‘दुई रुपैयाँ भ्रष्टाचार’ गर्ने मात्रै अख्तियारको निसानामा, उम्किए ठुला माछा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका रुपमा नवीनकुमार घिमिरे ०७५ असोज ४ गते नियुक्त भएका थिए । उनै घिमिरेले ६५ वर्षीय उमेर हदका कारण अख्तियारमा २३ महिने कार्यकाल सकेर अवकास पाएका छन् । आइतबार मध्यान्ह आयोगको मुख्यालय टंगालमा घिमिरेको बिदाइ कार्यक्रम राखिएको छ ।
घिमिरेको कार्यकालमा प्रतिवद्धताअनुसार भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको टिकाटिप्पणी भइरहेका छन् । प्रमुख आयुक्तको रुपमा पदभार ग्रहण गर्दा घिमिरेले भनेका थिए, ‘दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौं खाने पनि भ्रष्टाचार हो, सानो–ठुलो कसैलाई पनि छाड्दिनँ ।’
भ्रष्टाचार नियन्त्रणमा इमान्दार प्रयास गर्ने उद्घोष गरेर आफ्नो इनिङ सुरु गरेका घिमिरेले राज्यसत्ताले संकेत गरेका केही ठुला भ्रष्टाचार बाहेक अन्यमा हात हाल्न चाहेनन् । घिमिरेको कार्यकालमा ‘दुई रुपैयाँ खाने’ वर्गका साना माछा मात्रै निसानामा परे ।
अख्तियारले पछिल्लो २३ महिनामा ठुला भ्रष्टाचारका फाइल धमाधम तामेलीमा राखेको छ । स–प्रमाण संचार मध्यममा घुस लिएको कुरा प्रकाशन भएपछि मात्र तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
बालुवाटार जग्गा घोटाला प्रकरणमा राज्यसत्ताको इसारामा मात्र अख्तियारले मुद्दा चलाएको आरोप लागेको छ । अख्तियार प्रमुख घिमिरेले त्यस्ता अरु ठुला भ्रष्टाचारमा राज्यले इसारा नगर्दा धेरै फाईल तामेलीमा राखेका थिए ।
३ जना आयुक्त नियुक्त हुँदै
घिमिरेको अवकाससँगै अख्तियारमा तीनजना आयुक्त नियुक्ति गर्ने तयारी छ । आयोगमा अहिले दुई आयुक्त डा. सावित्री थापा गुरुङ र डा. गणेशराज जोशी कार्यरत छन् ।
संविधान अनुसार आयोगमा एकजना प्रमुख आयुक्त र ४ जना आयुक्त रहने व्यवस्था छ ।
३ जना रिक्त सिटमा आयुक्त बन्न पूर्व गृहसचिव प्रेम कुमार राई, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दीलिप कुमार रेग्मी र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द बीच प्रतिस्पर्धा छ ।
पूर्वगृहसचिव राई प्रधानमन्त्री केपी ओली निकट छन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख रेग्मी र चन्दमध्ये एक जनालाई प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा आयुक्त नियुक्त गर्न लागिएको बताइएको छ ।
केही पूर्वसचिवहरु पनि आयुक्त बन्न ठुला नेतालाई लविङ गरिरहेका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुको नियुक्ति हुन्छ । अख्तियारका आयुक्त डा. गणेशराज जोशीलाई प्रमुख आयुक्त नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । डा. जोशी प्रमुख आयुक्त नियुक्त भएमा आगामी चैतसम्म बहाल रहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति