केन्द्रीय संस्करण

गर्भवती अवस्थामा लकडाउनको पीडा

person explore access_timeभदौ २४, २०७७ chat_bubble_outline0

अकालमै ज्यान पो जान्छ कि ? हस्पिटल के कसरी जाने ? महामारीमा परियो भने के गर्ने ? न त नियमित रूपमा गर्भ जाँच गर्न नै पाएँ, सारै पीर लाग्छ । डाक्टरले पनि समस्या नभई अस्पताल  नआउनु भनेका छन् । तिमी त बेलैमा सुत्केरी भयौ भनेर छिमेकी गर्भवती दिदीले  दुख्ख पोखिरहँदा मेरो अस्पताल बसाइको कहली लाग्दो घटना नलेखी बस्न सकिनँ । म अनुभव गर्न सक्छु, पीडा बाँढ्न त सक्दिनँ । मेरो नजिकमा रहेकी गर्भवती महिला दिदीबहिनीहरु जुन अवस्थाबाट गुज्रिरहेका छन् त्यो त्रास मैले ४ महिनाअघि नै भोगिसकेकी थिएँ । मानसिक त्रासलाई कम गराउने कोसिस गरेकी छु । कठै मैले भोगेको पीडा अहिले यसले भोग्दैछिन् ।  विश्वभरि महामारीको रूपमा फैलिरहेको कोभिड १९ को कारण मनलाई विक्षिप्त बनाइरहेको छ । यस्तो अवस्थामा आँट भरोसा दिने आफ्नो भन्नेहरू पनि पराइ हुनुपर्ने अवस्था छ । कतिको साथमा कोही हँुदैनन् । विचरा भन्नेबाहेक कोही छैन । विलकुलै नयाँ शब्द थियो लकडाउन  । कहिले पनि यो कुराको अभ्यास हाम्रो देशले गरेको थिएन ।

प्रसव पीडाको लडाइँमा निस्किएकी म । पीडाले छट्पटाइरहेकी म । दुुखाइ भोग्नुबाहेक अरू विकल्प थिएन । त्यो पीडा मेटाउने न त कुनै औषधि नै छ । तर नजिक बसेर थुमथुम्याउने, आँशु पुछिदिने । स्पर्श गरिदिने आशावादी शब्दहरु दिने आफ्नो नजिकको मान्छे श्रीमान पनि परदेश । म त एक प्रतिनिधि पात्र मात्रा हुँ । म जस्तै कति गर्भवती महिला दिदीबहिनी हुनुहुन्छ कि मानसिक शारीरिक रूपमा कमजोर छन् । यस्तो अवस्थामा मानसिक शारीरिक रूपमा कमजोर हुने हुँदा विशेष खानपान माया र मनोपरामर्शको खाँचो पर्छ । यो अवस्थामा मानसिक रोगबाट गुज्रिने सम्भावना धेरै हुन्छ । आमा र बच्चाको स्वास्थ्यमा समस्या आउन सक्छ । 

विश्वभरी महामारीका रूपमा फैलिरहेको रोग कोभिड–१९ बीच जन्मिएकी मेरी छोरी र कोरोनालाई कहिले बिर्सने छैन । बाँचुन्जेल यो महामारीको त्रासलाई मेटाउन सक्ने छैन । कोरोना महामारीको बीचमा म भने छोरीलाई यो धर्तीमा पाइला टेकाउने तयारीमा थिए । म परोपकार तथा प्रसूतिगृह थापाथलीमा नियमित गर्भ परीक्षण गराउँदै आएकी थिए । चिकित्सकले वैशाख १२ गते प्रसूति हुने समय तोकिदिए तर स्वास्थ्यमा समस्या आएपछि वैशाख ४ गते नै प्रसूतिगृह पुगिन, चिकित्सकको अभाव तथा कोरोना रोगको महामारीको कारण देखाउँदै भर्ना लिन मानेनन् । बच्चा जन्माउने पीडासँगै अस्पताल पुगेकी म इमरजेन्सीको टिकट लिएर लाइनमा बसेँ । कोरोनाको त्रास देखाउँदै ओपीडीमा पठायो ।

त्यो दिन ओपीडीबाट इमरजेन्सी, कहिले यताबाट उता गर्दै समय सकिएको कारण देखाउँदै सेवा बन्द ग¥यो । टिकट काटेर लाइनमा बसे तर डाक्टरसँग भेट्नै पाइन् । त्यस बेला नेपालमा कोरोना सङ्क्रमण सङ्ख्या ४ जनामा मात्र देखिएको थियो । सामुदायिक स्तरमा फैलिसकेको थिएन । तर त्रास भने निकै थियो । मेरो नर्मल डेलिभरी हुन सम्भव थिएन । पहिलो बच्चा जन्माउन पनि अप्रेसन गर्नुपरेको थियो । अहिले पनि अप्रेसन गर्नुपर्ने बाध्यता थियो । अस्पतालले भर्ना लिन मानेनन्, प्रसूति व्यथा लागिसकेको थियो । भोलि आउन भन्दै फर्काइदियो । त्यतिखेर अस्पताल आउन निकै गाह्रो थियो । देश पूरै लकडाउनमा थियो । न त ट्याक्सी, न त गाडी, महामारीको त्रासका कारण एम्बुलेन्सले पनि चिनजानको बाहेक अरूले नबोक्ने अवस्था थियो । निकै गह्रुँगो मन लिई रोगले भन्दा पनि उपचार नपाएर मर्ने भइयो भन्दै फुपूको साथमा घर फर्कें । रातभरी निकै गाह्रो भयो । झन्झन् व्यथा लाग्दै गयो, सहनै सकिन । बिहान सबेरै अस्पतालमा पुगेँ । भर्ना पनि गरेँ तर निकै सुरक्षा अपनाउनुपर्ने, बिरामीको साथमा एकजना बाहेक अरू राख्न नपाउने, ४ घण्टाको अप्रेसनपछि सन्तानको सुुखका लागि सुखद् क्षण बन्यो । वैशाख ५ गते मेरी छोरीले यस संसारमा पाइला टेकिन् । समय बिताउन निकै गाह्रो थियो । त्यो दुःख सम्झिन्छु । तर त्योभन्दा बढी कोरोनाको त्रासमा सम्झिन्छु, बिलकुलै नयाँ रोग भएको कारण निकै त्रसित थियो । मानौँ कि रोगले भोलि नै लग्ला झँै, नलागोस् पनि कसरी ? यस्तो महामारीको अवस्थामा रोगसँग मानिसहरु लड्दै थिए । न त हामीलाई लकडाउन भन्ने नै थाहा थियो, न त आइसोेलेसन नै ।

चैत ११ गते लकडाउन लागू भएपछि त कसैले पनि परिवारबाहेक अरूलाई नचाहने अवस्था आयो । चोकमा निस्कनसमेत गाह्रो बनायो । जिन्दगीमा कहाँबाट कस्तो विपतले घेर्छ । केही थहा हुँदैन रहेछ । हरेक दिन सयौँको सङ्ख्यामा सङ्क्रमित दर गुणात्मक रूपमा वृद्धि भइरहेको छ । धेरैको कामधन्दा लथालिङ्ग भएको छ । देशमा कोरोना नियन्त्रण हुनको लागि लकडाउन भइरहेको छ । लकडाउनले रोग त निको हुँदैन । तर भयवह स्तिथिलाई मान्छेको चहलपहल घटाउने मात्र हो ।

कोरोनाको त्रासले दिएको मानसिक त्रास भोगेकी छु । नेपालमा सङ्क्रमितलाई लक्षण देखिएको छैन भन्ने पनि सुनेकी छु । प्रधानमन्त्रीले बेसार पानी खाएर निको हुन्छ भन्ने कुराले सामाजिक सञ्जालमा चर्चा भएको पनि देखेकी छु । श्वास–प्रश्वासमा समस्या नआईकन आइसोलेसनमा सिटामोल बाहेक केही दिँदैन । नजिकको मान्छे टाढा भइदिन्छ । कोही हुँदैन । आफ्नो जीवनको लागि आफै सङ्घर्ष गर्नुपर्छ । 

जुन  महामारी संसारले भोगिरहेको छ । कोरोना भाइरसले संसारभरको मान्छेलाई प्रभाव पार्नुका साथै मान्छेसँग जोडिएका हरेक क्षेत्र ग्रसित छ । मान्छेको सम्पर्कबाट सर्ने  तथा फैलने भएकाले एक आपसमा डराउने पर्ने अवस्था छ । नेपालमा पनि त्यस्तै भयो । नेपालमा कैयौँ उद्योग बन्द भए, त्यही  महामारीले कतिको परिवारको सदस्य गुमाए । लाखौँले  जागिर गुमाए, कलिला विद्यार्थीहरुको पढाइ अन्योल पारिदियो । दैनिक काम गरेर खाने मान्छेहरु  सबैभन्दा बढी प्रभावित छन् । कति त भोगमरीको चपेटामा परिरहेका छन् । रोगले भन्दा भोकले मरिएला भन्ने पीर सबैमा छ । विश्व रोइरहेको छ, करोडौँ मानिस सङ्क्रमित भए भने लाखौँ मानिसको ज्यान गइसकेको छ । अहिलेसम्म कल्पना नै नगरिएको संसारभरका मानिसहरु घरभित्र बसिरहेको छ । कोरोना भाइरस आफैमा एक जटिल बन्दैछ । तुरुन्तै यसको लक्षण देखिँदैन । कतिपयमा लक्षण नदेखिए पनि भाइरसको सङ्क्रमण हुन सक्छ । कोरोना सङ्क्रमित पहिचान गर्न सकिँदैन । यो रोग जोकोहीलाई पनि लाग्न सक्छ । बाटोमा भेटिएको साथी होस्, किराना पसल होस्, गाडीमा यात्रा गर्दा जो कोहीको माध्यमबाट आफूमा सङ्क्रमण हुन सक्छ । 

सुरक्षाका उपायहरु अपनाउँदा अपनाउँदै सरेको अवस्थामा आफू पनि सङ्क्रमित हुनुको साथै आमा, बाबा, केटाकेटी र विशेष गरी गर्भवती महिलाहरु भने विशेष जोखिम हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा मानसिक तनाव र भयले पारिवारिक माहोल विथोल्नुका साथै आर्थिक अवस्था नै नाजुक भइरहेको उदाहरण अहिले प्रशस्तै देखिएको छ । विश्वमा यो रोगको खोप अनुसन्धानको क्रममा रहेको छ । हाम्रो देशको स्वास्थ्य क्षेत्र आफैमा रोगी, न त पर्यप्त जनशक्ति छन्, न त पुग्दो उपकरण छन्, न त भरपर्दाे उपचार विधि, कोरोना भाइरसको ठोस उपचार विधि नै पहिल्याइएको छैन । यस्तो अवस्थामा सुरक्षा विधि अपनाउने बाहेक अर्काे विकल्प छैन । आफूले आफैलाई नियन्त्रण एवं अनुशासनमा राख्नु नै बच्ने एउटै उपाय हो । सुरक्षा विधिहरु जस्तै मास्कको प्रयोग गर्ने, भिडभाडमा नजाने, सामाजिक दूरी कायम गर्ने, शारीरिक सरसफाइमा ध्यान दिने, स्वस्थ्यकर खानेकुरा खाने, योगा, व्यायामलाई प्रथमिकता दिने, सकरात्मक चिन्तन गर्ने जस्ता उपाय अपनाउन जरुरी छ ।

विज्ञहरुको भनाइ अनुसार कोरोना भाइरस पूर्ण रूपमा निर्मुल हुन अझै लामो समय लाग्न सक्छ । त्यसैले आत्मानुशासन पालना गर्नुभन्दा सर्वोत्तम उपाय अरू केही छैन । सार्वजानिक स्थानमा बस्दा, यात्रा गर्दा, एकदमै सतर्क रहौँ । अनावश्यक काम नहुँदा भिडभाड गर्ने, जथाभावी यात्रा गर्ने, जमघट गर्ने, बानी नगरौँ । विशेष गरी रोगी, वृद्धवृद्धा, सुत्केरी, गर्भवती महिला, बालबालिकामा विशेष जोखिम हुने हुँदा सुरक्षा विधि अपनाउनु एकदमै जरुरी छ । नभेट्दा पनि हुने आफन्त र साथीभाइलाई नभेटौँ । फोनमा कुरा गरौँ । इन्टरनेटको भरपुर  सदुपयोग गराँै । आफू बाँचे संसार बाँचिन्छ । रासन, फलफूल किन्ने बहाना पारेर बाहिर ननिस्कने गरौँ । सुरक्षित रहनुहोस्, घरभित्रै रहनुहोस् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.