शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसमा धर्म निरपेक्षता फ्याक्टर : देउवा पक्षका प्रभावशाली नेता शशांकको ‘लाइन’मा

महाधिवेशनमा हिन्दु राष्ट्रको मुद्दा निर्णयक बन्ने नेताहरुको दाबी
शुक्रबार, २६ भदौ २०७७, १७ : ५६
शुक्रबार, २६ भदौ २०७७

काठमाडौँ । नेपाली काँग्रेसमा १४ औं महाधिवेशन नजिकिएसँगै धर्मनिरपेक्षता विरोध स्वर फैलिँदै गएको छ । पदाधिकारीका आकांक्षी नेताहरु एकपछि अर्को गरी हिन्दु राष्ट्रमा खुल्न थालेको पाइन्छ । १३ औं महाधिवेशनपछि काँग्रेस केन्द्रीय कार्यसमितिमा हिन्दु राष्ट्रको पक्षमा वकालत गर्ने नेताको संख्या न्युन थियो । तल्ला तहका अधिकांश नेता–कार्यकर्तामा हिन्दु राष्ट्रको मुद्दा जबरजस्त उठिरहेको परिवेशमा केन्द्रीय नेताहरु पनि थापिन थालेको अवस्था छ ।

यद्यपि, धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रताको माग गर्नेहरुको भने दुई तिहाइ नजिक रहेको पाइन्छ । ०७५ मंसिर–पुसमा सम्पन्न महासमिति बैठकमा धर्मनिरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्न माग राख्दै ५० प्रतिशत सदस्यले हस्ताक्षर गरेका थिए ।

काँग्रेसमा महाधिवेशनपछिको दोस्रो ठूलो फोरमका रुपमा हेरिने महासमिति बैठकमा १४ सय सदस्यमध्ये ७ सयभन्दा बढीले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसपछि नेतृत्व तहमा रहेका नेतालाई समेत यो मुद्दाले तरङ्गित बनाउने गरेको छ । मुद्धालाई महामन्त्री कोइराला, सहमहामन्त्री प्रकाशशरण महत केन्द्रीय सदस्यहरु शेखर कोइराला, खाँण र एनपी साउद, शङ्कर भण्डारी, पुष्षा भुसाल, देवेन्द्रराज कँडेल, डिला संग्रौला, अजयकुमार चौरसिया र शिला खड्काको साथ छ ।

त्यसमा पछिल्लो समय काँग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ र नेता अर्जुननरसिंह केसी धर्मनिरपेक्षाको विपक्षीमा प्रकट भएको पाइन्छ ।  धर्मनिरपेक्षताको मुद्दामा जनमत संग्रह वा संविधान संशोधनमार्फत निर्णय लिनुपर्ने काँग्रेसभित्र आवाज उठिरहेको छ । 

काँग्रेसभित्र पछिल्ला दिनमा धर्मनिरपेक्षता विरोधी स्वर पार्टीका हरेक फोरममा उठिरहेको पाइन्छ । महासमिति र केन्द्रीय कार्यसमिति बैठकदेखि प्रशिक्षण कार्यक्रममा समेत हिन्दू राष्ट्रको मुद्दा उठ्ने क्रम जारी छ । पार्टीको १४औँ महाधिवेशनका गतिविधिसँग पनि हिन्दु राष्ट्रको एजेन्डा जोडिन पुगेको छ । 


काँग्रेसका केही शीर्ष नेतादेखि अगुवा कार्यकर्ताले हिन्दु राज्यबारे पार्टीभित्र छलफल तथा विचार–विमर्शको आवश्यकता औल्याउँदै आएका छन् ।  १४ औं महाधिवेशनमा काँग्रेसभित्र हिन्दु राष्ट्रको एजेन्डाको नेतृत्वको लिने व्यक्तिको खोजी भइरहेको छ । एजेन्डालाई स्थापित गर्न केन्द्रीय सदस्य शंकर भण्डारीलगायत सक्रिय छन् । महामन्त्री कोइराला, नेता श्रेष्ठ नेता डा.शेखर कोइराला काँग्रेसको झण्डाको एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतिक रहेको भन्दै बीचको बाटोमा जानुपर्ने पक्षमा छन् ।

उनी धर्मनिरपेक्ष संविधानबाट हटाएर धार्मिक स्वतन्त्रता राखेर जानेगरी एजेन्डा बनाइरहेका छन् । तर महाधिवेशनमा हिन्दु राष्ट्रको पक्षमा प्रकट भएको मतले नेताहरुलाई महाधिवेशनसम्म हिन्दु राष्ट्रको पक्षमा तान्ने कतिपयको बुझाइ छ । काँग्रेसको आसन्न महाधिवेशनमा यो एजेन्डा पनि जित हारका रुपमा देखिने आंकलन गरिएको छ । किनभने अब काँग्रेसभित्र फैलिएको हिन्दु राष्ट्रको एजेन्डा रोक्न सजिलो छैन । यसको व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण छ । काँग्रेसको आगामी नेतृत्वको संघर्ष एजेन्डाको बीचमा हुने संकेत दखिन्छ ।

घटनाक्रम यसरी विकसित हुँदै छकि काँग्रेसको आगामी नेतृत्व धर्मको पक्ष विपक्षको एजेन्डाले नै तय गर्ने वातावरण बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गगनकुमार थापा र फर्मुल्ला मन्सुर लगायतका नेताहरु धर्मनिरपेक्षताको विकल्प खोज्न नहुने पक्षमा छन् । 

उनीहरु हिन्दुराष्ट्र काँग्रेसको एजेन्डा बन्न नसक्ने बताउँदै आएका छन् । काँग्रेसमा उनीहरुलाई गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका कट्टर पक्षधरका रुपमा हेरिन्छ । उपसभापति निधिले काँग्रेस हिन्दु राष्ट्रको पक्षमा नभएको प्रष्ट्याउँदै भने, ‘संविधानले धर्म निरपेक्षता भनेको छ । संविधान बनाउने नेतृत्व नेपाली काँग्रेसले गरेको हो । राज्य धर्म निरपेक्ष छ । काँग्रेसलाई धर्म निरपेक्षता स्वीकार्य छ । हाम्रो चारतारे झण्डामा धार्मिक स्वतन्त्रता छ, त्यो भनेको धर्मनिरपेक्षता हो ।’ 

काँग्रेसको अगुवाइमा वर्तमान संविधान जारी भएकाले त्यसलाई जनआन्दोलन र परिवर्तनको उपलब्धि ठान्ने मत पनि बलियो छ । तर सभापति शेरबहादुर देउवाको उत्तारधिकारीका रुपमा आफूलाई दाबी गर्ने नेता श्रेष्ठ भने धर्मनिरपेक्षताको विपक्षीमा उभिएका छन् ।

काँग्रेसमा हिन्दु राष्ट्रको पक्षधरको पहिचान बनाएका स्वर्गीय खुमबहादुर खड्का निकट नेता पनि संस्थापन पक्षमा यस विषयलाई जबरजस्त रुपमा स्थापित गराउन खोजिरहेको पाइन्छ । यद्यपि महामन्त्री पूर्णबहादुर खड्का अहिलेसम्म मौन छन् ।  पछिल्लो समय भारतका धर्मगुरु र भारतीय जनता पार्टीका नेताहरुसँग महत्वपूर्ण भेटघाटमा गरेको उपसभापति विजय गच्छेदार पनि हिन्दु राष्ट्रको मुद्दामा सकारात्मक रहेको बुझिएको छ ।

राजनीतिमा जुनसुकै बेला यु टर्न हुनसक्ने गच्छेदार पनि महाधिवेशनसम्म हिन्दु राष्ट्रको एजेन्डातर्फ विस्तारै जोडिँदै गएको कतिपयको बुझाइ छ ।  काँग्रेसमा धर्मनिरपेक्षतताका विपक्षी एक ठाउँमा उभिने वातावरण बन्ने पनि नेताहरु दाबी गर्छन् । यसमा विशेषत देउवा निकट प्रभावशाली नेता खाँण, महत र साउदको आगामी रणनीतिले पनि अर्थ राख्नेछ । 

 


यता, उपसभापति निधिले सभापतिमा दाबी प्रस्तुत गर्दै वैचारिक एकताको वकालत गर्नु र महामन्त्री कोइरालाको लाइनमा नेता श्रेष्ठको अभिव्यक्ति आउनुलाई काँग्रेसभित्र अर्थपूर्ण रुपमा हेरिएको छ ।  किनभने काँग्रेसभित्र देउवा र शशांकबीच आसन्न महाधिवेशनमा गठजोड हुने चर्चा जारी छ । देउवाले आफू सभापतिमा दोहोरिने परिस्थिति बनेमा शशांकलाई सभापतिका लागि अगाडि सार्न सक्ने अटकलबाजी भइरहेको छ । नेता श्रेष्ठले पनि एजेण्डागत रुपमा शशांकसँग सहकार्यको वातावरण हुनसक्ने बताए ।

श्रेष्ठले भने, ‘महाधिवेशनमा के–के हुन्छ थाहा छैन । विचार मिल्नेहरु एक ठाउँमा उभिन सकिन्छ, उभिनु पनि पर्छ । उहाँ (शशांक कोइराला)र मेरो एजेण्डा कहाँसम्म मेला खान्छ त्यहाँसम्म सँगै जान सक्छौ ।’

धर्म निरपेक्षता खारेजीको मुद्दा महाधिवेशनमा लगिने

काँग्रेसमा आसन्न महाधिवेशनमा धर्म निरपेक्षता खारेजीको मुद्दा उठाउन नेताहरु तयार देखिएका छन् । श्रेष्ठले रातोपाटीसँग भने,‘धार्मिक स्वतन्त्रता भनेको कुनै धर्मलाई भेदभाव गर्ने होइन्, धर्म निरपेक्षता नलेख्नुपर्ने, त्यसमा पुनर्विचार गर्नुपर्छ ।  म यसलाई १४ औं महाधिवेशनमा लिएर जान्छु ।’ 

धर्म निरपेक्षता जनताको माग नभएको भन्दै उनले अन्तरिम संविधानमा त्यसले कहाँबाट प्रवेश पायो भनि प्रश्न उठाए ।   श्रेष्ठले भने ‘नेपाली काँग्रेसले स्थापना कालदेखि धार्मिक स्वतन्त्रता थियो त्यो कामय हुनुपर्छ । नेपाली जनताको माग नै धार्मिक स्वतन्त्रता हो ।’ 

हिन्दुवादी नेता शंकर भण्डारीले महाधिवेशनमा हिन्दु राज्यका लागि कडा संघर्ष गर्ने बताए । उनले भने, ‘हिन्दु राष्ट्रको मुद्दामा महाधिवेशनमा व्यापक छलफल हुन्छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्व जुन बाटो हिँड्यो त्यो काँग्रेसको असली बाटो होइन । त्यो सत्ता, पद प्राप्तिको लोभ र प्रभावको बाटोमा काँग्रेस हिँडेको हो । त्यो बाटोलाई काँग्रेसको आगामी महाधिवेशनले परिवर्तन गर्नुपर्छ ।’

उनका अनुसार धर्मनिरपेक्षता नेपालको हावा पानी सुहाउँदो बाटो पनि भएन । त्यो कुरा वर्तमान राजनीतिक घटनाक्रमबाट पुष्टि भइसकेको उनको दाबी छ ।  नेता लोकेश ढकालले पनि हिन्दु राष्ट्र हुर्नुपर्छ भन्ने कुरा जनजन र कार्यकर्ताको मनमन रहेको बताए । उनले भने, ‘हिन्दु राष्ट्र हुर्नुपर्छ भन्ने कुरा जनजन र कार्यकर्ताको मनमनमा छ । काँग्रेसभित्र पैसा खाएकाहरु यो मुद्दा बोक्न सक्दैनन् ।’

धर्मनिरपेक्षता खोरजीको कुरा गर्नेहरुले आफ्नो राजनीतिक स्वार्थ रहेर बोलेको ढकालको भनाइ छ । नेता भण्डारीको भने भारतीय जनता पार्टीले जितेपछि काँग्रेसमा धेरै नेताका स्वर परिवर्तन भएको बुझाइ छ ।
भण्डारीले भने,‘अब धेरै साथीले मनन गर्ने छन् । सही बाटोमा साथीहरु एकीकृत ढंगले संगठित भएर यो चिन्तनलाई साथ दिन तयार हुने भण्डारीको विश्वास छ ।

’त्यस्तै नेता ढकालले भने यो मुद्दालाई जबरजस्त लिएर जाने नेतृत्वको खाँचो देखिएको बताए । उनले भने, ‘जसले यो मुद्दालाई बोकेर हिँड्छ त्यसलाई सभापतिमा सहयोग गर्ने हाम्रो सोच छ । त्यो ढंगले अगाडि बढ्ने प्रयास गरिरहेका छौँ ।’  यस्तै नेता भण्डारीले सनातन हिन्दु राष्ट्रको विचार बोक्ने नेता काँग्रेसको भावी सभापति हुने दाबी गरे ।  ‘राष्ट्रिवादी साचो, पहिनावादी साचोको विचारधारले नै नेतृत्व चयनको कुरा निर्धारण गर्छ । सनातन हिन्दु राष्ट्रको विचार जसले बोक्छ उही काँग्रेसको सभापति हुन्छ’ भण्डारीले भने ।

सभापतिका आकांक्षी मध्येका एक शेखर कोइराला हिन्दु राज्यको पक्षधर भएको दाबी गर्दै नेता ढकालले मुद्दामा पनि प्रस्ट भएको बताए ।  उनले भने, ‘अहिले सभापतिका लागि आकांक्षी भनेर हिँडिरेका नेताहरुमा हिन्दु राष्ट्रको मुद्दामा सबैभन्दा नजिक शेखर कोइराला हुनुहुन्छ । अहिले कति खुलेर बोल्न सक्नुहुन्छ सक्नुहुन्न्  आफ्नो ठाउँमा होला । जनजाति, मधेस, दतिल लगायतको पार्टी पंक्ति भड्किएला भन्ने कुरा होला । अन्यथा यस मुद्दामा शेखर कोइराला स्पस्ट हुनुहुन्छ । उहाँ हिन्दु राज्यको पक्षधर हो ।’

देउवा निकट मानिने नेता भण्डारीले हिन्दु राष्ट्रको पक्षमा कोही नेता प्रस्ट ढंगले नेतृत्व लिन आयो सर्मथन रहने बताए । ‘हिन्दु राष्ट्रको पक्षमा कोही प्रस्ट ढंगले आयो भने सर्मथन गर्छौ । कोही तयार भएन भने हामी मध्येबाट कोही सभापति लड्छौँ,’ भण्डारीले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप