शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपामा झगडाको जड बन्दै राजपा

बिहीबार, २५ भदौ २०७७, ०९ : ०३
बिहीबार, २५ भदौ २०७७

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालको समायोजन प्रक्रिया अल्झिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका कारण समायोजन प्रक्रिया प्रभावित भएको हो ।

तत्कालीन राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको जसपा नेपालमा समायोजन प्रक्रिया चुनौतीपूर्ण मानिँदै आएको छ । तत्कालिन राजपा नेपालको ६ सदस्यीय अध्यक्षमण्डलबीच भागबण्डामा कुरा नमिलेपछि जसपा नेपालको समायोजन प्रक्रिया प्रभावित भएको हो ।

जसपा नेपालको केन्द्रीय कार्यसमिति ७५१ सदस्यीय रहने छ । जसमध्ये कार्यकारिणी समितिका ५१ जना चयन भइसकेका छन् । बाँकी ७०० सदस्यमध्ये तत्कालीन राजपा नेपालबाट ३५० र समाजवादी पार्टीबाट ३५० जना रहनेछन् ।

स्रोतका अनुसार केन्द्रीय समितिमा महन्थ ठाकुर र राजेन्द्र महतोले ९५–९५ जना राख्दा महेन्द्र राय यादव र शरतसिंह भण्डारीका ४४–४४ र अनिलकुमार झा र राजकिशोर यादव पक्षका ३०–३० जना राख्नेगरी भागबण्डा मिलाइएको छ । तत्कालीन राजपा नेपालसँग एकीकरण भएका दुई साना दलका ५–५ जनालाई पनि केन्द्रीय कार्यसमितिमा स्थान दिइने भएको छ ।

तत्कालिन राजपा नेपालको कोटामा परेको ३५० सिटमध्ये जसपा नेपालको केन्द्रीय समितिमा महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्ना मान्छे बढी राखेको भन्दै महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादवले आपत्ति जनाएका छन् ।

स्रोतका अनुसार केन्द्रीय समितिमा महन्थ ठाकुर र राजेन्द्र महतोले ९५–९५ जना राख्दा महेन्द्र राय यादव र शरतसिंह भण्डारीका ४४–४४ र अनिलकुमार झा र राजकिशोर यादव पक्षका ३०–३० जना राख्नेगरी भागबण्डा मिलाइएको छ । तत्कालीन राजपा नेपालसँग एकीकरण भएका दुई साना दलका ५–५ जनालाई पनि केन्द्रीय कार्यसमितिमा स्थान दिइने भएको छ ।

महेन्द्र राय यादव, राजकिशोर यादव र अनिलकुमार झाले महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका ९५–९५ को भागबण्डालाई स्वीकार गर्न नसकिने भन्दै विरोध गर्दै आएका छन् । डाडुपन्यु आफ्नै हातमा भएकै कारण जे पनि गर्न नपाइने भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

यसअघि कार्यकारिणी समितिको अधिकांश सदस्य पद राजेन्द्र महतो र महन्थ ठाकुरले आफ्ना व्यक्ति राखेर कब्जा गरेको भन्दै असन्तुष्टि प्रकट भएको थियो ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव पार्टी अध्यक्ष तथा अशोक राई, डा.बाबुराम भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेता गरि पाँच जना पदाधिकारी छन् । कार्यकारिणी समितिमा राजपाबाट प्रतिनिधित्व गर्ने २६ जनामध्ये महन्थ ठाकुरले आफूसहित आफ्नै पक्षका १० जना राखेका छन् भने राजेन्द्र महतोले आफूसहित आफ्नो पक्षका ९ जना राखेका छन् ।

बाँकीमध्ये महेन्द्र राय यादव पक्षका ३, शरतसिंह भण्डारी पक्षका २ जना राखिएकोमा राजकिशोर यादव र अनिलकुमार झाको खेमाबाट एकजना पनि नराखिएको भन्दै विरोध भयो । त्यसपछि महन्थ ठाकुरले आफ्नो पक्षबाट विजयकुमार सिंह र रामकुमार ओझालाई हटाएर अनिलकुमार झा र राजकिशोर यादवका एक–एकजना राखेका थिए ।

त्यतिबेला तत्कालका लागि विवाद सामसुम भए पनि अहिले केन्द्रीय समिति गठन हुन लाग्दा पुनः त्यही विवाद सतहमा आएको छ ।

महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारीले आ–आफ्नो भागवण्डा अनुसार नामावली तयारी गरिसकेका छन् । तर महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादवले आफ्नो पक्षको नामावली हालसम्म तयार गरेका छैनन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले भागबण्डा अनुसार आ–आफ्नो नामावली बुझाउने हो भने बुझाउनुस् नत्र आफूलाई प्राप्त नामावली पार्टीलाई बुझाउँछौ भनेर महेन्द्रराय यादव पक्षलाई चेतावनी दिएका छन् । यता, भागवण्डा नसच्चिएसम्म उनीहरु अध्यक्ष ठाकुरलाई नामावली बुझाउने पक्षमा छैनन् । उनीहरुले तत्कालीन राजपा नेपालको अध्यक्षमण्डलको बैठक बोलाएर भागवण्डामा पुनः छलफलको माग गरिरहेका छन् । तर केही दिनदेखि महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारी घरबाट बाहिर निस्किएका छैनन् । स्वास्थ्यमा समस्या देखाउँदै उनीहरु घरबाट ननिस्किएका कारण छलफलसमेत हुन सकेको छैन ।

अझै केही दिन अध्यक्षमण्डलको बैठक बसेन भने महेन्द्र राय यादवहरुले आफ्नो नामावली जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलाई बुझाउने मनस्थिति बनाएका छन् ।

यता, अध्यक्ष उपेन्द्र यादवले समायोजन प्रक्रिया चाँडो टुङ्ग्याउन जरुरी रहेको भन्दै नामावली बुझाउनका लागि महन्थ ठाकुरलाई दबाब दिँदै आएका छन् । केन्द्रीय कार्यसमिति चयनमा ढिलाइ भएको भन्दै अध्यक्ष यादवले नामावली नआएको अवस्थामा तत्कालिन समाजवादी पार्टीका तर्फबाट केन्द्रीय सदस्य रहनेहरुको नाम घोषणा गरेर केन्द्रीय कार्यसमितिलाई एउटा आकार दिने चेतावनी दिएका छन् ।

तर यसमा अध्यक्ष उपेन्द्र यादव सकारात्मक देखिएका छैनन् । उनले यति धेरै वरिष्ठ नेता बनाउने हो भने बाहिर राम्रो सन्देश नजाने भन्दै त्यस्तो नगर्न राजपा नेपालका नेताहरुलाई आग्रह गरेका छन् । यी चारजनालाई वरिष्ठ नेता बनाइयो भने जसपा नेपालमा सातजना वरिष्ठ नेता हुनेछन् । यसअघि डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको थियो ।

वरिष्ठ नेतामा चार जना

राजपा नेपालको अध्यक्ष मण्डलमा रहेका ६ जनामध्ये महेन्द्रराय यादव, शरसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवलाई वरिष्ठ नेता बनाउने प्रस्ताव महन्थ ठाकुरले गरेका छन् । पार्टी समायोजनको क्रममा पदाधिकारी चयन भइरहेको बेला उनीहरुलाई पनि वरिष्ठ नेता नै राख्न प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।

महेन्द्रराय यादव, शरसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव पनि राजपा नेपालका अध्यक्ष थिए । अध्यक्ष मण्डलका सदस्य रहिसकेको कारण सोही गरिमालाई कदर गर्दै उनीहरुलाई पनि वरिष्ठ नेता राख्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ । तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलका ६ जनामध्ये जसपा नेपालमा महन्थ ठाकुर अध्यक्ष छन् भने राजेन्द्र महतो वरिष्ठ नेता छन् । बाँकी चारजनालाई पनि वरिष्ठ नेता कै दर्जा दिने प्रस्ताव गरिएको छ ।

तर यसमा अध्यक्ष उपेन्द्र यादव सकारात्मक देखिएका छैनन् । उनले यति धेरै वरिष्ठ नेता बनाउने हो भने बाहिर राम्रो सन्देश नजाने भन्दै त्यस्तो नगर्न राजपा नेपालका नेताहरुलाई आग्रह गरेका छन् । यी चारजनालाई वरिष्ठ नेता बनाइयो भने जसपा नेपालमा सातजना वरिष्ठ नेता हुनेछन् । यसअघि डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको थियो ।

भण्डारीको अडान

तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले वरिष्ठ नेताको वरियताक्रममा आफूलाई महेन्द्र राय यादवभन्दा माथि राख्न महन्थ ठाकुरलाई आग्रह गरेका छन् । नेता भण्डारीले महन्थ ठाकुरलाई लिखित रुपमै आग्रह गर्दै आफ्नो राजनीतिक पहिचान, योगदान र गरिमालाई ख्याल गर्दै वरियताक्रममा महेन्द्र राय यादवभन्दा माथि राख्न आग्रह गरेको स्रोतले जनाएको छ ।

जबकि यसअघि राजपा नेपालमा महेन्द्र राय यादवको नाम शरतसिंह भण्डारीको भन्दा माथि हुन्थ्यो, अर्थात् भण्डारीभन्दा महेन्द्र राय यादवको वरियताक्रम माथि थियो । तर जसपा नेपालमा भण्डारी महेन्द्र राय यादवभन्दा माथि आउन चाहेका छन् । तर भण्डारीको यो प्रस्तावलाई महेन्द्र राय यादवले ठाडै विरोध गरिरहेका छन् ।

वरियताको विवाद, केन्द्रीय कार्यसमितिमा भागवण्डाको विवादजस्ता लफडामा तत्कालीन राजपा नेपालका नेताहरु जेलिँदै गएका कारण पनि जनता समाजवादी पार्टीमा समायोजन प्रक्रिया जटिल बन्दै गएको जानकारहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप