शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : ५५औँ राष्ट्रिय बालअधिकार दिवस

कोराना महामारीमा बालअधिकार

सोमबार, २९ भदौ २०७७, ११ : ३६
सोमबार, २९ भदौ २०७७

२०१९ डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना भाइरसले धनी–गरिब नभनीकन संसारका सबै देशहरुको सातो लिएको छ  । आधुनिक स्वास्थ्य तथा औषधि विज्ञानमा पोख्त मानिने देशहरुका प्रयासले पनि केही परिणाम दिन सकेको छैन  । संसारका खासगरी शक्तिशाली देशका वैज्ञानिक, अनुसन्धानकर्ता, विद्वान्, धनाढ्य व्यापारीहरुलाई कोरोना भाइरस चुनौती भएको छ ।

कोरोना भाइरसका कारण नेपालको अवस्था भयावह छ  । दिनानुदिन नयाँ सङ्क्रमितहरु थपिँदै छन्  । करिब छ महिनादेखि देशका विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा जारी छ  । कलकारखाना, उद्योग, व्यपार व्यवसाय, शैक्षिक संस्था ठप्प छन्  । लामो समयदेखि शैक्षिक संस्था बन्द भएका कारण भविष्यका कर्णधार मानिने कैयौँ बालबालिकाको वर्तमान नै अन्योलमा छ ।

खुला आकाश मन पराउने बालबालिकाहरु शैक्षिक संस्था नखुलेका कारण घरमै सीमित छन्  । विशेषगरी सहरी तथा सहरोन्मुख क्षेत्रका लाखौँ बालबालिकाहरु सिर्जनशीलताविहीन भएका छन्  । स्कुल जान, पढ्न, खेल्न, साथीभाइसँग रमाइलो गर्न रुचाउने नानीहरु कोभिडका कारण कोठाको चारभित्तामा कैदीझैँ बस्न बाध्य छन्  । परिवारका सदस्यहरुमा मात्रै सीमित छन् ।

‘हे भगवान चाँडै विद्यालाय खुलाइदेऊ, मम्मी भन्दा त म्याडम नै ठीक’ भन्ने सामाजिक सञ्जालमा आएको एउटा भनाइलाई सापट लिँदा (रमाइलोका लागि भए पनि) हाम्रा घरमा बसिरहेका बालबालिकाहरु वाक्क दिक्क भएका छन् ।
राष्ट्रिय बाल दिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाउने गरिन्थ्यो  । तर कोरोनाका कारण यस वर्ष  प्रभावित भएको छ  । भविष्यका आशलाग्दा कलिला मुनाहरुले निरासाको घेराभित्र निस्सासिनु परेको अवस्था छ  । सबै सुविधाले सम्पन्न परिवारका बालबालिकाका लागि प्रत्यक दिन बाल दिवस हुने गरेको छ  । तर गरिबीको रेखामुनि रहेका बालबालिकाका लागि न सरकारको तर्फबाट न कुनै पहल भयो न कुनै नीतिको निर्माण  ।  सडकमा रहेका र पहुँच नभएका बालबालिकाको लागि हरेक वर्ष मनाइने बाल दिवस शब्द नारामा मात्र सीमित भएको छ  । विभिन्न गैरसरकारी सङ्घ संस्थाहरुले बालशोषणविरुद्ध काम गर्दै आए पनि त्यसले अधिकांश बालबालिकाहरुलाई छुन सकेको छैन ।

एभरेस्ट बोर्डिङ कक्षा १२ मा अध्यनरत स्नेहा खरेल भन्छिन्, ‘हाम्रो घरपरिवार, समाज र देशमा बालबालिकाको सहभागितालाई अर्थपूर्ण रूपमा लिइँदैन  । झन यस्तो महामारीको बेला त हामीलाई कसले सम्झिने हो र ? स्कुल कलेज बन्द छन्  । कैयौँ महिना भयो घरमै मात्र बस्न बाध्य छौ  । अल्छी लाग्छ  । मोबाइल पनि कति चलाउनु  । समाजिक सञ्जालभरी कोरोनाले कति सङ्क्रमित भए कतिले ज्यान गुमाए भन्ने समाचारहरु मात्रै आउँछन्  । टीभीमा पनि उस्तै सम्प्रेषण हुन्छन्  । यसले अझ हामीलाई तस्र्याएको छ  । मोबाइल चलाउने बानीले हामीलाई हामीभित्रै खुम्च्याएको छ ।’

त्यस्तै पोखरिया माविमा अध्यनरत रोशनी यादव भन्छिन्– महिना दिनअघि बाबा, ममी, दिदी र म लगायत सपरिवार कोरोना पोजेटिभ भयौँ  । घरमै सुरक्षित आइसोलेसनमा बस्यौँ  । करिब दुई साता पछि पुनः कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आयो  । हामी खुशी भयौँ तर हाम्रो जनजीवन अझै सामान्य बन्न सकेको छैन  । समाजमा हामीलाई कोरोना परिवार भन्छन्  । छिःछिः दुरदुर गर्ने गर्छन्  । सङ्क्रमित हुँदा बरु यति धेरै तनाव भएको थिएन तर छरछिमेकको यो व्यवहारले मानसिक पीडा थपिएको छ  । बेला बेला त डिप्रेसनमै गए जस्तो फिल हुन्छ ।’ उनले तप्प आँसु चुहाउँदै थपिन्– के सङ्क्रमित हुनु पाप हो र ?

कोरोनाले सबै वर्गलाई उत्तिकै तर्साएको छ  । अझ बढी यसको चपेटामा निम्न वर्ग छन्  । हुने खाने परिवारका बालबालिकालाई लकडाउन एक चाडझैँ भएको होला तर हुँदा खाने वर्गलाई जिउन न मर्नु बनाएको छ । थुप्रै दम्पतीले जागिर गुमाएका छन्, जसको प्रत्यक्ष असर बालबालिकामा परेको छ । छोराछोरीको उज्ज्वल भविष्यका निम्ति जोहो गरेर राखेको पैसा लकडाउनको सुरुवाती दिनमै सकियो तर लकडाउन अहँ खुलेन । अझ थपिँदै गयो । ज्याला मजदुरी गरेर जीविका चलाउने बाबुआमा आज खाली हात घरमै बस्न बाध्य छन्  । जसले गर्दा खान नपाएर बालबालिकाहरुमा कुपोषण हुने खत्रा बढ्दो छ ।

कतिपय बालबालिकाको त बाबुआमा दुवै सङ्क्रमित भएर आइसोलेसनमा लगिएको छ । ती बालबालिका कसरी बसेका होलान्, के खाँदै होलान् ?  यस्तो परिवारको बालबालिकाको पीडा कति कहाली लाग्दो होला । बिरामी भएका बालबालिकाले उपचार पाएका छैनन् । अझ ज्वरो आएको अवस्थामा त स्वास्थ्यकर्मीहरु नजिक नै पर्दैनन् । बालअधिकार हनन्का केही यस्ता समाचार छन्, जुन पढ्दा पनि शरीर जिरिङ्ग हुन्छ ।

भिख मागेर आफ्नो दैनिकी चलाउने सडक बालबालिकाको अवस्था झन कति कहालीलाग्दो होला हामी सोच्न सक्छौँ । आफूले आफूलाई बालअधिकारकर्मी भन्दै खोक्नेहरु खै यो महामारीको बेला कुन दुलो भित्र पसे ? ५४औँ बाल दिवस मनाइसक्दा पनि देशमा अझै बालधिकारको संरक्षण हुन सकेको छैन । यो हामी सबैमा जगजाहेर नै छ तर पनि बालदिवसको दिन अनेक नाराका साथ अनेकौँ प्रतिबद्धता गरेर बालअधिकारको संरक्षण गर्छु भन्ने बुद्धिजीवीहरु महामारीको यो कठिन समयमा चाहिँ खै कता लुक्नुभयो कि बालअधिकार शब्द र नाराका लागि मात्रै हो ?

हालको महामारीको अवस्थामा ४४ प्रतिशत जनसङ्ख्या ओगटेका बालबालिकाका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारहरु, विद्यालय र अन्य सम्बन्धित सरोकारवालाहरुले उनीहरुको बचाऊ, संरक्षण, विकास र सहभागिताका सवालमा गरेका कार्यहरुको पुनरावलोकन गर्न जरुरी छ । सडक तथा जोखिम अवस्थामा रहेका बालबालिकाको उद्धार, पुनस्र्थापनाजस्ता केही प्रयासहरुलाई सकारात्मक रूपमा लिन सकिन्छ ।

तर यस्ता कामहरुलाई स्थानीय स्तरसम्म पुर्याएर सबैको अपनत्व हुने खालका अभ्यास गराउन आवश्यक छ । सरकारले काम गरेन, समाजले कुरा बुझ्दैनन् र बालबालिकालाई जति गरे पनि केही हुँदैन भन्ने मानसिकता त्यागी सबैको हातेमालो भएमा समग्र बालबालिकाको पक्षमा राम्रो काम हुन सक्छ । सकारात्मक प्रकारका प्रयासहरु भएको खण्डमा महामारीको चपेटामा परेका बालबालिकाका लागि असल अभिभावकीय जिम्मेवारी हुन सक्छ ।  बालअधिकारकर्मी बासु अधिकारी कोभिडलाई त्रासका रूपमा मात्र नभएर  व्यस्त जीवनशैलीका कारण बालबालिकासँग बढेको पारिवारिक दूरी घटाउने अवसरको रूपमा लिनुपर्ने बताउँछन् ।

हुन पनि दैनिक हतारमा विद्यालय जानुपर्ने, धेरै पढनुपर्ने, गृहकार्य गर्नुपर्ने, भनेको बेला साथीभाइ भेट्न र रहर लागे अनुसार खेल्न पनि नपाइने व्यस्त र दबाबमूलक जीवन अहिले छैन । यसैले बालबालिकासँग बसेर परिवार इष्टमित्रका विषयमा कुरा गर्ने, पुराना तस्बिर देखाएर आफन्त चिनाउने भूमिका  पाका सदस्यले निभाउनुपर्छ  । यसैगरी करेसावारीमा काम गर्नु, बोट बिरुवा चिनाउने, समान्य खनजोत गर्ने काममा पनि बालबालिकालाई लगाउन सकिन्छ । यसबाहेक आफ्नो रीतिरिवाज अनुसारको संस्कार बुझाउने र बालबालिकालाई सामाजिक परम्परा बुझने काम पनि गर्न सकिन्छ  । यति मात्र नभएर परिवारका सदस्यमा भएको गीत गाउने खेल्ने वा अन्य सीपहरु बालबालिकाहरुलाई सिकाउन सकिन्छ । साथै बालबालिकाहरुको रुचिअनुसार   सीप विकासमा सहयोग गर्न सकिन्छ । जस्तो चित्र बनाउने, गीत कविता लेख्ने गाउने, विभिन्न यन्त्रहरु बनाउने रुचि बालवालिकाहरुमा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप