बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सीताराम येचुरी लगायत ५ जनामाथि दिल्लीमा दंगा भड्काएको आरोप

शनिबार, २७ भदौ २०७७, २३ : ३५
शनिबार, २७ भदौ २०७७

एजेन्सी ।  दिल्ली पुलिसले भाकपा (मार्क्सवादी)का महासचिव सीताराम येचुरी, स्वराज अभियानका नेता योगेन्द्र यादव,अर्थशास्त्री जयती घोष,दिल्ली विश्वविद्यालयका प्राध्यापक अपूर्वानन्द र दस्तावेजी फिल्म निर्माता राहुल रायलाई दिल्ली दंगामा सघाएको भन्दै दोषी ठहर गरेको छ । समाचार एजेंसी पीटीआईका अनुसार सन् २०२०  फेब्रुअरीदेखि २६ सम्म भएको दिल्ली दंगामा उनीहरुले सघाएको भन्दै दोषी ठहर गरेको हो । 

महासचिव येचुरीले सामाजिक सञ्जालमार्फत सरकारको यो कदमको चर्को विरोध गरेका छन् ।  उनले ट्वीटरमा लेखेका छन्,‘दिल्ली पुलिसले बीजेपीको केन्द्र सरकार र गृह मन्त्रालयको नेतृत्वमा काम गर्दछ। यो खालका अवैध र गैरकानुनी कार्यहरूले भाजपाको शीर्ष राजनीतिक नेतृत्वको चरित्र झल्काउँछ। उनीहरू विपक्षीका शान्तिपूर्ण प्रदर्शन र शक्तिबाट डराउँछन्। हामीलाई यसको दुरूपयोग गर्नबाट रोक्न चाहन्छन्।’

उनले थप लेखेका छन्–‘हाम्रो संविधानले हामीलाई सबै किसिमका भेदभावपूर्ण कानूनहरु विरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार दिएको छ । यो हाम्रो जिम्मेवारी पनि हो। हामी विपक्षीको काम जारी राख्नेछौं।’ त्यस्तै स्वराज अभियानका नेता योगेन्द्र यादवले यो तथ्य गलत भएको प्रतिक्रिया दिएका छन् ।

सोही विषयमा भारतीय सर्वोच्च अदालतका चर्चित वकिल प्रशान्त भूषणले येचुरी लगायतका नेताहरुलाई दंगा फैलाएको आरोप लगाउनु हास्यास्पद भएको बताएका छन् । उनले  ट्विटरमा लेखेका छन्– ‘यसले दिल्ली दंगामा दिल्ली पुलिसको द्वेषपूर्ण स्वभावलाई प्रमाणित गर्दछ। सीताराम येचुरी, योगेन्द्र यादव, जयती घोष र प्राध्यापक अपूर्वानन्दलाई दंगा फैलाउने आरोप लगाउनु हास्यास्पद हो।’ दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सन् २०२० फेब्रुअरी २३ देखि २६ सम्म सिएएको विरुद्धमा भएको प्रदर्शनमा ५३ जनाको मृत्यु भएको थियो ।

दिल्ली उच्च अदालतमा १३ जुलाईमा दिल्ली पुलिसले दायर गरेको आरोपपत्रकाअनुसार मारिएका मध्ये ४० जना मुस्लिम र १३ जना हिन्दू थिए। हालसम्म दिल्ली पुलिसले दंगा सम्बन्धी जम्मा ७५१ वटा प्राथमिकी दर्ता गरेको छ। तर पुलिसले दिल्ली दंगासम्बन्धी कागजात सार्वजनिक गर्न इन्कार गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप