शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले थला परेको पार्टी प्यालेस

झन्डै २० हजारको रोजगारी गुम्यो
शुक्रबार, २६ भदौ २०७७, १३ : ३७
शुक्रबार, २६ भदौ २०७७

बुटवल । सहरीकरण बढेसँगै विवाह, ब्रतबन्ध, विभिन्न अवसरमा गरिने भोजभतेरका लागि प्रयोग हुँदै आएका ‘पार्टी प्यालेस’ यतिबेला नराम्ररी थला परेका छन् ।

सिजनमा प्रयोग भएर अरु बेला सुनसान रहने पार्टी प्यालेस पछिल्लो ६ महिनादेखि लगातार बन्द हुँदै आएका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन र पछिल्लो समयको निषेधाज्ञाका कारण पार्टी प्यालेस लगातार बन्द हुँदै आएका छन् ।

६ महिनाभन्दा लामो समयदेखि पार्टी प्यालेसहरु बन्द हुँदा लगानी डुबेकोमात्र होइन, तिनमा आश्रित श्रमिकहरु बेरोजगार भएका छन् ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा दर्जनौँ पार्टी प्यालेस छन् । कतिपय त जग्गा भाडामा लिएर सञ्चालन भएका छन् भने आफ्नै जग्गा भएकाहरुको पनि लगानी डुब्ने अवस्था आएको सञ्चालकहरुको भनाइ छ ।

बुटवलको मिलनचोकमा रहेको एसियन होटल ंएण्ट पार्टी प्यालेसका संचालक  कुलचन्द्र पाण्डे भन्छन्, ‘अरु क्षेत्रभन्दा पार्टी प्यालेस र होटल क्षेत्रमा ठूलो असर परेको छ, हामी घर न घाटका भएका छौं ।

गत वर्ष यो बेला दैनिक रुपमा पार्टी प्यालेस तथा होटलमा कार्यक्रम हुने गरेको उनी सम्झन्छन् । सिजनमा दैनिकजसो १ लाख रुपैयाँसम्मको करोबार हुने होटल एवं पार्टी प्यालेस ६ महिनादेखि निरन्तर बन्द गरेर बैङ्कको किस्ता, कर्मचारीको खर्च, घरभाडा, सरकारलाई कर तिनुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।

बुटवलको कालिकानगरमा रहेको रोज पार्टी प्यालेसका सञ्चालन विष्णुप्रसाद चापाँगाईले यस्तो बेलामा पनि बैङ्कहरुले तारन्तार फोन गरेर कर्जा चुक्ताका लागि ताकेता गरिरहेको गुनासो गरे । ‘कारोबार छैन । चल सम्पत्तिले केही हुँदैन,’ उनले भने, ‘बैङ्कहरुले जसरी पनि किस्ता चाहियो भन्दै फोनमात्र गर्दछन् ।’

झन्डै २० हजारको रोजगारी गुम्यो

लकडाउनभन्दा अघि देशमा रोजगारी सिर्जना गर्ने सेवामूलक व्यवसायमध्ये होटल तथा पार्टी प्यालेस अग्रपंक्तिमा पर्दथ्यो । कोरोनाको महामारी भित्रिनु अघिसम्म कयौं युवालाई रोजगार दिइरहेका होटल तथा पार्टी प्यालेसहरूको व्यापार राम्रैसँग फस्टाइरहेको थियो ।

कोरोना महामारीले एकाएक सबै क्षेत्र प्रभावित तुल्यायो । सोही क्रममा होटल तथा पार्टी प्यालेसको गतिविधि शून्यमा झरेको छ ।

रुपन्देहीमा चल्तीका करिव एक सयवटा पार्टी प्यालेस छन् । त्यसैगरी क्याटरिङ्गको व्यवसायमात्र गर्ने पनि १ सयभन्दा बढी छन् । प्रत्येक पार्टी प्यालेसमा औसतमा १५ जना श्रमिक मासिक तलबमा कार्यरत छन् । यस अतिरिक्त दैनिक ज्यालादारी कामदारको संख्या पनि ठूलो हुने गर्दछ ।

होटल तथा पार्टी प्यालेसको कारोबार ठप्प हुँदा रुपन्देहीबाट २० हजारभन्दा धेरैले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी गुमाउनु परेको क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघका रुपन्देहीका अध्यक्ष लक्ष्मण पोखरेलले बताए ।

‘हामीले कम्तीमा १५ जना स्टाफलाई राख्ने र ठूला कार्यक्रम हुँदा अरु श्रमिक हायर गरेर ल्याउने गरेका थियौं,’ उनले भने, ‘खासगरी सिजनको बेला यस्तो हुने गरेको थियो । तर अहिले प्यार्टी प्यालेसको काम शून्य छ । अहिले दुई÷तीन जनामात्र कर्मचारी राखेका छौँ । खोल्ने, बन्द गर्ने र झाडु लगाउनेबाहेकका कर्मचारीको रोजगारी गुमेको छ ।’

होटल एसियन एण्ड पार्टी प्यालेसमा ८० जना मजदुर थिए । अहिले लकडाउनका कारण १३ मात्र छन् । तिनलाई पनि तलब खुवाउनका लागि समस्या भएको सञ्चालक पाण्डे बताउँछन् ।

रुपन्देहीका पार्टी प्यालेसको मात्रै छुटै संस्था छैन । केही होटल तथा रेष्टुरेष्ट व्यवसायीहरुको संघमा आवद्ध छन् भने केही क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघमा आवद्ध छन् ।

कमाउने सिजन नै गुम्यो

कोरोना संक्रमण सुरु भएको र लकडाउन लगाइएको समय होटल तथा पार्टी प्यालेसका लागि व्यापारको मुख्य सिजन थियो । चैत–वैशाखको समय विवाह, ब्रतबन्ध, भोज, सेमिनार, गोष्ठीहरु हुने समय हो । सरकारी कार्यालयको आर्थिक वर्षको समीक्षा र नया कार्य तर्जुमा गोष्ठि तथा सेमिनार गर्ने समय असार–साउन हो । यस अर्थमा चैतदेखि साउनसम्मको समय कारोबारका दृष्टिले महत्वपूर्ण रहने भए पनि उक्त अवधि शुन्य आम्दानीमै कटेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा लकडाउन चैत ११ गतेबाट शुरु भयो । वैशाख, जेठ, असारमा बिहेको लगनले पनि पार्टी प्यालेसलाई छोएन । नयाँ वर्षका अवसरमा समेत कुनै कार्यक्रम भएनन् । तीजको सिजनमा पनि पार्टी प्यालेसहरु सुनसान हुन पुगे ।

हिजोआज खासगरी सहकारी, विभिन्न संघसंस्थाका वार्षिक कार्यक्रम, सरकारी कार्यक्रम हुने समय थियो तर कोरोनाका कारण त्यस्ता कार्यक्रम पनि हुन पाएको छैन । प्रदेश सरकारका विभिन्न मन्त्रालयका कार्यक्रम पनि आर्थिक बर्षको अन्त्यतिर दैनिकजसो विभिन्न होटल तथा पार्टी प्यालेसमा हुने गर्दथे । ती सबै यसपाली छुटेको व्यवसायीहरु बताउँछन् ।

चलेमात्र हुन्छ 

अध्यक्ष पोखरेलका अनुसार बुटवलमा न्यूनतम १ करोडदेखि ५÷६ करोड रुपैयाँसम्म लगानी भएका पार्टी प्यालेस छन् । यस्ता पार्टी प्यालेसले सिजनमा दैनिक एक÷डेढ लाख रुपैयाँ कमाउने गर्दछन् ।

प्रत्येक पार्टी प्यालेसमा सेवा–सुविधाअनुसार भिन्न–भिन्न दर हुने गर्दछ । सोही अनुसार ग्राहकले आफूअनुकूलका पार्टी प्यालेस रोज्ने गर्दछन् । ठूलो लगानी गरेर राम्रो सेवा–सुविधा दिएका पार्टी प्यालेसदेखि लिएर सामान्य लगानीमा खुलेका पार्टी प्यालेससम्मले अहिले एउटै समस्या झेलिरहेका छन् । लगातारको बन्दले गर्दा एकातिर ऋणको बोझ बढेको र अर्कोतिर थोरै संख्यामा रहेका स्टाफलाई समेत तलब दिन सक्ने अवस्था नरहेको उनीहरुको गुनासो छ । यस्तो अवस्थामा लगानी उठाउनुभन्दा पनि कम्तीमा सञ्चालनमात्र गर्न पाएमा स्टार्फ खर्च, विद्युत, पानी र बैङ्कको किस्ता तिर्न सहज हुने व्यवसायीहरुको अपेक्षा छ  ।

साहुका पीडा : कोरोना पनि राज्यले केही गरेन

होटल तथा पार्टी प्यालेस सञ्चालकहरुले प्रायः बैङ्कसँग ऋण लिएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । ६ महिनाभन्दा लामो समय व्यवसाय बन्द रहे पनि बंैकहरुले ऋण र ब्याजको लागि दवाव दिँदै आएको व्यवसायीको भनाइ छ । अर्कोतर्फ सरकारलाई कर र घरधनीलाई घरभाडा बुझाउनुपर्ने दायित्वले पनि आफूलाई थिचेको उनीहरु बताउँछन् ।

रोज पार्टी प्योलेसका संचालक चापागाई भन्छन्, ‘राज्यले दिने भनेको छुट पनि कागजमा मात्र भएका छन् । हामीलाई यो अवधिसम्म विद्युतमा छुट छैन । बैङ्कको ताकेता जारी छ ।’

पार्टी प्यालेसका लगानीकर्ताहरु अहिले आर्थिक तनावमा छन् । क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यवसायी संघका जिल्ला अध्यक्ष पोखरेलले भने, ‘एक रुपैयाँ आम्दानी छैन । खर्चमात्र हुन्छ, कसरी तिर्ने हो, हामी साथीहरु तनावै तनावमा छौँ ।’

अन्य व्यापारहरुलाई विस्तारै समयसीमा मिलाउँदै सतर्कता अपनाएर स्थानीय प्रशासनले खोल्न दिएको छ । तर होटल पार्टी प्यालेसहरुका विषयमा सुनवाई भएको छैन । व्यवसायीहरु आफूलाई पनि सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न दिन माग गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप