शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतः बक्स अफिसमा सफलतादेखि विवादको ‘क्विन’ सम्म

बिहीबार, २५ भदौ २०७७, १५ : ०६
बिहीबार, २५ भदौ २०७७

कंगना रनौत हिन्दी फिल्म इन्डष्ट्रिको एउटा यस्तो नाम हो जो सधैं चर्चामा रहेको छ, सधैं विवादमा रहेको छ, कहिले आफ्नो अभिनयका लागि त कहिले लडाईं–झगडाका लागि ।

हिमाचल प्रदेशमा जन्मिएकी कंगनाले जब अभिनय गर्ने योजना बनाइन् तब सबैभन्दा पहिले उनले थिएटर डायरेक्टर अरविन्द गौडसँग दिल्लीमा अभिनयको गुण सिकिन्, त्यसपछि मुम्बईतिर लागिन् ।

मुम्बईमा आएपछि कंगनाको संघर्षको दिन सुरु भयो तर उनले साथ पाइन् आदित्य पंचोलीको । दुबैको दोस्तीको निकै चर्चा भयो र कंगनालाई आदित्यकी प्रेमिकासमेत बताइयो ।

गन्तव्यको खोजी गर्दागर्दै उनको भेट फिल्म निर्माता महेश भट्टसँग भयो जसले सन् २००६ मा अनुराग बसुको निर्देशनमा बनेको फिल्म ‘ग्याङ्गस्टर’ मा कंगनाले मुख्य भूमिका दिए ।

यो पहिलो फिल्मको भूमिकाले नै कंगनालाई चर्चित बनायो किनभने यो भूमिकालाई परवीन बबीको जीवनसँग प्रेरित भएको बताइयो । कंगनाले आफ्नो पहिलो फिल्ममा नै यति उत्कृष्ट अभिनय गरिन् कि यसले वाहवाही मात्रै पायो । उनले फिल्मफेयरको बेस्ट डेब्यू अवार्ड पनि पाइन् । त्यसपछि कंगनाले कहिले पनि पछाडि फर्केर हेर्नुपरेको छैन ।

सन् २००७ मा कंगनाको ‘वो लम्हे’ र ‘लाइफ इन ए मेट्रो’ जस्ता फिल्म आए तर सन् २००८ को फिल्म ‘फेशन’ ले कंगनालाई भिन्न पहिचान दिलायो । मधुर भंडारकरको फिल्म फेशनले इन्डष्ट्रिकै कहानी बयान गरिरहेको थियो जसमा प्रियंका चोपडा मुख्य भूमिकामा थिइन् ।

यो फिल्ममा कंगनाको भूमिका छोटो थियो तर त्यो छोटो भूमिका यति बलियो बन्यो कि उनले सपोर्टिङ भूमिकाका लागि राष्ट्रिय पुरस्कार पाइन् । त्यसै वर्ष उनको फिल्म ‘राज–थ्री’ रिलिज भएको थियो ।

सन् २००८ मा कंगना पुनः चर्चामा आइन् । यतिबेला उनी आफ्नो सम्बन्धका कारण चर्चित भइन् । राज–थ्रीका हिरो अध्ययन सुमनसँग उनको सम्बन्धको खबर हेडलाइन बन्न सुरु गरे तर उनीहरुको सम्बन्ध केही समयमा नै टुट्यो । कंगनाले बलिउडमा राम्रो स्थान बनाइसकेकी थिइन् तर उनको एकै प्रकारको भूमिका निर्वाह गरेको भन्दै आलोचना पनि हुने गर्दथ्यो ।

हुन त यो वास्तविकता पनि हो फिल्म इन्डष्ट्रिमा जब कुनै भूमिका वा फर्मुला हिट हुन्छ तब त्यसको लाइन लाग्छ । कंगनासँग पनि यस्तै भइरहेको थियो तर भनिन्छ कि भाग्यमा भएको कुरा कसै गरी मेटिन्नँ ।

कंगनाको सामुन्ने सन् २०११ मा रोमान्टिक कमेडी फिल्म ‘तनु वेड्स मनु’ आयो । कंगनाले यो मौकालाई हातबाट जान दिइनन् र यो फिल्मले कंगनाको करियरलाई नयाँ मोड दियो । यो फिल्मको सिक्वेलले ठूलो सफलता पायो र सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय सम्मान उनले पाइन् ।

यो दुबै फिल्मले बक्स अफिसमा सफलता पाउनुका साथै दर्शक र समीक्षकको तारिफ हासिल गर्यो । यो फिल्मको निदेर्शन आनन्द एल रायले गरेका थिए  र कंगनासँग आर माधवन मुख्य भूमिकामा थिए ।

सन् २०१४ मा कंगनालाई बक्स अफिसको क्विन बनाइयो । यसै वर्ष फिल्म ‘क्विन’ रिलिज भयो र कंगनाले बलिउडमा आफ्नो सफलताको नयाँ कथा लेखिन् । विकास बहलद्वारा निर्देशित यो फिल्मले पनि कंगनालाई राष्ट्रिय पुरस्कार दिलायो ।

भाग्यले कंगनालाई साथ दिइरह्यो र हरेक २–४ वटा फ्लप फिल्मपछि उनको करियरमा एउटा यस्तो फिल्म आइरह्यो जसले कंगनालाई शीर्ष स्थानमा राख्न सफल भयो । ‘मणिकर्णिका’ मा कंगना झांसीकी रानी बनिन् । यो फिल्मको निर्देशन पनि कंगनाले नै गरिन् ।

सुरुवातदेखि नै कंगनाले जतिजति सफलताको सिँढी चढिन् त्यति नै विवादकी रानी पनि बनिरहिन् । कंगनाले ती मानिसहरुलाई पनि निशानामा पारिन् जसले उनको करियरमा योगदान दिए । ग्याङ्गस्टर, लाइफ इन ए मेट्रोको सफलतापछि कंगनाले आदित्य पंचोलीविरुद्ध प्रहरी स्टेशनमा ऊजुरी दर्ता गरिन् र उनीमाथि रक्सी पिएर शारीरिक उत्पीडन गर्ने गरेको आरोप लगाइन् । यद्यपि, आदित्य पंचोलीले कंगनाको संघर्षमा साथ दिएका थिए । यो मुद्दा त्यतिबेला निकै चर्चामा थियो ।

सन् २०१० मा फिल्म ‘काइट्स’ फ्लप हुँदा कंगना निर्देशक अनुराग बसुसँग भिडिन् जो उनको पहिलो फिल्म ग्याङ्गस्टरका निर्देशक थिए । कंगनाले काइट्समा जति ठूलो भूमिका बताइएको थियो त्यति नभएको आरोप लगाएकी थिइन् ।

फिल्म राज–थ्रीको सफलतापछि अध्ययन सुमनसँग ब्रेकअप भयो र कंगना विवादमा रहिन् । ऋतिक रोशनसँग झगडाको खबरसँग पनि संसार परिचित छ । कंगनाले ऋतिकमाथि विभिन्न आरोप लगाएकी थिइन् ।

ऋतिक रोशनमाथि कंगना यति उग्र भएकी थिइन् कि यो मुद्दा प्रहरी स्टेशनसम्म पुगेको थियो । कंगना र ऋतिकको त्यो लडाईंमा अध्ययन सुमनले पनि ऋतिकको समर्थन गर्दै कंगनाले कस्तो प्रकारको यातना दिने गर्थिन् भनेर जानकारी दिए ।

ऋतिकपछि कंगना करन जोहरको पछि लागिन् । करण जोहरलाई ‘मुभी माफिया’ नाम दिइन् । करन जोहरमाथि नेपोटिजमको आरोप लगाइन् र हरेक दिन करनलाई लडाईंको मैदानमा तानिन् । यद्यपि, करन जोहर भने विवादबाट टाढै बसे । हुन त करनसँग कंगनाले पनि काम गरिसकेकी छिन् फिल्म ‘उंगली’ मा जुन असाध्यै फ्लप भएको थियो ।

फिल्म तनु वेड्स मनुजस्ता फिल्मका निर्देशक आनन्द एल राय, जसले कंगनाको करियरलाई नयाँ मोडमा पुर्याए, उनीसँग पनि कंगनाको ठाकठुक पर्यो र मिडियामा लगातार अब कंगना आनन्दसँग काम नगर्ने भन्ने खबर आए । सन् २०१५ पछि यी दुई सँगै देखिएका पनि छैनन् ।

फिल्म ‘सिमरन’ को रिलिज अघि पनि कंगना चर्चामा आइन् । फिल्मका वास्तविक लेखक अपूर्व असरानी थिए तर कंगनाले आफ्नो नाम पोस्टरमा लेखिदिइन् ।

सन् २०१८ मा जब मी टू अभियान सुरु भयो तब कंगनाले इन्डष्ट्रिमाथि निशाना लगाइन् । उनले फिल्म क्विनका निर्देशक विकास बहलमाथि पनि आरोप लगाउँदै भनिन्, ‘विकास हामीसँग अचम्म तरिकाले अँगालो हाल्थे र तिम्रो कपालबाट कति मिठो बास्ना आइरहेको छ भन्थे ।’

फिल्म मणिकर्णिकाको सुटिङका बेला यतिसम्म भयो कि फिल्ममा महत्वपूर्ण भूमिका निभाउन लागेका सोनू सूदले फिल्म छोडिदिए । यहाँसम्म कि फिल्मका निर्देशक कृषले पनि बीचमा नै फिल्म छोड्नुपर्यो । पछि यो फिल्मको निर्देशन कंगना आफैंले गरिन् ।

कंगना रनौतलाई फिल्म लाइनमा आउनु अघि नै राम्रो सँग थाहा थियो कि उनी क्यामरामा कसरी आउनुपर्छ, उनले कसरी चर्चा पाउनेछिन् । जब फिल्म ग्याङ्गस्टरको रिलिज पछि स्तम्भकार उनको पहिलो पटक अन्तरवार्ता गर्न गएका थिए तब त्यतिबेला उनी फिल्म ‘वो लम्हे’ को सुटिङ गरिरहेकी थिइन् ।

स्तम्भकारले भने, ‘मलाई राम्रोसँग याद छ कि निकै राम्रो फ्रेम बनाएर क्यामरा राखिएको थियो तर उनले क्यामराको सेटअप परिवर्तन गरिदिइन् किनभने उनलाई आफ्नो दाहिने साइडको प्रोफाइल दिनु थिएन ।’

फिल्म मणिकर्णिकाको शुभ मुहूर्त बनारसको ८० घाटीमा भएको थियो जहाँ मणिकर्णिकाको बाल्यकाल बितेको थियो ।

त्यो घाटमा गंगाको आरती मात्रै हेर्नु थियो तर कंगना कुनै कार्यक्रम बिना नै पानीमा गइन् र गंगामा डुबुल्की लगाइन् । उनलाई थाहा थिया कि गंगामा डुबुल्की लगाएको दृश्य मिडियामा निकै चल्नेछ । र यस्तै भयो त्यो डुबुल्की हेडलाइन बन्यो ।

विभिन्न विवादबारे प्रश्न सोध्दा उनले कुनै शंका बिना बिन्दास भएर भन्ने गर्छिन्, ‘म जे छु, आफ्नै बलबूँतामा बनेकी छु त्यसैले कसैको वास्ता गर्दिनँ ।’

सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाको व्यवहार थप कडा बनेको छ । उनले पूरा फिल्म इन्डष्ट्रिलाई कटाक्ष गरिरहेकी छिन् । कंगनाले एकपटक पुनः नेपोटिजम र मुभी माफियाको विषयलाई उठाएकी छिन् । करन जोहर, सलमान खान, शाहरुख खान र आमिर खान सबैजना उनको निशानामा छन् ।

यतिमात्रै होइन, उनले महेश भट्टसँग पनि झगडा गरिन् जसले उनलाई पहिलो मौका दिए र ग्याङ्गस्टर, वो लम्हे र राज–थ्री जस्ता सफल फिल्मका हिस्सा बनाए । सुशान्तको मृत्यु प्रकरणमा जब ड्रगको कुरा आयो तब बलिउडमा ९९ प्रतिशत मानिसहरु लागुऔषधको सेवन गर्ने आरोप लगाइन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप