केन्द्रीय संस्करण
कला

समाज बदल्ने वृत्तचित्र

हत्या गरेर स्वतन्त्र घुम्थे अपराधी, एउटा डकुुमेन्ट्रीले फेरिदियो कानुन

person explore access_timeभदौ २६, २०७७ chat_bubble_outline0

‘जति धेरै कानुन, त्यति थोरै न्याय,’ प्राचिन रोमका प्रभावशाली प्रशासक मार्कस टलिजस सिसरोले भनेका छन् । किनकी, दुविधाग्रस्त र झन्झटिलो कानुनले प्रहरी–प्रशासन र न्यायालयलाई नै निरिह बनाइदिन्छ, यस्तोमा अपराधी छाती फुुलाएर अनि पीडितले मुख छोपेर हिँड्नुपर्ने अवस्था निम्तन्छ । पाकिस्तानी अधिवक्ता असद जमलको बुझाइअनुसार ‘यस्तो परिस्थिती रहेसम्म अदालतको भूमिका चिठ्ठीपत्र दाखिला गर्ने हुलाक अड्डामा सीमित हुन्छ । जहाँ, पीडितको बयान त दर्ता होला, तर न्याय मिल्दैन ।’

‘अ गर्ल इन द रिभर– द प्राइस अफ फरगिभ्नेस’ डकुमेन्ट्रीमार्फत पाकिस्तानी निर्देशक सर्मिन आबेद चिनोयले यही विषय उठाएकी छन्, मृत्युको मुखमा पुुगेकी एक किशोरीको दर्दनाक भोगाइ र पाकिस्तानी समाजको कालो पक्षबारे उनले बृहद क्यानभास कोरेकी हुुन् । केवल चित्र उतार्न होइन समाजको चरित्र बदल्न पनि उनको मेहिनत उत्तिकै काम आएको छ । त्यसैले त यो डकुमेन्ट्री संसारका सर्वकालिन शक्तिशाली फिल्मको सूचीमा छ ।  २८ अक्टुुबर सन् २०१५ मा यो डकुमेन्ट्री सार्वजनिक भएको थियो । तर, रिलिज भएका ५ वर्ष बितिसक्दा पनि यसको चर्चा उत्तिकै सान्दर्भिक छ ।

हिंसाविरुद्धको सशक्त आवाज

यसले ‘अनर किलिङ’ अर्थात् ‘सम्मानका लागि हत्या’ नामक कुप्रथालाई देखाउँछ । दक्षिण एशियाली महिलाहरु सती प्रथा (अहिले उन्मुलन भइसकेको), दाईजो विवाद, बोक्सीको आरोपमा कुटपिट, बलात्कार, हिंसालगायत विभिन्न जघन्य अपराधको शिकार हुने गरेका छन् । सम्मान हत्या झन्डै १ हजार वर्षदेखि भारत र पाकिस्तानी समाजमा जरो गाडेर बसेको त्यस्तै कुप्रथा हो ,जसअन्तर्गत आफ्नो प्रतिष्ठामा ठेस पु-याएको भन्दै परिवारका पूूरुष सदस्यले महिलाको हत्या गर्छन् ।

संस्कारविपरीत उदार पहिरन लगाउने, बलात्कृत, पर–पुरुषसँग सम्पर्कमा रहेका, परिवारलाई थाहा नदिइ प्रेम गर्ने युवतीलगायत यसको शिकार बन्ने गरेको पाइन्छ । सार्वजनिक भएको तथ्यअनुसार पाकिस्तानमा सन् २०१३ मा ८ सय ६९ र सन् २०१४ मा एक हजारभन्दा धेरैको ज्यान अनर किलिङका नाममा गयो । यसमध्ये सन् २०१४ मा पञ्जाबको गुजरनवालामा घटेको दुखद् घटनालाई चिनोयले आफ्नो विषयवस्तु बनाइन् । जहाँ, पेस्तोल हानेपछि बाबु र काकाले खोलामा फालेकी १९ वर्षे साबा नामक युवती भाग्यवस्, बाँचेकी थिइन् ।

असद जमलले प्रारम्भमा साबाको मुद्दा लडेका थिए । सुरुमा यस्ता मुद्दाहरु व्यक्ति हत्याअन्तर्गत नै दर्ता हुने उनी बताउँछन् । तर, अनर किलिङ पुष्टि भएपछि मुद्दा फितलो बन्दै जान्थ्यो । किनकी, सन् २०१६ सम्म पाकिस्तानमा विद्यमान कानूनअनुसार सम्मान हत्याका अपराधीलाई अपराध प्रमाणित भएपनि उम्कन सहज थियो । पीडितले माफी दिन चाहेमा सम्मान हत्या गर्ने व्यक्ति रिहा हुने कानूनी व्यवस्थाअनुसार धेरै अपराधी जेलमुक्त भए ।

चार वर्षअघि क्यासर नामक युवासँग उनको मग्नी भएको थियो । भावी पतिसँग निरन्तर फोन सम्पर्क तथा कहिलेकाँही भेटघाट पनि हुन्थ्यों, साबाका बाबुुले बिहेको योजना समेत बनाइरहेका थिए । तर, क्यासरको परिवार विपन्न भएकाले छोरी दिन नहुने तर्क काकाले गरे । बरु, आफ्नो सालोसँग बिहे गर्नुपर्ने काकाको प्रस्तावमा बाबुले सहमति जनाएपछि घटनाले दुखान्त मोड लियो । जीवनमा क्यासरबाहेक अर्को पुरुषको कल्पनासम्म नगरेकी साबा एक बिहान घरबाट भागिन् । क्यासरले अदालत लिएर गए, जहाँ उनीहरुको बिहे दर्ता भयो ।

 साँझ पर्नैलाग्दा छोरी खोज्दै बाबु आइपुुगे । ‘परिवारको नाक राखिदेऊ, घर फर्किएर इज्जतपूर्वक धुमधामले बिहे गरौँला भन्दै फकाए,’ साबाले डकुमेन्ट्रीमा भन्छिन्, ‘कुरानमा हात राखेर यस्तो कुरा गरेकाले मलाई विश्वास लाग्यो ।’

बाटोमा आइपुुग्दा रात परिसकेको थियो, काकाले गाडी रोके । त्यसपछि एक्कासी उनलाई बाहिर निकालेर निर्घात कुटपिट गर्न थाले, यतिबेलासम्म साबा होशमै थिइन् । काकाले एउटा हातले घाँटी समाते, अर्को हातले कन्पटमा पेस्तोल तेस्र्याए । ‘धन्न मैले टाउको हल्लाउँदा मिस फायर भयो, गोली दिमागमा होइन गालामा लागेछ । यसपछि म बेहोश भएँ,’ साबा भन्छिन्,‘उनीहरुलाई मरी भन्ने लागेर मलाई झोलामा हालेर खोलामा फाले । त्यसपछि कसैले थाहा पाउँदैंन भन्ने सोचेर उनीहरु हिँडेका रहेछन् ।’

चिसो पानीमा साबाको होश खुल्यो । उनले सुनसान सडकमा हेडलाइट बालेर गुडिरहेको एउटा मोटरसाइकल देखिन्, उज्यालो ठाउँमा पुगेर त्यो टक्क रोकियो । साबा जसो–तसो त्यहाँसम्म पुगिन्, त्यो उज्यालो स्थान पेट्रोल पम्प थियो, साबालाई त्यहींका मानिसहरुले उद्धार गरेर अस्पताल लगे । यसपछि प्रहरीले बाबु र काकालाई पक्राउ ग-यो ।

घटनास्थलको क्राइम सिनबारे प्रहरी अफिर अली अबकर भन्छन्, ‘यस्तो घटनामा पीडित बाँच्ने मौका कमै हुन्छ । तर, यहाँ भाग्यले काम ग-यो ।  एक, उनीहरुले हानेको गोली कन्पटमा नभएर गालामा लाग्यो । अर्काे,  फालिएको स्थानमा खोलाबाट किनाराको डिलमा आउन केही सहज छ, त्यहाँ पानी त्यति गहिरो नभएकाले घाइते हुनका बाबजुद उनी जमिनमा टेक्न सफल भइन् । म भन्छु, अल्लाहले बचाउनुभयो ।’

यसपछि साबाका बाबु र काकालाई जेलमुक्त गर्न तथाकथित सामाजिक अगुवा र धार्मिक नेताहरुले के–कस्ता प्रयास गर्छन् ? न्याय दिलाउन हिँडेकाहरुको यात्रा कहाँ पुगेर टुंगिन्छ ?

यस्तो थियो अवस्था ?

असद जमलले प्रारम्भमा साबाको मुद्दा लडेका थिए । सुरुमा यस्ता मुद्दाहरु व्यक्ति हत्याअन्तर्गत नै दर्ता हुने उनी बताउँछन् । तर, अनर किलिङ पुष्टि भएपछि मुद्दा फितलो बन्दै जान्थ्यो । किनकी, सन् २०१६ सम्म पाकिस्तानमा विद्यमान कानूनअनुसार सम्मान हत्याका अपराधीलाई अपराध प्रमाणित भएपनि उम्कन सहज थियो । पीडितले माफी दिन चाहेमा सम्मान हत्या गर्ने व्यक्ति रिहा हुने कानूनी व्यवस्थाअनुसार धेरै अपराधी जेलमुक्त भए । धेरैजसो घटनामा पीडित–पीडकबीच नाता–सम्बन्ध हुने भएकाले कमैमात्र घटना अदालतसम्म पुग्थे, दर्ता भएका अधिकांश घटना पनि माफीमै गएर टुङ्गिने गरेको रेकर्ड थियो । मानौँ, छोरीको हत्या अभियोगमा बाबु पक्राउ प-यो, अदालतमा बयान दिने त उनकै श्रीमती वा बाँचेकी अर्की छोरी हुन्छिन् । यस्तोमा सामाजिक दबाब र आर्थिक कारणले ठूलो भूमिका खेल्छ, घरको अभिभाकत्व र रोजिरोटीको जिम्मा नै आफ्नो काँधमा हुने भएकाले अन्नतः धेरैजसो हत्यारा पुरुषले सहजै परिवारका अन्य सदस्यबाट माफी पाउँछन् ।

ईस्लामावाद, कराँची र लाहोरदेखि अमृतसर, नयाँ दिल्ली, लण्डन र ओट्टावासहित विश्वका अन्य धेरै शहरमा प्रदर्शन भए । ६ अक्टुबर, सन् २०१६ मा पाकिस्तानको संसद्बाट सम्मान हत्याबारेको नयाँ संशोधित विधेयक सर्वसम्मतले पारित भयो जसअनुसार पीडितले माफी दिँदैमा हत्यारा जेलमुक्त हुँदैनन्, उनीहरुले अनिवार्य २५ वर्ष जेल सजाय काट्नुपर्छ । घटनाको प्रकृति हेरेर हत्यारालाई फाँसीको सजाय पनि हुनसक्छ । 

अधिवक्ता जमलको बुझाइमा खोट कानूनमै हो । ‘यस्ता जघन्य अपराध सम्झौता वा माफीको लायक हुन्छ वा हुँदैन भन्ने विषय जनसरोकारको मुद्दा हो,’ डकुमेन्ट्रीमा जमलले भनेका छन्, ‘जहाँसम्म न्याय सम्पादनको कुरा छ, यो निकै लामो प्रक्रिया हो । र, समाज तथा सरकारी निकायमा महिलाहरुको अवस्था कमजोर छ । पाकिस्तानी समाजमा महिलाहरु दोस्रो दर्जाको नागरिक वा त्योभन्दा पनि खराब अवस्थामा छन् ।’

आबेद चिनोय

फिल्मले ल्याएको सुधार

यो डकुमेन्ट्री ओस्कारमा मनोनयन भएसँगै सम्मान हत्याबारे नयाँ शिराबाट बहस थालियो । यसअघि सधैँ किनारामा परिरहेको मुद्दा पाकिस्तानमा जनसरोकारको विषय बन्यो, यस्तो प्रथाविरुद्ध धेरै अभियान चले । ०१६ फेब्रअरीको दोस्रो साता फिल्म हेरेलगत्तै तत्कालीन प्रधानमन्त्री नवाज सर्रिफले कानून संशोधन गरेर अपराधीलाई कडाभन्दा कडा सजाय दिलाउने घोषणा गरे । २८ फेब्रुअरीमा यसले ‘डकुमेन्ट्री सर्ट सब्जेक्ट’ विधामा ओस्कार अवार्ड जित्यो । त्यसपछि सम्मान हत्याविरुद्धको अभियान थप उचाइँमा पुग्यो, जसको प्रमाण बलोच प्रकरण हो । १५ जुलाई, सन् २०१६ मा आफ्नै दाजुबाट पाकिस्तानी मोडल क्वान्डेल बलोच मारिएपछि हत्यारालाई कडा कारबाही माग गर्दै चौतर्फी प्रदर्शन भए । पहिले चुप रहने पाकिस्तानी समाजसहित यसपटक पुरा विश्वले एकै स्वरमा घटनाको निन्दा ग¥यो । बेलायती प्रधानमन्त्री थिरेसा मेईसहित धेरै चर्चित नेताले विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाए ।

ईस्लामावाद, कराँची र लाहोरदेखि अमृतसर, नयाँ दिल्ली, लण्डन र ओट्टावासहित विश्वका अन्य धेरै शहरमा प्रदर्शन भए । ६ अक्टुबर, २०१६ मा पाकिस्तानको संसद्बाट सम्मान हत्याबारेको नयाँ संशोधित विधेयक सर्वसम्मतले पारित भयो जसअनुसार पीडितले माफी दिँदैमा हत्यारा जेलमुक्त हुँदैनन्, उनीहरुले अनिवार्य २५ वर्ष जेल सजाय काट्नुपर्छ । घटनाको प्रकृति हेरेर हत्यारालाई फाँसीको सजाय पनि हुनसक्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.