बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिरासतमा युवक मृत्यु प्रकरणः एसपी रविराज खड्काविरुद्ध मुद्दा दर्ता

बुधबार, २४ भदौ २०७७, १६ : ५७
बुधबार, २४ भदौ २०७७

काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजयरामको हिरासतमा मृत्यु भएको घटनामा तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

एसपी खड्कासहित तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञान कुमार महतो, प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन कुमार सिंह, प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुर्दा दर्ता भएको हो । 

बुधबार विजयरामको बुबा पनिलाल महराचमारले एसपी खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा यातना तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जिल्ला न्यायधीवक्ता सुवास कुमार भट्टराईले रातोपाटीलाई जानकारी दिए ।

एसपी खड्कालाई १८ भदौमा रौतहट प्रहरी प्रमुखको जिम्मेवारीबाट खोसेर प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ । खड्काको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ ।

यस्तै, इप्रका गरुडाको प्रमुखको जिम्मेवारी खोसेर डीएसपी महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको छ । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ । त्यस्तै इन्सपेक्टर सिंह र हवल्दारद्वय सिंह र धुनियालाई ६ महिनाको लागि गृह मन्त्रालयले १६ भदौमा निलम्बन गरेको थियो ।

गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजयरामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको थियो ।

१७ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि परिवारले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको पीडित परिवारको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप