शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगान वार्ता कतारमा सुरु, उद्घाटनमा कसले के भने ?

शनिबार, २७ भदौ २०७७, २२ : ३१
शनिबार, २७ भदौ २०७७

एजेन्सी । कतारमा अफगान सरकार र तालिवानबीच ऐतिहासिक वार्ता सुरु भएको छ । झन्डै दुुई दशक लामो अफगान द्वन्द्व अन्त्यका लागि सरोकारवालाहरु एकै ठाउँमा जुटेको यो पहिलो अवसर हो । शनिबार दोहामा भएको शान्तिवार्ताको उद्घाटन समारोहलाई कोरोना भाइरस महामारीका कारण संयुक्त राष्ट्रसंघ, अमेरिका तथा विभिन्न देशका प्रतिनिधिहरुले भर्चुुअल सम्बोधन गरेका थिए । यो शान्ति वार्तामार्फत स्थायी युद्धविराम, महिला र अल्पसंख्यकको अधिकार, दशौं हजार तालिवानी लडाकुको निसशस्त्रीकरणलगायत विषयमा समाधान खोज्ने अपेक्षासहित सोमबारदेखि शान्ति सम्झौता सुुरु हुने अपेक्षा गरिएको छ । यसक्रममा संवैधानिक परिवर्तन, पावर–सेयरिङलगायत विषयमा पनि छलफल हुनेछ । 

अमेरिकामा आतंकवादी हमला भएको १९ औं वर्षगाँठको भोलिपल्टै यो वार्ता सुरु गरिएको हो । ११ सेप्टेम्बर २००१ को आक्रमण नै अफगानिस्तानमा अमेरिकी हस्तक्षेपको मुख्य कारण मानिन्छ । गत फेब्रुुअरीमा अमेरिका र तालिवानबीच अफगानिस्तानबाट अमेरिकी सेना हटाउने विषयमा छलफल भएको थियो । 

उद्घाटन समारोहमा कुन देशका प्रतिनिधिले के भने ?
कतार– शान्तिवार्ताको आयोजक कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुुलरहमान अल थानीले वार्ताका क्रममा आफ्नो दिमागलाई खुला राख्न अफगानिस्तानका सबै पक्षसँग आग्रह गरे । उनले अफगानी जनताको सपनालाई सम्मान गर्दै अहिलेको चुनौती समाधानका लागि युद्धरत सबै पक्ष सबैखाले विभाजनबाट माथि उठ्नुपर्ने बताए । 

अमेरिकी– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तर्कसंगत रुपमा वार्ता अघि बढ्ने अपेक्षा रहेको बताए । उनले यसको नतिजा अमेरिका नभएर अफगानिस्तानमै निर्भर रहेको बताए । ‘तपाईहरु हरेकले ठूलो जिम्मेवारी बोक्नुभएको छ,’ उनले भने,‘तपाईहरुसँग आफ्नो विभाजन टुङ्ग्याउने अवसर छ ।’

पाकिस्तान– पाकिस्तानका विदेशमन्त्री शेख महोम्मद कुुरैसीले आफ्नो सम्झौतामा विदेशी हस्तक्षेप हुन नदिन अफगानी पक्षलाई सचेत गराए । ‘आगामी सम्झौता अफगानीहरुले आफ्नो भविष्यको निर्णय लिनेका लागि हो । विदेशी हस्तक्षेप वा प्रभाव बिना नै अफगानीहरु आफैं आफ्नो गन्तव्यको मालिक हुनुपर्छ । हाम्रा प्रधानमन्त्री इमरान खानले लामो समयदेखि अफगानिस्तान युद्धको सैन्य समाधान रहेको विषयमा जोड दिइरहनुु भएको छ । राजनीतिक समाधान नै अगाडिको बाटो हो र अहिले अन्तर्राष्ट्रिय समुदायमा हाम्रो दृष्टिकोण फैलिएकोमा उहाँ खुसी हुनुुहुन्छ,’ उनले भने । 

भारत– वार्ताको स्वागत गर्दै भारतीय विदेशमन्त्री सुुब्रमन्यम जयशंकरले शान्तिवार्ता अफगानिस्तानको नेतृत्व, स्वामित्व र नियन्त्रणको हुनुुपर्ने बताए । ‘दोहा छलफलले अफगानिस्तानको राष्ट्रियता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै प्रजातन्त्र र मानवअधिकालाई प्रवद्र्धन गर्नुपर्ने, महिला, अल्पसंख्यक र विपन्नको इच्छालाई सुनिश्चित गर्नुपर्ने र देशमा भइरहेको हिंसालाई प्रभावकारी रुपमा सम्बोधन गर्नुपर्ने धारणा उनले राखे । ‘हाम्रा जनताबीच मित्रता अफगानिस्तानसँगको हाम्रो इतिहासको साक्षी हो । हाम्रो ४ सयभन्दा बढी विकास परियोजनाले नछोएको अफगानिस्तानको कुनै भाग छैन । हामी विश्वस्त छौं, सभ्यताको यो सम्बन्ध निरन्तर फक्रनेछ,’ उनले भने । 

टर्की– टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुुले अफगानिस्तानमा शान्ति ल्याउने राम्रो अवसरका रुपमा यो वार्ता रहेको बताए । उनले निष्पक्ष र दिर्घकालिन सम्झौता गरेर प्रक्रियाको अन्त्य गर्न माग गरे । ‘दशकौं लामो द्वन्द्वपछि अहिले शान्तिका लागि सही अवसर आएको छ । हामीलाई आशा छ यो ऐतिहासिक अवसर गुम्ने छैन र सम्झौता प्रक्रियाले दिर्घकालीन शान्तितर्फ लैजानेछ ।’ शान्ति वार्तामा योगदान गर्नका लागि टर्की तयार रहेको पनि उनले बताए । श्रोतः अलजजिरा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप