शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना सङ्क्रमणमुक्त परिवारलाई पुष्पगुच्छासहित सम्मान

शनिबार, २७ भदौ २०७७, १४ : ४२
शनिबार, २७ भदौ २०७७

बुटवल । समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तद्वारा फरक व्यवहार गरिएको गुनासा सार्वजनिक भइरहँदा बुटवलमा होम आइसोलेसनमा बसेर सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरिएको छ ।

बुटवल उपमहानगरपालिका–१३ का विभिन्न टोलमा स्थानीयवासीसँगै वडाका जनप्रतिनिधि समेतले सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरेका छन् । उक्त वडाको भानुपथमा कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा बसेर निस्किएका एकै परिवारका तीन जनालाई आज पुष्पगुच्छासहित टोलवासीले सम्मान गरेका हुन् । 

 भानुपथ निवासी बुटवल उपमहानगरपालिकाका आइटी इन्जिनीयर विकेक भुसाल, उनको एक महिनाको छोरा र सँगै बस्ने भान्जीसहित परिवारलाई वडा जनप्रतिनिधि बेदप्रसाद गैरे, आमा समूह अध्यक्ष गिरा बराललगायत टोलवासीले आज पुष्पगुच्छा प्रदान गरी कोरोना जितेकामा नगरका तर्फबाट बधाई तथा शुभकामना दिएका छन् । कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेसनमा बसेर आज २१ औँ दिनमा आइसोलेसन मुक्त भएका छन् ।

सो अवसरमा आइसोलेसनमा रहँदासमेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको कामना गरेको भन्दै इन्जिनीयर भुसालले सबैप्रति आभार व्यक्त गरे ।
 कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेसनमा बसेर निस्किएका भुसालको परिवारलाई डिस्चार्ज पत्र प्रदान गर्दै जनप्रतिनिधि गैरेले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप