बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल सरकारको स्पष्ट धारणा नहुँदा लन्डनमा नेपाली अलपत्र

आइतबार, २८ भदौ २०७७, १८ : ३४
आइतबार, २८ भदौ २०७७

लन्डन । लकडाउनका कारण ६ महिनाभन्दा बढी बेलायतमा रोकिएर बसेका नेपालीहरु पीसीआर रिपोर्टसम्बन्धि  नेपाल सरकारको स्पष्ट नीति नभएका कारण  थप मारमा परेका  छन् । लामो समयपछि नेपाल सरकारले नियमत तथा चार्टर्ड उडान खोलेपछि उत्साहित नेपालीहरु झन् दोहोरो मारमा पर्न बाध्य भएका हुन्  । चार्टर्ड फ्लाइटभन्दा महँगो भाडाको पीडा एकातिर छ भने नेपाल सरकारको पीसीआर परिक्षण सम्बन्धि सहि निर्देशन नहुँदा एयरपोर्ट पुगेर पनि दर्जनौं नेपालीहरु फर्किनुपरेको छ ।

बेलायतको नेशनल  हेल्थ सर्भिस (एनएचएस) ले दिएको कोभिड–१९ नेगेटिभ टेष्ट नतिजालाई नेपाल सरकारले तोकेबमोजिमको नभएको भन्दै  कतार एयरवेजका कर्मचारीहरुले विमानस्थल पुगेका यात्रुहरुलाई पनि फर्काउने गरेका छन् । नेपाल सरकारद्वारा उपलब्ध  काठमाडौं सानेपाको स्टार हस्पिटल मोलिकुलर ल्यावमा परीक्षण गरेको कोभिड–१९ टेष्ट नजिताको फरम्याटमा कोराना भाइरस टेष्ट रिपोर्ट देखाउनुपर्ने भन्दै अघिल्लो हप्ता पनि दुई दर्जनभन्दा बढी नेपालीहरु एयरपोर्टबाट फर्किएका थिए । बेलायतको प्रतिष्ठित नेशनल हेल्थ सर्भिसको कोभिड परीक्षणलाई मान्यता नदिएर नेपालको एउटा ल्याबको  नतिजालाई आधार बनाउँदा यात्रुहरु थप मारमा परेका छन् ।

 पीसीआर परीक्षण गरेपछि सम्बन्धित व्यक्तिको नाल तथा जन्ममिति सहितको परिणामलाई मान्यता नदिने भन्दै  नेपालको घाँटी र नाकबाट स्वाव लिएको, ल्याव टेष्टको मिति समय र नतिजा नेगेभिट भन्ने वाक्यांश अनिवार्य देखिनुपर्ने भन्दै यात्रुहरुलाई दुःख दिने गरेका छन् । ७२ घण्टाभित्र  कोभिड १९ नेगेटिभ भएको प्रमाणित भएपछि यात्रा गर्न पाउनुपर्ने यात्रुहरुको माग रहेको छ । कतार एयरवेजका कर्मचारीले आफूहरुले  नेपाल सरकारको निर्देशन मान्नैपर्ने  बताएका छन्  । आज पनि नेपाल फर्किनको लागि लन्डनको हिथ्रो एयरपोर्ट पुगेका करिब डेढ दर्जन नेपालीहरु अलपत्र परेका छन् ।

नेपाल चितवन निवासी हाल बेलायत बस्दै आएका समीर खनाल भन्छन्– ‘कतार एयरवेजले धेरै नै दुःख दियो, पिसीआर परिक्षण गरेर कोभिड १९ नेगेटिभ भएको प्रमाण पेश गर्दा पनि कतार एयरवेजका कर्मचारीले मान्यता दिएका छैनन् ।’ नेपाली दूतावासका प्रतिनिधिद्वारा पहल भैरहेको भएपनि कर्मचारीहरुले खासै चासो नदिएको खनालले बताए । यसबारेमा नेपाल सरकारले स्पष्ट रुपमा व्यवस्था गर्नुपर्ने उनको  भनाइ छ । आज पनि डेढ दर्जन नेपालीहरु विमानस्थलमा अलपत्र परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप