शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुणस्तरहीन भन्दै नगरपालिकाद्वारा कालोपत्रे रोक्का

शनिबार, २७ भदौ २०७७, ११ : ११
शनिबार, २७ भदौ २०७७

रौतहट । सहरी विकास मन्त्रालयको १४ करोडको लागतमा सगुन निर्माण सेवाले रौतहटको गुजरा नगरपालिकामा गर्न लागेको कालोपत्रे गुणस्तरहीन भएको भन्दै नगरपालिकाले रोक्का गरेको छ ।

बालचनपुर चौकदेखी गर्जाघाट लालबकैया नदीको पुलसम्म १० किलोमिटर बाटोमा सगुन निर्माण सेवाले गरिरहेको कालोपत्रे मापदण्डविपरित कमजोर भएको भन्दै मेयर सन्तलाल चौधरीको निर्देशनमा प्रहरीले रोक्का गरेको हो ।

गुजरा नगरपालिका–४ जंगलसैया चोकनजिकै भइरहेको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयकुमार प्रसाद चौलागाइँको नेतृत्वमा मेयर चौधरीसमक्ष एक प्रतिनिधीमण्डलले गुनासो गरेको थियो ।

लगतै मयर सन्तलाल चौधरीले काम तत्काल रोक्का राखेर सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगञ्जको साइट ईन्जिनियर बोलाउन सगुनका प्रमुख खड्कालाई पत्र पठाएका थिए ।

तर, खडकाले पत्रको बेवास्तागरी राति ९ बजे गुपचुप तरिकाले फेरि कालोपत्रे निर्माण सुरु गराएको कारण मेयर चौधरीको अनुरोधमा प्रहरीचौकी हरिनगर जंगलसैयाका असई सञ्जय सिंहले निर्माण काम रोकेका छन् ।

गजाटर्जा पुलदेखि बालचनपुर सम्म १० किलोमिटर बाटो कालोपत्रे गर्न शहरी विकास मन्त्रालय बाट १४ करोडको टेण्डरमा सगुन निर्माण सेवाले ठेक्का लिएका छन ।

सगुनका प्रमुख शहदेव खड्काले गुणस्तरहीन बाटो बनाउन थालेपछि स्थानीयहरुले पटक–पटक विरोध गर्दै आएका छन् ।

ठेकदार खड्काले शहरी विकास तथा डिभिजन कार्यालय वीरगञ्जका कर्मचारीको मिलोमतोमा गुणस्तरहीन कालोपत्रे गरिरहेको गुजरा नगरपालिका–४ का अध्यक्ष पवनराज गिरीले  आरोप लगाउँछन् ।

निर्माण हुन लागेको गुणस्तरहीन कालोपत्रेबारे पटक–पटक डिभिजन कार्यालय वीरगञ्जका प्रमुख रञ्जन दासलाई फोन गर्दा फोन न उठाउने र साईट ईन्जिनियर धीरेन्द्र यादवले ठेकदारकै पक्षमा वकालत गर्ने गरेकाले उनीहरुको मिलोमतो प्रष्ट हुने गुजराका काँग्रेस नगर सभापति कुमारप्रसाद चौलागाइँको तर्क छ ।

गुजरा नगरपालिकाका ओभरसियर राजीव चौधरीका अनुसार सगुनले गर्न लागेको कालोपत्रेमा तीनवटा ठूलो कमजोरी देखिएकाले लामो समय टिक्न नसक्ने ठोकुवा गरेका छन् ।

‘निर्माण हुन लागेको बाटोको बेस नै कमजोर छ । बेस बनाउँदा राम्ररी पानी पठाएर रोलरले पेलिएको छैन । त्यसैगरी निर्माण भइसकेको कालोपत्रे पिचमा डस्टको कमीले ठाँउ ठाउँमा बनेको साना–साना खाडलमा वर्षाको पानी जमेर छिट्टै बिग्रने सम्भावना छ,’ ओभरसियर चौधरीले भने ।

यता, सगुन निर्माणसेवाका प्रमुख शहदेव खड्काले गुजराका नगरप्रमुख सन्तलाल चौधरीको रोहवरमा शहरी विकास तथा भवन डिविजन कार्यालय वीरगञ्जका ईन्जिनियरको सल्लाह अनुसार बाटोको कालोपत्रे निर्माण सुरु गरिने बताएका छन् ।   

सहरी विकास तथा भवन डिभिजन वीरगञ्जका प्रमुख राजन दासले कालोपत्रे कुनै पनि हालतमा गुणस्तरहीन हुन नदिने प्रतिबद्धता जनाए ।

गुणस्तरहिन काम हुँदा निर्माणकाम रोक्कागर्ने स्थानिय र जन प्रतिनिधीले सराहनिय काम गरेको भन्दै ठेकदार संग कार्यालयको कुनै किसिमको मिलोमतो नरहेको प्रतिकृया दिएका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप