बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः शुरु

आइतबार, २८ भदौ २०७७, १९ : ३५
आइतबार, २८ भदौ २०७७

लन्डन । बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पुनः शुरु भएको छ ।  केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो । 

खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिए लगत्तै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नु परेको कम्पनीले गत मंगलबार जनाएको थियो ।  अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप निर्माण गरिरहेको अस्ट्राजेनिका  कम्पनी अहिले खोप विकासमा अग्रस्थानमा छ । हाल यस खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ । यस कम्पनीले कोरोनाको औषधि समेत निर्माणको प्रयास जारी राखेको छ । 

अक्सफोर्डले जारी गरेको पछिल्लो विज्ञप्तिमा बेलायतका सबै परीक्षण केन्द्रहरुबाट खोप दिन थालिएको उल्लेख छ । बेलायती नियामक निकायहरुले पनि खोप परीक्षण गर्न अनुमति दिइसकेको अक्सफोर्डले जनाएको छ ।  अस्ट्राजेनिकाका एक प्रवक्ताले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको जानकारी दिएका थिए । 

ठूलो संख्यामा परीक्षण कार्य भइरहेकाले एकाध व्यक्तिमा समस्या देखिनु स्वाभाविक रहेको बताउँदै कम्पनीले तर त्यस्तो समस्याको निराकरणका उपाय पहिल्याउन जरुरी हुने जनाएको छ । कम्पनीले ती व्यक्तिको पहिचान खुलाएको छैन । 

अक्सफोर्डका अनुसार स्वतन्त्र समीक्षा टोली र नियामक निकाय दुबैबाट स्वतन्त्र छानबिन पश्चात खोप परीक्षण पुनः शुरु गरिएको हो ।  संयुक्तराज्य अमेरिकामा अस्ट्राजेनिकाले ३० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराएको छ । 

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले खोप परीक्षण पुनः शुरु भएकामा त्यसलाई स्वागत गर्नु भएको छ । उनले खोप परीक्षण पुनः थालनी भएको समाचार सबैका लागि खुशीको कुरा भएको बताए । अक्सफोर्ड विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर करिब १८ हजार व्यक्तिले खोप लगाइसकेका छन् । बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र अमेरिका समेतका सर्वाधिक असर परेका मुलुकमा खोप परीक्षण कार्य भइरहेको छ । 

ब्राजिलको स्वास्थ्य नियामक निकाय एन्भिसाले अक्सफोर्ड खोप ब्राजिलमा पुनः शुरु गर्न अनुमति दिइसकेको जनाएको छ ।  अस्ट्राजेनिका हाल विश्वमा तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण गर्ने विभिन्न ९ कम्पनीमध्ये एक हो । हाल अक्सफोर्ड र अस्ट्राजेनिका बाहेक अमेरिकाको मोडर्ना र पिफाइजर तथा जर्मनीको बायोएनटेक तेस्रो चरणको खोप परीक्षणमा जुटेका छन् । 

यस्तै रुसले स्पुतनिक भी बनाइसकेको दाबी गरेको छ भने चीनले समेत खोप परीक्षण तेस्रो चरणमा पुगेको जनाएको छ । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप