चीन र भारतका सैनिक अधिकारीहरुबीच चुशुलमा वार्ता

लद्दाख । भारत र चीनबीच सीमावर्ती लद्दाखको चुशुलमा शुक्रबार ब्रिगेड स्तरका सैनिक अधिकारीहरुबीच वार्ता भएको छ । चीन र भारतका विदेशमन्त्रीबीच रुसको मस्कोमा द्वीपक्षीय वार्ता भएसँगै दुबै देशका सैन्य अधिकारीबीच वार्ता भएको हो ।
भारतीय सैनिक स्रोतले दुबै देशका सैन्य अधिकारीबीच बिहान ११ बजे शुरु भएको वार्ता अपराह्न ३ बजे समाप्त भएको जनाएको छ । चीन र भारत सीमा क्षेत्रमा केही समयदेखि उत्पन्न विवादका विषयमा बिहीबार चीनका विदेशमन्त्री वाङ यी र भारतका विदेशमन्त्री एस जयशंकरबीच रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । दुबै विदेशमन्त्री सांघाई सहयोग संगठनको बैठकमा भाग लिन यतिबेला मस्कोमा रहेका छन् । दुबै मन्त्रीबीचको भेटवार्ता करिब अढाई घण्टा चलेको थियो ।
भारतीय संचारमाध्यमहरुका अनुसार भारतीय विदेशमन्त्री जयशंकरले पूर्वी लद्दाखको सीमाक्षेत्रमा उत्पन्न गतिरोधले दुबै मुलुकबीचको सम्बन्धमा व्यापक असर परेको बताएका थिए । विद्यमान परिस्थितिको जतिसक्दो चाँडो समाधान गर्न सकिए त्यो दुबै देशको हितमा हुने विचार पनि मन्त्री जयशंकरले चिनियाँ समकक्षीसमक्ष राखेका थिए ।
वार्तामा भारतीय पक्षले सीमा क्षेत्रको व्यवस्थापनका सन्दर्भमा यसअघि दुबै देशबीच भएका समझदारी र सम्झौता पालना गर्न भारत तत्पर रहेको बताएको थियो । स्रोतका अनुसार भारतीय विदेशमन्त्रीले सीमामा उत्पन्न विवाद समाधानका लागि चीन समक्ष पाँच बुँदे प्रस्ताव राखेका थिए ।
भारत र चीनबीच गत अप्रिल–मे महिनादेखि गल्वान उपत्यका, फिन्गर विन्दु, हट स्प्रिङ र कोङरुङ नाला क्षेत्रलाई लिएर विवाद जारी छ । गल्वान क्षेत्रमा गत जुन महिनामा २० जना भारतीय सैनिकको मृत्यु भएपछि विवाद उत्कर्षमा छ । गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वाई फेङबीच पनि रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
-
जसपा नेपालले पहिचानको आन्दोलनलाई देशव्यापी विस्तार गर्ने
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू
-
क्यानडामा मतदान सुरु, को को छन् दौडमा ?