बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा युवतीको रहस्यमय मृत्यु : झुण्डिएको भनेर प्रहरीलाई किन खबर गरियो ?

छोरीको मृत्यु रहस्यमय भएको भन्दै प्रहरीमा उजुरी
बुधबार, २४ भदौ २०७७, १५ : ४९
बुधबार, २४ भदौ २०७७

काठमाडौँ । भदौ २२ मा धरानमा २२ वर्षीया युवतीको रहस्यमय मृत्यु भएको अवस्थामा शव फेला पर्यो । आफ्नै कोठाको पंखामा झुन्डिएको भनी प्रहरीलाई खबर गरेपनि प्रहरी पुग्दा झुन्डिएको अवस्थामा शव भेटिएन ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमराज ओलीका अनुसार युवतीको शव झुण्डिएको अवस्थामा नभेटिएर खाटमा राखिएको अवस्थामा भेटिएको थियो । 

धरान उपमहानगरपालिका–११ की सोनीहाङ लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । यद्यपी लिम्बुको परिवारले उनी आफ्नै कोठाको पंखामा झुण्डिएको भनी प्रहरीलाई खबर गरेका थिए । 

लिम्बुले झुण्डिदा प्रयोग गरेको भनिएको सल मात्रै पंखामा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । लिम्बु झुन्डिएको देखेपछि उनलाई खाटमा झारेर राखेको परिवारले प्रहरीसमक्ष बयान दिएको इन्सपेक्टर ओलीले जानकारी दिए । 

सोनीले निकै समय ढोका नखोलेको र फोन पनि नउठाएपछि ढोका फुटाएर हेर्दा आफ्नै कोठाको पंखामा झुन्डिएको अवस्थामा भेटिएको परिवारको दावी छ । 

माइती पक्ष आएपछि शव उठाइयो
सोनीले तीन महिनाअघि मात्र भागेर विवाह गरेकी थिइन्। सोनीको श्रीमान सिंगापुरे लाहुरे हुन् । सोनीको माइती घर तेह्रथुम हो । सोनी झुण्डिएको अवस्थामा फेला परेको भनेर सोनीको परिवारले नै माइतमा खबर गरेको थियो । 

सोनीको माइती पक्षलाई घटनाको बारेमा जानकारी गराउँदा माइती पक्ष नआएसम्म शव नउठाउन अनुरोध गरेपछि प्रहरीले सोनीको शव एक दिनसम्म कुर्नुपर्यो । मंगलबार तेह्रथुमबाट माइती पक्ष आएपछि मात्र घटनाको मुचुल्का गरेर शव उठाइएको धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए । 

‘मृतक सोनीको शरीरमा रातो रातो डामहरू देखिन्छ,’ डीएसपी बस्नेतले भने, ‘अन्य चोटपटक भने देखिएको छैन ।’ मृतक सोनीको शव पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । 

केटाको परिवारविरुद्ध उजुरी
केटा पक्षले सोनीको हत्या गरेको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । 

सोनीको मृत्यु रहस्यमय भएको भन्दै माइती पक्षले जाहेरी दिएको डीएसपी बस्नेतले रातोपाटीलाई जानकारी दिए । घटनाको बारेमा हत्या की आत्महत्या हो भनेर प्रहरीले पनि अनुसन्धान गरिरहेको बस्नेतले बताए ।

विवाह गरेर केटा सिंगापुर फर्किसकेको अवस्थामा परिवारले केटीलाई मानसिक तनाव दिएको र परिवारमा मनमुटाव रहेको माइती पक्षको दाबी छ । 

केटाको परिवारले केटीलाई नस्वीकारेको माइती पक्षको आरोप छ । यस्तो समयमा यस्तो घटना घट्नु रहस्यमय भएको भन्दै माइती पक्षले केटा पक्षलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप