शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणका लागि थप रकम निकासा

बिहीबार, २५ भदौ २०७७, १५ : ३५
बिहीबार, २५ भदौ २०७७

प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ ।
 प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशसन लगायतलाई आवश्यक रकम पठाएको हो ।
 विभिन्न पालिका तथा अस्पतालहरुलाई प्रदेश सरकारले एक करोड १० लाख रकम पठाएको छ । 

मोरङ्गका सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०–१० लाख, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५–५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको हो । त्यस्तै चौदण्डीगढी नगरपालिकालाई १० लाख, गौरीगञ्ज र कमल गाउँपालिकालाई ५–५ लाख रकम प्रदेश सरकारले पठाएको छ । 

इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख रकम पठाएको छ । सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसर भित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो । 

स्थानीय पालिकाहरुको आवश्यकता र माग बमोजिक प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताए ।  कोभिड महामारीलाई पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप