बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

निर्वाचनका उम्मेदवारहरुलाई रुसमा बनेको खोप दिन भनेजुएलाका राष्ट्रपतिको प्रस्ताव

बुधबार, २४ भदौ २०७७, १३ : ०२
बुधबार, २४ भदौ २०७७

भनेजुएलाका राष्ट्रपति निकोलास माडुरोले आगामी संसदीय निर्वाचनका करिब १५ हजार उम्मेदवारहरुलाई रुसमा निर्मित खोप प्रदान गर्ने प्रस्ताव गरेका छन् । उनीहरुले निर्वाचनका लागि सुरक्षितरुपमा प्रचार गर्न सकून् भनेर राष्ट्रपति माडुरोले सो प्रस्ताव ल्याएका हुन् ।

मानिसमा दुई महिनाभन्दा कम समय परीक्षण गरेपछि रुसले गत अगस्तमा कोभिड–१९ को खोपलाई मान्यता दिएको थियो । मस्कोले यस निर्णयप्रति खुसियाली मनाएपनि केही विशेषज्ञहरुले भने सो निर्णयमाथि प्रश्न उठाएका छन् ।

यता, निष्पक्ष नहुने भन्दै आगामी डिसेम्बर ६ मा हुने भनिएको निर्वाचनलाई माडुराका विपक्षीहरुले बहिस्कार गर्ने तयारी गरिरहेका छन् । यद्यपि, विपक्षीहरुको एक पक्षले सरकारसँग निर्वाचनका लागि छलफल गरिरहेको छ ।

‘हालसम्म दर्ता भएका १४ हजार ४ सय उम्मेदवारहरुलाई रुसमा बनेको खोप दिन राम्रो विचार हुनसक्छ । उनीहरुले आफ्नो चुनावी अभियानलाई सहजतासँग पूरा गर्न सक्नेछन्,’ टेलिभिजनमा गरिएको सम्बोधनमा माडुरोले भने ।

उनले सेप्टेम्बरमा रुसको खोप भेनेजुएलामा आइपुग्ने र अक्टोबरमा अन्य खोपहरु पनि परीक्षणका लागि आइपुग्ने बताए ।

रुसको ‘स्पुट्नीक–फाइभ’ खोपले शुरुवाती परीक्षणमा सबै सहभागीहरुमा एन्टीबडी निर्माण गरेको पाइएको गत शुक्रबार लेन्सेन्ट मेडिकल जर्नलमा प्रकाशित रिपोर्टमा भनिएको थियो । रिपोर्टमा खोपका लागि थप परीक्षण आवश्यक रहेको कुरा औँल्याएको थियो ।

स्रोतः रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप