बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त

आइतबार, २८ भदौ २०७७, ०७ : १६
आइतबार, २८ भदौ २०७७

काठमाडौंँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन् ।

विवादका कारण पार्टी गुटमा विभाजन भएको थियो । पार्टी विभाजनको अवस्थामा समेत पुगिसकेको भन्दै चिन्तासमेत जनाइएको थियो तर पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को १५ बुँदे प्रस्तावले पार्टीभित्र देखिएका सम्पूर्ण समस्या समाधान भएको छ । बुुद्धिजीवीहरूको भनाइमा अब पार्टी र सरकारमा नयाँ ऊर्जा प्राप्त हुने र सरकार तथा पार्टी सहज ढंगले अगाडि बढ्नेछ ।

“यी कुरामा स्पष्ट भएपछि सरकार र पार्टी आफैँ सहज ढङ्गले सञ्चालन हुनेछ,” राजनीतिक विश्लेषक लालबाबु यादवको भनाइ छ । उनले भने, “अध्यक्षद्वयबीच कार्यविभाजनमा समस्या हुँदा सरकार र पार्टी दुवै प्रभावित भएका थिए, न राम्रोसँग सरकार सञ्चालन भएको थियो, न पार्टी नै तर अब बाँकी सबै समस्याको समाधान हुनेछ ।”

अध्यक्षद्वयको कार्यविभाजन स्पष्ट भएपछि पार्टी तथा सरकार सञ्चालनमा सजिलो भएको र नयाँ ऊर्जा प्राप्त हुने राजनीतिक विश्लेषक श्याम श्रेष्ठको ठम्याइ छ । उनले भने, “अध्यक्षद्वयको कार्यविभाजनले पार्टी र सरकार सञ्चालन गर्न सजिलो भएको छ, नत्र मुख्य समस्या नै त्यसैमा थियो ।’’ तर, अध्यक्षद्वयको कार्यविभाजनबाहेक पार्टीभित्रका अन्य समस्या यथावत् रहेको उहाँको बुुझाइ छ ।

नेकपा स्थायी समितिको निर्णयअनुसार नेकपाका अध्यक्ष ओलीले वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा सरकार सञ्चालन गर्ने छ भने अर्का अध्यक्ष प्रचण्डले कार्यकारीका रूपमा पार्टी सञ्चालन गर्नेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप