शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिपी जयन्तीमा पिसीआर उपकरण उद्घाटन

बुधबार, २४ भदौ २०७७, १४ : ३१
बुधबार, २४ भदौ २०७७

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पिसीआर प्रयोगशाला आज विधिवतरूपमा उद्घाटन गरेको छ । बिपीकै नामबाट स्थापना भएको सो अस्पतालले उनको १०७ औँ जन्मजयन्तीको अवसर पारेर प्रयोगशाला उद्घाटन गरेको हो ।

सोही प्रयोगशालामा पहिलो कोरोना सङ्क्रमण देखिएकी अस्पतालकै नर्स पूजा श्रेष्ठ र आजबाटै अस्पतालमा आएको चिनियाँ मेडिकल टिम लिडर डा.झाङ वीले प्रयोगशालाको उद्घाटन गरे । सो अवसरमा अस्पतालका अध्यक्ष डा.निर्मल लामिछाने, कार्यकारी निर्देशक डा.देजकुमार गौतम, सञ्चालक समिति सदस्य डा विनय ठाकुरलगायत विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

अस्पतालले प्रयोगशाला गत आइतबारबाट सञ्चालनमा ल्याएको हो । हालसम्म ३९२ जनाको कोरोना परीक्षण गरिएको गौतमले जानकारी दिए । अस्पतालले पिसीआर परीक्षण शुल्क रु तीन हजार ५०० तय गरेको छ । एक दिनमा ४०० सम्म नमूनाको परीक्षण गर्न सकिने उनको भनाइ छ । सो अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । पिसीआर परीक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै उपचारमा सहज भएको गौतमको भनाइ छ ।

समयमा पिसीआर परीक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी बढ्दै गएपछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो । सोबाहेक जिल्लामा सरकारीतर्फ भरतपुर अस्पतालले र निजीतर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् । सरकारी प्रयोगशालामा नमूनाको चाप उच्च भएकाले नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ ।

चिनियाँ चिकित्सक टोलीलाई स्वागत

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १३औँ चिनियाँ चिकित्सक टोलीलाई आज स्वागत गरेको छ । सो अस्पतालमा चीन सरकारले नियमितरूपमा १५ विशेषज्ञ चिकित्सकसहित १७ जनाको टोली पठाउँदै आएको छ । विगत तीन वर्षयता हरेक वर्ष नयाँ टोली आउने र पुरानो टोली जाने गरेको छ । वीको नेतृत्वको टोलीलाई अस्पतालले स्वागत गरेको हो ।

यसअघिको डा.लुलीको नेतृत्वमा रहेको टोलीलाई आजै बिदाइ गरिएको छ । डा वी मूत्ररोग विशेषज्ञ रहेका छन् । उनीसँगै नाक, कान, घाँटी, रक्त क्यान्सर, स्तन क्यान्सर, पेट रोग विशेषज्ञ, प्याथोलोजी, अकुपञ्चर, रेडियो थेरापी, एनेस्थेसिया, थोरापित र दन्त चिकित्साका १५ विशेषज्ञ रहेका छन् । एक दोभासे र एक भान्से रहेको गौतमले जानकारी दिए ।

उनीहरुलाई अस्पतालका अध्यक्ष लामिछाने, कार्यकारी निर्देशक गौतम, सञ्चालक समिति सदस्य ठाकुरसहित विभागीय प्रमुखहरुले स्वागत गरेका थिए । सन् १९९८ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरिदिएको हो । अस्पताल सञ्चालन भएदेखि नै चिनियाँ चिकित्सक टोलीले अस्पतालमा सेवा दिँदै आएको छ । उनीहरुको आवासीयबाहेकको सबै खर्च चीन सरकारले नै व्यहोर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप