शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चाँगुनारायणमा दैनिक चिकित्सक सेवा’ सञ्चालनः होम आइसोलेसनका सङ्क्रमितलाई सहज

शुक्रबार, २६ भदौ २०७७, १४ : ५६
शुक्रबार, २६ भदौ २०७७

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले होम आइसोलेसनमा बसेका कोभिड–१९ सङ्क्रमितका लागि ‘दैनिक चिकित्सक सेवा’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।  होम आइसोलेसनमा बसेका सङ्क्रमितले चिकित्सको परामर्श लिन नपाउने अवस्था देखिएपछि त्यसबाट हुने जोखिम न्यूनीकरण गर्न नगरपालिकाले उनीहरुका लागि दैनिक रुपमा भिडियो कल (जुम) मार्फत चिकित्सक परामर्श सेवा सञ्चालनमा ल्याएको हो । 

“होम आइसोलेसनमा बस्ने सङ्क्रमितले आफ्नो समस्या चिकित्सकसँग राख्न नपाउँदा आत्तिन सक्छन्, कतिपय सङ्क्रमितको मनोबल कमजोर हुँदा झन सङ्कट आउन सक्ने अवस्था देखिएकाले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो,” नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भने, “यो कार्यक्रममा प्रत्येक दिन साँझ ६ बजेदेखि ७ बजेसम्म एक जना चिकित्सकले होम आइसोलेसना बसेका सङ्क्रमितसँग जुममार्फत समस्या बारे छलफल गर्छन्, सबैले आ–आफ्नो अनुभव राख्छन्, त्यसपछि चिकित्सकले परामर्श दिने र आवश्यकता पर्दा औषधि समेतको अनुमति दिन सक्छन् ।”

सङ्क्रमितलाई डिप्रेसन नहोस्, आत्मबल बढोस, एक अर्काको अनुभव सुन्ने सुनाउने काम होस र समस्याको समाधान गर्न सजिलो होस भनेर शुरु गरिएको यो कार्यक्रममा सात जना चिकित्सकले निःशुल्क परामर्श दिने छन् । प्रत्येक दिन एउटा चिकित्सकको पालो आउने गरी सात दिनको तालिका बनाएर जुममार्फत होम आइसोलेसनमा रहेको सङ्क्रमितसँग स्वास्थ्य सेवाका विभिन्न पक्षमाथि छलफल तथा परामर्श गरिने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्र हाल १६ सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् । 

स्वास्थ्य सेवा परामर्शका लागि डा. यज्ञ तिमिल्सिना, डा.संजय गेलाल, डा.विवेक नेपाल, डा.श्रेया श्रेष्ठ, डा.ज्ञानेश्वर श्रेष्ठलगायत सात जनाको टोली परिचालित छन् । गत मङ्गलबारबाट शुरु भएको यो सेवामा होम आइसोलेसनमा बसेका सङ्क्रमितको प्रभावकारी सहभागिता देखिएको र उनीहरुबाट आएको सुझावका आधारमा यसलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउने नगरप्रमुख मिश्रको भनाइ छ । यसका साथै नगरपालिकाका प्रत्येक वडाका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले उनीहरूको नियमित निगरानी तथा परामर्श दिँदै आएको छ ।

यसैगरी नगरपालिकाले विदेशबाट फर्किएका नागरिकलाई राख्न ताथलीको जनकपुर इन्जिनियरिङ कलेजलाई क्वारेन्टिन बनाएको छ । आवश्यकता परेमा त्यसलाई १०० शय्याको आइसोलेसन कक्ष बनाउन सकिने गरी नगरपालिकाले तयारी गरेको छ । नगरप्रमुख मिश्रका अनुसार चाँगुनारायण इन्जिनियरिङ कलेजलाई समेत क्वारेन्टिन र आइसोलेसन कक्ष बनाउन सक्ने गरी तयारी गरेको छ । तत्काल ५०० शय्याको आइसोलेन कक्ष बनाउने तयारी नगरपालिकाको छ । 
जिल्लाको अन्य स्थानीय तहभन्दा तुलनात्मक रूपमा चाँगुनारायण नगरपालिकामा सङ्क्रमितको सङ्ख्या कम छ । अहिलेसम्म सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी बाहेक स्थानीयस्तरमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए । तीमध्ये २१ जना लक्षण देखिएका सङ्क्रमित छन् । होम आइसोलेसनमा १६ र अस्पतालमा पाँच जना सङ्क्रमित रहेको उनले बताए ।  

दुवाकोटको काठमाडौं मेडिकल कलेजलाई भक्तपुर जिल्लाका सङ्क्रमितको उपचार गर्नेगरी आइसोलेसन बनाउने प्रस्ताव भएपनि हाल सबैतिरको सङ्क्रमितको उपचार भइरहेको छ । आवश्यक पर्दा केएमसीको होस्टेललाई नै ५०० शय्याको आइसोलेसन बनाउन सक्ने गरी तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । बिरामी ओसार्नका लागि नगरपालिकाले एम्बुलेन्स तयारी अवस्थामा राखेको उहाँको भनाइ छ । 

प्रत्येक घरमा स्वास्थ्य बीमा  

नगरपालिकाले आफ्ना प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा गराउने भएको छ । सरकारले ल्याएको रु एक लाखसम्मको स्वास्थ्य बीमालाई नगरपालिकाले अनिवार्य गर्दै अनुदान दिने भएको हो । पछिल्लो समयमा विभिन्न रोगको सङ्क्रमण बढ्दै गएको र आर्थिक अभावले उपचारमा समस्या आइरहेको बताउँदै नगरप्रमुख मिश्रले स्वास्थ्य बीमामा नगरपालिकाले ५० प्रतिशत अनुदान प्रदान गर्ने जानकारी दिए ।

 नगरपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन प्रत्येक परिवारको बीमा शुल्कमा ५० प्रतिशत नगरपालिकाले अनुदान दिने कार्यक्रम ल्याएको उनले बताए । सबैलाई स्वास्थ्य बीमामा ल्याउन सके स्वास्थ्य उपचारदेखि औषधि खरिदमा समेत सहज हुने विश्वासका साथ नगरपालिकाले स्वास्थ्य बीमामा अनुदान कार्यक्रम ल्याएको उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप