शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको आन्तरिक आम्दानी खुम्चियो, एक महिनामै लियो झण्डै साढे २ अर्ब ऋण

राजस्व संकलन खुम्चियो
आइतबार, २८ भदौ २०७७, १२ : ०७
आइतबार, २८ भदौ २०७७

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामै झण्डै साढे २ अर्ब वैदेशिक सहायता प्राप्त गरेको छ । सरकारले साउन महिनामा वैदेशिक सहायता २ अर्ब ४८ करोड ६२ लाख प्राप्त गरेको हो । यो शतप्रतिशत ऋण सहायता भएको अर्थ मन्त्रालयले जनाएको छ । 

यस्तै साउन महिनामै ५४ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको पनि मन्त्रालयले जनाएको छ । वैदेशिक सहायता प्रतिबद्धतामा ऋणको अंश बढी रहेको छ । मन्त्रालयका अनुसार ९४ करोड रुपैयाँ मात्रै अनुदानको रुपमा प्रतिबद्धता प्राप्त भएको छ ।  वैदेशिक सहायता प्रतिबद्धतामा ऋणको अंश ९८.३ र सहायताको  अंश १.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

गत आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना जम्मा ९५ करोड रुपैयाँको प्रतिवद्धता प्राप्त भएकोमा चालू आर्थिक वर्षको पहिलो महिनामा प्रतिबद्धता रकम निकै बढेको हो  । गत आर्थिक वर्ष २०७६÷०७७ ( वर्षभरी)  २ खर्ब १९ अर्ब रुपैयाँको प्रतिवद्धता प्राप्त भएको थियो ।

यस्तै सरकारले पहिलो महिनामा तिर्न बाँकी ऋणको ब्याज १ अर्ब १९ करोड ३० लाख रुपैयाँ बुझाएको छ । यसमा वैदेशिक ऋणको साँवा ६० करोड ५ लाख र व्याँज २८ करोड ८१ लाख भुक्तानी भएको छ ।
 यता सरकारले आन्तरिक तर्फको ऋणको ब्याज ३० करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको छ । हालसम्म संघीय सरकारले तिर्न बाँकी खुद ऋण १३ खर्ब  ७२ अर्ब ८९ करोड रहेको छ । यो बाँह्य र आन्तरिक ऋण हो । 

राजस्व संकलन प्रभावित भएपछि खर्चको स्रोत जुटाउन पनि सरकारले ऋणमा जोड दिएको देखिन्छ । कोरोना महामारीका कारण आम्दानी खुम्चिएको  र खर्चका आवश्यकता झन बढ्नै गएपछि सरकार ऋणतर्फ बढी केन्द्रित भएको हो । 

राजस्व संकलन खुम्चियो
चालू आर्थिक वर्षको पहिलो महिनामा  राजस्व संकलन खुम्चिएको छ । यस वर्र्षको साउनमा ५८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको यसै अवधिको तुलनामा साउनमा झण्डै १२ प्रतिशतले राजस्व संकलनमा कमी आएको हो । गत वर्षको साउनमा ६६ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । 

राजस्वमा मूल्य अभिबृद्धि करको सबैभन्दा बढी हिस्सा छ । यसको मात्र ३६ प्रतिशत हिस्सा रहेको मन्त्रालयको प्रतिवेदनमा  छ । यस्तै आयकर २९ प्रतिशत, भन्सार महसुल १७ प्रतिशत,  अन्तशुल्क १३ प्रतिशत, गैरकर राजस्व ४ प्रतिशत र अन्य राजस्वको हिस्सा १ प्रतिशत रहेको छ  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप