९ प्रभावित उद्योग,पर्यटन,यातायात र कृषि व्यवसायलाई पुनरकर्जा र कर्जा सहजीकरण तालिका लागू गर्नुपर्ने व्यवस्थालाई स्थायिन रुपमा लागू नभएको जनाउँदै पहल गरिदिन समेत प्रशासनसँग माग गरेका थिए । 

होटल सञ्चालनको माग

होटल व्यवसायीले सञ्चालनको माग गर्दै  प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले प्रजिअ नारायण प्रसाद भट्टाइलाई ज्ञापनपत्र बुझाइ होटल सञ्चालनको माग गरे । घरभाडा, बैंक व्याज र मजदुर व्यवस्थापनको समस्या जटिल बन्दै गएकाले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनुपर्ने संघको माग छ । लकडाउन र निषेधाज्ञाले सबैभन्दा धेरै समस्या होटल व्यवसाय परेको अध्यक्ष न्यौपानेले जानकारी दिए । उनले भने, “धेरै होटलहरु भाडामा सञ्चालित छन, भाडा तिर्न घरबेटीको निरन्तर दबाब झेलिरहनुपरेको  छ ।” 

नेपाल होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष इमान्दु बरालले स्वास्थ्य सावधानी अपनाएर होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरे । संघका जिल्ला उपाध्यक्ष कृष्ण भट्टले होटल व्यवसाय सञ्चालन भइसकेपछि पनि ग्राहकहरु आउन समय लाग्ने भएकाले क्रमशः खुल्ला गर्दै जानुपर्ने बताए । सो अवसरमा प्रजिअ भट्टराइले  उनले परिस्थितिलाई क्रमशः सहज बनाइदै लगिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप