बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनासँग शशांक कोइरालाको संघर्ष : संक्रमितलाई दिए यस्तो सुझाव

शनिबार, २७ भदौ २०७७, १७ : ४१
शनिबार, २७ भदौ २०७७

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् । नेपालमा अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।

१५ हजार ५ सय ९६ जना कोरोनासँग संघर्ष गरिरहेका छन् । कोइराला पनि २३ भदौमा कोरोना संक्रमण पुष्टिपछि कोरोनासँगको संघर्षमा छन् । उनी महाराजगञ्जस्थित आफ्नो निवासमा होम आइसोलेशनमा कोरोनाबाट मुक्त हुन प्रयत्न गरिरहेका छन् । संक्रमण पुष्टि भएको छैटौँ दिनमा कोइरालाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको रातोपाटीलाई जानकारी गराए ।

‘स्वास्थ्यमा खासै समस्या छैन । केही दिनयता ज्वरो पनि छैन । अलिकति घाँटीमा अप्ठ्यारो छ,’ उनले भने, ‘अरु सबै ठिकै छ । त्यस्तो समस्या छैन ।’ 

२५ गते यता ज्वरो नदेखिएको महामन्त्री कोइरालाले सुनाए । उनले भने, ‘२५ गतेसम्म एन्टिबायोटिक लिएको थिए । ज्वरो कम भएपछि कुनै औषधि खाने गरेको छैन । तीन दिनदेखि ज्वरो छैन । त्यसैले प्यारासिटामोल पनि खाएको छैन ।’

यतिबेला कोइरालाको शरीरको तापक्रम ९७ देखि ९८ फेरनहाइटसम्म छ । समय समयमा उनी शरीरको तापक्रम जाँच गरिहन्छन् । उनले भने, ‘अलि खानामा अरुचि छ भनौँ या खानाको स्वाद थाहा भइरहको छैन । त्यसैले दिनमा दुई तीन पटक नुन पानीले कुल्ला गरिरहेको छु ।’ साथमा उनले तातो पानीमा तुल्सीको पत्ता राखेर बाफ लिइरहेको सुनाए । 

उनले भने, ‘तुल्सीको पत्ता राखेर बाफ लिँदा मुखले लिने नाकले छोड्ने, नाकले लिने मुखले छोड्ने गरिरहेको छु । अन्य खासै केही गरेको छैन । यसरी नै कोरोनासँग संघर्ष गर्दैछु ।’ 

उनले कोरोनासँगको लडाइको महसुस सुनाउँदै भने, ‘कोरोना भाइरस त्यत्रो अप्ठ्यारो रोग होइन । आफ्नो ख्याल राख्नुपर्छ । ठीक हुन्छ । गाह्रो महसुस भएपछि एन्टिबायोटिक खाने र हस्पिटल नै जानुपर्छ । मलाई अहिले त्यस्तो छैन । घरमै आराम गर्दा ठीकै छ ।’

कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेकाहरुलाई उनले भेटघाटमा ख्याल गर्न सुझाए । ‘मेरो सुझाव छ यस्तो अवस्थामा भेटघाट गर्नुहुँदैन । गर्नै परे पनि मास्क लगाएर डिस्टेन्स मेन्टेन गेर भेटघाट गर्नुपर्छ । मेरो हकमा सम्पूर्ण भेटघाट बन्द गरेको छु । पूर्णरुपमा आराम लिरहेको छु,’ कोइरालाले भने । 

होम आइसोलेशनमा बस्दा बढी ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘होम आइसोलेशनमा बस्नेहरुले बढी ध्यान दिनुपर्छ । सबैका लागि मेरो जस्तो नहुन सक्छ । जतिसक्दो स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ ।’ 

डक्टरी पेसाबाट राजनीतिमा प्रवेश गरेका चर्चित आँखा रोग विषेशज्ञ डा. कोइरालाले इम्युनिटी पावर बढाएर नै कोरोनालाई परास्त पार्न सकिने विश्वास व्यक्त गरे । 

‘आफ्नो शारीरिक शक्ति बढाउनुपर्छ । मैले त्यसका लागि खानेकुरामा केयरफुल गरिरहेको छु । अन्डा, जुस, दिनमा एक दुई गिलास गुर्जो पानी, झोलिलो खाने कुरामा जोड दिएको छु,’ आफ्नो खानपिनबारे कोइरालाले भने, ‘लक्षण देखिएका बिरामीले ओछ्यानमा आराम गर्न गर्नुपर्छ र पर्याप्त झोल कुरा खानुपर्छ । मैले त्यही गरिरहेको छु ।’

कोरोनाको औषधि बनि नसकेकाले ज्वानो, मेथि, बेसार र मरिचजस्ता मसला खानामा प्रयोग गर्नुपर्नु राम्रो हुने उनले सुझाए । 

उनका अनुसार तुल्सीको पत्ता, शीतल चिनीलगायतका जडिबुटी संक्रमतिलाई खुवाउने हो भने इम्युनिटी पावर बढ्छ ।

मह, कागती, अमला, अम्बा, बेसार, मरिच, खुर्सानी, जिरा, धनियाँ, मेथि, टुसा उमारेका खानेकुरा, फलफूल, दही, मोही, चिज, माछा मासु र अण्डा राम्रोसँग पकाएर खाने उनी सुझाउँछन् । कोइरालाले उक्त आफैले पनि खाइरहेको सुनाए ।

कोरोनाबाट मुक्ति पाउन नियमित व्यायाम गर्ने, ध्यान, योग गर्ने, किताब पढ्ने, समयमा सुत्ने, समयमै उठ्ने, सकारात्मक सोच्ने र तनाव नलिन पनि उनको सुझाव छ । कोइराला पनि  यी यस्तै कुराहरु गरि दिन व्यतित गरिरहेको बताउँछन् । 

छिट्टै कोरोनालाई जित्ने कोइरालाले विश्वास दिलाए । उनले भने, ‘म आफै पनि डाक्टर हो । मलाई विश्वास छ । म छिट्टै कोरोना जित्छु । ज्वरो पनि कम हुँदै गएको छ । खानपिन र आराममा पनि पूर्ण ध्यान दिइएको छु ।’ 

केही दिनपछि कोइरालाले आफ्नो स्वास्थ्य अवस्था र आम नागरिकले कोरोनाबाट बच्न के गर्नुपर्छ भन्नेबारे भिडियो सन्देश जारी गर्ने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणपछि आफूले गरिरहेको महसुस पनि जानकारी गराइनेछ । मंगलबार कोइरालालाई कोरोनाको आशंका देखिएपछि उनीसिहत सम्पर्कमा आएका २२ जनाको स्वाब परीक्षण गरिएको थियो ।

२२ जनाकै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर २२ गते कोइरालाको अन्तवार्ता लिन पुगेका दुई जना पत्रकार मध्ये एक जनामा भने कोरोना पोजेटिभ देखिएको छ । अर्का एक पत्रकारमा भने कोरोनाको लक्षण भने देखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप