केन्द्रीय संस्करण

भुइँमान्छेको पर्व : जितिया

person explore access_timeभदौ २५, २०७७ chat_bubble_outline0

सांस्कृतिक सम्पदाहरूको अजस्र स्रोत भएको मिथिलामा अनेक चाडपर्वहरू मानिस र प्रकृतिबीचको सम्बन्ध–सेतु बनेर जीवन्त छन्  । यहाँका प्रायजसो आध्यात्मिक क्रियाकलापहरू शास्त्रसँगै जोडिएका भए पनि लोकहितका सन्दर्भहरूलाई समय सापेक्ष ढङ्गले प्रासङ्गिक हुनेगरी तिनले डोर्याएका छन्  । जितिया, छठी, चौरचन जस्ता मिथिलामा निकै नियम–निष्ठापूर्वक कठोर उपवास गरेर मनाइने पर्वहरू परिवारको कल्याण, आरोग्य, सुख (समृद्धि, सन्तानको दीर्घायु जस्ता मनोकामनाले मनाउने गरिन्छ तर यिनले लोकसँग जोडिएर जे–जस्ता पक्षको संरक्षण तथा  सम्मान गरेका छन्, तिनले समस्त समाज तथा लोककै कल्याणमा महत्त्वपूर्ण योगदान दिँदै आएको मान्न सकिन्छ  । 

अहिले सन्दर्भ जितिया पर्वको चलिरहेको छ  । लोककल्याणका यावत पक्षहरूलाई सांस्कृतिक आवरणमा सरंक्षण दिँदै आएको मिथिला समाजका हरेक जातिमा यो पर्व मनाउने गरिन्छ । यहाँ मिथिला भन्नाले प्राचीन मिथिलाको सीमाभित्र पर्ने भूभागलाई बुझ्नुपर्ने हुन्छ । मिथिला भनेपछि अहिले जनकपुर छेउछाउको क्षेत्रलाई मात्र बुझ्ने प्रकृतिको बुझाइ पनि छ । तर यहाँ बृहत् विष्णुपुराणमा मिथिला भनेर वर्णन गरिएको भूक्षेत्रलाई मिथिलाको रूपमा मानिएको छ । बृहत् विष्णुपुराणमा भनिएको छ—

कौशिकीन्तु समारभ्य गण्डकीमधिगम्यवै ।
योजनानि चतुर्विशंद् व्यायामः परिकीत्र्तितः ।। गंगाप्रवाहमारभ्य यावद्धैमवतंवनम् ।
विस्तारः षोडश प्रोक्तो देशस्य कुलनन्दन ।
मिथिलानाम नगरी तत्रास्ते लोक विश्रुता ।।

यस आधारमा पूर्वमा कोसी, पश्चिममा गण्डक, उत्तरमा वन–पर्वत र दक्षिणमा गङ्गाबीचको भूभाग मिथिला हो । यो जितिया पर्व उल्लिखित भूभागबीच मुख्य रूपले प्रचलित रहेको छ । नेपालको सन्दर्भमा नारायणी नदीदेखि कोसी (साविक) नदीसम्मको मैदानी भूभाग यस आधारमा प्राचीन मिथिलाभित्र पर्दछ । यसरी तराईका चितवनदेखि पूर्व झापासम्मका जिल्लाहरूमा जितिया पर्व भव्य रूपले मनाउने गरिन्छ । सांस्कृतिक रूपले बृहत् भूभागमा आआफ्नै नाम र प्रकारले जितिया पर्व मनाउने गरिए पनि मिथिलाको मूल चिनारी बोकेको मैथिली भाषी क्षेत्रमा यस पर्वको व्यापकता बढी देखिन्छ । यस भूभागभित्रका थारू समुदायमा जितियाको उल्लास र रौनक अझ बढी पाउने गरिन्छ । थारू लगायतका जनजातीय समुदायमा जितिया पर्व धार्मिक अनुष्ठान र सांस्कृतिक पर्वका रूपमा मात्र सीमित नरहेर विशिष्ट उत्सवको रूपमा मनाउने गरिन्छ । यसमा पुजिने जिमूतवाहनलाई लोकभाषामा जितमहान वा जितवाहन पनि भनिन्छ भने जीवितपुत्रिका व्रत कालान्तरमा जितिया नामले प्रसिद्ध भएको पाइन्छ । चितवनमा थारू जातिमा मात्र देखिने जितियाको प्रभाव तथा प्रचलन पूर्व लाग्दै जाँदा भोजपुरी भाषी क्षेत्रमा जिउतिया नामले प्रचलित रहेको पाइन्छ । रौतहटदेखि पूर्व झापासम्म भने प्रायः सबैले जितिया नै भन्ने गर्दछन् । 


जितिया पर्व मनाउने तरिका तथा यसमा उपयोग हुने सामग्रीहरूबारे सरसरी हेर्दा यसलाई भुइँमान्छेको पर्वभन्दा फरक पर्दैन । प्रायः हिन्दु धर्म मान्नेहरूको प्रत्येकजसो पर्वमा स्वच्छता, पवित्रता, नियम–निष्ठा आदिमा धेरै नै विचार पुर्याउने गरिन्छ । तर जितिया पर्वमा श्रद्धा– निष्ठा– समर्पण यथेष्ट पाइए पनि यसको व्रत सुरु गर्नुअघि खाइने खाद्यवस्तुको प्रकृति भने अरू चाडवाडभन्दा सर्वथा फरक छ ।


जितिया निष्ठापूर्वक मनाइने अत्यन्तै महत्त्वपूर्ण पर्व भए पनि सम्बन्धित क्षेत्रका पनि सबैले भने मनाउँदैनन् । यो प्रायः सन्तानवती महिलाहरूले सन्तानको शुभ–मङ्गल –कामनाका साथ मनाउने गर्दछन् । केही वर्षअघिसम्म पुत्रको जीवन–रक्षा तथा मङ्गलका लागि मात्र भन्ने गरिएको यो पर्व अब भने सन्तानका लागि अर्थात् पुत्र–पुत्री दुवैका लागि आमाहरूले मनाउन थालेका छन् । यसबाट हाम्रो मनमस्तिष्कमा रहेको लैङ्गिक असमानताको खाडल पनि बिस्तारै पुरिन थालेको मान्न सकिन्छ ।

जितिया पर्व मनाउने तरिका तथा यसमा उपयोग हुने सामग्रीहरूबारे सरसरी हेर्दा यसलाई भुइँमान्छेको पर्वभन्दा फरक पर्दैन । प्रायः हिन्दु धर्म मान्नेहरूको प्रत्येकजसो पर्वमा स्वच्छता, पवित्रता, नियम–निष्ठा आदिमा धेरै नै विचार पुर्याउने गरिन्छ । तर जितिया पर्वमा श्रद्धा– निष्ठा– समर्पण यथेष्ट पाइए पनि यसको व्रत सुरु गर्नुअघि खाइने खाद्यवस्तुको प्रकृति भने अरू चाडवाडभन्दा सर्वथा फरक छ । जहाँ अरू उपवासजन्य पर्वमा व्रत बस्नु केही दिनअघिदेखि नै चोखो–नितो खाने, पवित्र भएर बस्ने जस्ता प्रक्रिया अपनाइन्छन्, त्यहीँ जितियाको व्रत सुरु हुनुअघि मांसाहार गर्ने व्रतीहरूले अनिवार्य रूपले माछा खाने गर्दछन् । त्यही पनि केही वर्षअघिसम्म समाजमा सबैभन्दा अधम मानिने अनाज मडुआ (कोदो) का साथ । पारम्परिक रूपमा यी खाद्यवस्तुहरू छोइछिटो मानिने वा अपवित्र कहलिनेमा पर्दछन् ।

तर पनि माछा र कोदोको प्रयोगलाई जितिया पर्वको विधानअन्तर्गत नै अनिवार्य पारिएको छ । कतिपय व्यक्तिले त यसलाई माछ–मडुआ पवनी समेत भन्दछन् । झण्डै दुई दिनको पूर्णतः निराहार, निर्जला व्रतको प्रारम्भ नै माछा अनि कोदो खाएर गरिने कुरा अन्यत्रका हिन्दु पण्डितहरूले सुन्ने हुन् भने तिनका लागि यो आठौँ आश्चर्यको कुरा हुन सक्दछ । तर मिथिलामा जितिया पर्वको सुरुवात माछा र मडुआ खाएरै गरिन्छ । जितियाको व्रत सुरु हुनु अघिल्लो दिनलाई ‘माछ–मडुआ’ भनेर सम्बोधन गर्ने गरिन्छ । 

माछ–मडुआ वस्तुतः स्थानीय उत्पादनको प्रयोग तथा प्रवद्र्धनलाई टेवा दिने तत्कालीन एउटा रणनीतिक उपक्रम पनि हुन सक्दछ । मिथिलामा नदी तथा पोखरीहरूको पर्याप्तताले गर्दा त्यहाँ माछाको उत्पादन यथेष्ट हुन्थ्यो । त्यसैगरी नदीहरू प्रायजसो अराजक रूपले मनलाग्दी बाटो भएर बग्ने गर्दा प्रायः कृषियोग्य भूमि बालुवाले पुरिन्थ्यो । यस्तो बलौटे माटोमा कोदोबाहेक अरू बाली प्रायः सप्रिन्नथ्यो । सिँचाइ सुविधा नभएको जमिनमा पनि कोदोको उत्पादन राम्रो हुने हुनाले मिथिला क्षेत्रको प्रमुख उत्पादन कोदो हुने गर्दथ्यो । तर उत्पादन बढी हुने भए पनि कोदो सम्मानजनक आहार भने बन्न सकेको थिएन । प्रायः कमजोर आर्थिक हैसियत भएकाको खानाको रूपमा यसलाई लिने गरिन्थ्यो । यस्तो अवस्थामा जितिया जस्तो महत्त्वपूर्ण पर्वसँग यसलाई जोडिदिँदा आफूलाई सम्भ्रान्त भन्नेहरूले समेत भगवान् जिमुतवाहनकै नाममा भए पनि कोदो खान थाले । यसबाट भूमिअनुसारको उत्पादन हुने र स्वास्थ्यका लागि समेत लाभदायक कोदोको खेतीले निरन्तरता पाइराख्ने धारणा यसको पछाडि रहेको हुन सक्दछ । 


पुरुषप्रधान समाजमै समेत लैङ्गिक समानता प्रवद्र्धन गर्ने एक विशिष्ट पाटोका रूपमा पनि जितिया पर्वलाई लिन सकिन्छ । यसलाई जितिया पर्वले सँगालेको एउटा विशिष्ट सांस्कृतिक प्रक्रिया मान्न सकिन्छ । पितृपक्षमा पितृलाई मात्र श्रद्धा गरिने कुरा सर्वविदित छ । तर जितिया पर्वमा मातृ पक्षलाई पनि श्रद्धा–सम्मान गर्ने परम्परा मिथिलाले जोगाएर राखेको छ । माछ–मडुआको दिन जितियाको व्रत बस्ने महिलाहरूले आफ्ना दिवङ्गत सासूका साथै दिवङ्गत आमा तथा अन्य पूज्य महिलाहरूप्रति श्रद्धास्वरूप ‘पितराइन’ ख्वाउने गर्दछन् । 


स्वास्थ्यका दृष्टिले माछा र कोदो लाभकारी खाद्यवस्तु भएको कुरा विभिन्न अनुसन्धानहरूबाट प्रमाणित भएको हामी पढ्न, सुन्न पाउँछौँ । जनस्वास्थ्यका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार अतुल मिश्रले कान्तिपुर दैनिकमा ‘कोदोले सार्छ बुढ्यौली’ शीर्षक आफ्नो एक लेखमा यसलाई भविष्यको ‘स्मार्टफुड’ भन्दै प्रोटिन, भिटामिन, ऊर्जा र खनिजको प्रमुख स्रोतका रूपमा कोदोलाई चित्रित गरेका छन् । त्यस लेखमा उनले कोदोका अनगन्ती फाइदाहरू उल्लेख गरेका छन् । जितियाको व्रत सुरु हुनुअघि यसको सेवनको परिपाटीलाई भने यसबाट प्राप्त हुने ऊर्जासँग जोडेर हेर्न सकिन्छ । अर्थात् कोदो जस्तो अडिलो खाद्य खानाले यो कठिनतम उपवास सजिलै पार लाग्न सकोस् । तर विडम्बना के छ भने अचेल कतिपय व्यक्तिले यसको कर्मकाण्डीय व्याख्या गर्दै यसलाई पुनः बिटुल्याउने खालेका क्रियाकलाप गर्न थालेका छन् ।

उनीहरूको तर्क हुन्छ– यति ठूलो पर्वमा माछा र कोदोजस्तो अशुद्ध खानेकुरा पनि कहीँ खान हुन्छ ? यस प्रकार जितियाको मूल वैशिष्ट्यलाई नै यससँग अलग्याउने प्रयास पनि हुन थालेको छ । तर यसको महिमालाई कसरी हेर्नुपर्छ भने साकाहारीहरूले माछा नखाए पनि कोदो चाहिँ यस पर्वको पूर्वसन्ध्यामा अवश्य नै खाने गर्दथे । अचेल जितिया पर्वको सन्दर्भमा कतिपय महिला सङ्घ– सङ्गठनहरूले फुड फेस्टिबल वा जितिया मिलन समारोह आयोजना गर्दा बाँकी सबै कुरा आधुनिक शैलीका राखे पनि माछा र कोदोको रोटी भने मेनुमा अतिरिक्त र विशिष्ट सामग्रीका रूपमा राखेकै हुन्छन् । यसरी के देखिन्छ भने सामान्यतया शरीरलाई आवश्यक हुने सम्पूर्णप्रायः पोषकतत्त्व भएको माटोसुहाउँदो उत्पादन वा खाद्यपदार्थको उपभोगलाई महत्त्व दिने परिपाटीलाई मिथिलाले आफ्नो सांस्कृतिक संविधानमै सुनिश्चित गरेको थियो । 

जितियाको पूजामा आवश्यक हुने वस्तुहरूमा समेत फरक किसिमका सामग्रीहरू, जस्तै– घिरौँलाको पात, घिरौँलाको फूल, तोरीको तेल, खरी (पिना), बाँसको पात आदिको प्रयोग हुने गर्दछ । जितियाका लागि व्रतालुहरूले पूजा–सामग्रीका रूपमा सातथरी फलफूल वा खाद्यपदार्थ चढाउने गर्दछन् । यसमा नरिवल, काँक्रा, भिजाएर ढड्याइएको केराउ लगायतका सामग्री हुन्छन् । यी सामग्रीहरू राखेर भरिने डालोमा बाँसको पात, केराको पात, जिम्हरको पात, मान (पान होइन) को पात आदि सातथरि वनस्पतिका पात राख्ने गरिन्छन् । यसले आफ्नो वरपर भएका वानस्पतिक सम्पदाहरूको टेवालाई बल पुर्याइरहेको हुन्छ । यसबारे शास्त्रीय पक्षले बोलेको खासै पाइँदैन तर आफ्नो स्थान, क्षेत्र, परिवेशका उत्पादन तथा साधनहरूलाई विविध ठाउँमा उपयोग गरेर तिनलाई समुचित सम्मान दिने निहितार्थ यस्ता प्रक्रियाहरूको रहेको भन्न सकिन्छ । 

व्रतालुहरूले माछ– मडुआका दिन सामान्यतया तेल, पिना, घिरौँलाका फूल आदि चढाउनुभन्दा अघि पोखरीमा स्नान गर्ने चलन छ । यसैगरी उपवास गरी पर्वको मुख्य दिन साँझपख गरिने जिमूतवाहनको पूजा पनि पोखरीकै डिलमा गरिन्छ । जितियाको पूजामा आउने यी विविध वनस्पति, जीवजन्तु तथा पोखरी आदिको प्रसङ्गले हाम्रो इकोसिस्टमलाई मिथिलावासीहरूले सदियौँदेखि कायम राख्न आफ्ना चाडवाडमार्फत समेत योगदान दिँदै आएको स्पष्ट हुन्छ ।    

पुरुषप्रधान समाजमै समेत लैङ्गिक समानता प्रवद्र्धन गर्ने एक विशिष्ट पाटोका रूपमा पनि जितिया पर्वलाई लिन सकिन्छ । यसलाई जितिया पर्वले सँगालेको एउटा विशिष्ट सांस्कृतिक प्रक्रिया मान्न सकिन्छ । पितृपक्षमा पितृलाई मात्र श्रद्धा गरिने कुरा सर्वविदित छ । तर जितिया पर्वमा मातृ पक्षलाई पनि श्रद्धा–सम्मान गर्ने परम्परा मिथिलाले जोगाएर राखेको छ । माछ–मडुआको दिन जितियाको व्रत बस्ने महिलाहरूले आफ्ना दिवङ्गत सासूका साथै दिवङ्गत आमा तथा अन्य पूज्य महिलाहरूप्रति श्रद्धास्वरूप ‘पितराइन’ ख्वाउने गर्दछन् । 
यस प्रकार जितिया पर्वले ठूलठूला सन्देश जान सक्ने समाजका ससाना पक्षहरूलाई मसिनो पाराले कोट्याउँदै मानवीयता, समानता, प्राकृतिक सन्तुलन जस्ता पक्षको संरक्षण तथा प्रवद्र्धन गर्ने परम्परालाई आधारभूमि प्रदान गर्दै आएको छ । 

dhipre@gmail.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.