बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा

सोमबार, २९ भदौ २०७७, १३ : ५३
सोमबार, २९ भदौ २०७७

काठमाडौं । फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धाका लागि छनौटमा परेको छ । सोमबार भर्चुअल प्रेसमिटसँगै बुसानले यो सालको लाइनअप सार्वजनिक गरेको हो । 
सार्वजनिक लाइनअप अनुसार‘ऐना झ्यालको पुतली’ बुसानको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको हो ।

यो सेक्सनमा नेपालसँगै विभिन्न देशका १० फिल्म छनोट भएका छन् । कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यु करेन्ट सेक्सन’ मा  विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (नेरु ३५ लाख) प्राप्त गर्नेछन् । फिल्म सुजित बिडारीले निर्देशन गरेका हुन् । 

‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ । यसअघि नविन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ न्यु करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसिओके अवार्डमा छनोट भएको थियो । कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५ औं संस्करण हो । कोभिड १९को महामारीका कारण भर्चुअल रुपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा सुरु भएर ३० मा सकिनेछ ।

लेखक/निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्म तर्फ सुजितको डेब्यु  हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए  । फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या)को सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ ।

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र  सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप