शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

मुल्ला नसरुद्दीनको कथा : आधा मुर्ख–आधा विद्वान

शुक्रबार, २६ भदौ २०७७, १२ : ४२
शुक्रबार, २६ भदौ २०७७

नेपाल र उत्तर भारतमा अकबर बीरबलको कथा लोकप्रिय छ । दक्षिण भारतमा तेनाली रामको कथा छ । नेपाल–भारतभन्दा निक्कै पर टर्कीमा एउटा त्यस्तै लोकप्रिय पात्र छन् । उनको नाम हो– मुल्ला नसरुद्दीन ।

यी तीनवटै पात्रहरुमा एउटा समानता छः विद्वान छन्, गरिब दुःखी जनतालाई माया गर्छन् र अन्याय अत्याचारको विरोध गर्छन् ।

मुल्ला नसरुद्दीन १३ औं शताब्दीका सबैभन्दा चर्चित र विद्वान दार्शनिकहरुमध्येका एक मानिन्छन् ।

उनका किस्साहरु रोचक हुन्छन्, रमाइला हुन्छन्, हास्यरसले भरिपूर्ण हुन्छन् र सबैभन्दा मुख्य कुरा गलतको विरोधी र ज्ञानबद्र्धक हुने गर्छन् ।

यहाँ हामीले उनका एउटा त्यस्तै रमाइलो किस्सा प्रस्तुत गरेका छौं ।

दिन मुल्ला नसरुद्दीनलाई छिमेकी गाउँबाट प्रवचन दिन बोलाइयो । उनी सुखीसाथ प्रवचन दिन गए । उनको प्रवचन सुन्न ठूलो भीड जम्मा थियो । आखिर उनी त्यसबेलाका चर्चित र नाम चलेका विद्वान थिए । उनले आफ्ना प्रवचन दिन थाले । प्रवचनको बीचमा उनले देखे– मानिसहरु उनको प्रवचनमा ध्यान दिइरहेका छैनन् । त्यसैले दिक्क लागेर उनले भने– यो कस्तो प्रवचन सभा हो ? यहाँ त मुर्खहरु मात्रै जम्मा रहेछन् ।

त्यो सुन्नु के थियो, मानिसहरु होहल्ला गर्न थाले । मुल्ला नसरुद्दीन भएतिर सामानहरु जुत्ताहरु प्रहार गर्न थाले । बल्लतल्ल आयोजकहरुले उनलाई बचाएर घर फर्काए ।

त्यसको केही समय बित्यो । मानिसहरुले त्यो घटना बिर्सिए ।

फेरि केही समयपछि उनलाई सोही गाउँमा प्रवचन दिन बोलाइयो । यस पटक पनि ठूलै मानिसहरुको जमघट थियो । पहिले झै अहिले पनि मानिसहरु उनले प्रवचन दिइरहँदा प्रवचनमा ध्यान दिइरहेका थिएनन्, आआफ्नै गफमा मग्न थिए ।

मुल्लालाई रिस उठ्यो । अघिल्लो पटक पनि यस्तै अपमान, त्यो माथि उनलाई त खेदिएको थियो । अचानक मुल्लाले प्रवचनको बीचमा भने, यो प्रवचनमा उपस्थित आधा मानिसहरु विद्वान र आधा मानिसहरु मुर्ख छन् । मेरो कुरा नपत्याए हेर्नोस् है, अब केही छिनमै मुर्खहरुले मलाई जुत्ता चप्पल र सामानहरुले प्रहार गर्न थाल्नेछन् ।

तर अचम्मै, अघिल्लो पटक जस्तै यस पटक चाहिँ कसैले पनि मञ्चमा जुत्ता चप्पल र सामानहरु प्रहार गरेनन् । उपस्थित मानिसहरु एकआपसमा कानेखुसी गर्न थाले । वास्तवमा, त्यहाँ उपस्थित मानिसहरु आफूलाई मुल्लाले भनेका आधा मानिसमध्येका विद्वान सम्झिइरहेका थिए, कोही पनि आफूलाई अरुको सामु मुर्ख साबित गर्न चाहँदैन थिए ।

Title Photo: https://en.wikipedia.org

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप