बहुआयामिक व्यक्तित्वका यशश्वी पात्र बीपी
नेपालको राजनीतिका सार्वकालिक शिखर पुरुष बीपी कोइरालाको १०७औँ जन्मजयन्ति भदौ २४ गते मनाइँदैछ । नेपाली काँग्रेसका संस्थापक नेता, लोकतान्त्रिक समाजवादका नियन्ता, राष्ट्रिय एकता र मेलमिलापका उत्तोलक, नेपाली साहित्यका मूर्धन्य हस्ती र कानुन शास्त्रका निष्णात पण्डित थिए आधुनिक राजनीतिक विचारक बीपी । १०४वर्षसम्म जरा गाडेर बसेको राणाहरुको पारिवारिक निरङ्कुश सत्तासित राजनीतिक सङ्गठनमार्फत विद्रोहको झण्डा फहराएर क्रान्तिको राँको बाल्ने नेतृत्व गरे । जसले नेपालमा २००७ को जनक्रान्तिमार्फत आधुनिक राजनीतिक विचारको बीजारोपण गराए । कालक्रममा नेपालको राष्ट्रिय एकता, आर्थिक उन्नति र लोकतान्त्रिक संस्कारलाई स्थापित गर्न बल मिल्दै गयो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको त्रिआयामिक बिम्बमार्फत आदर्श, सिद्धान्त र कार्यक्रमको संयोजन गराएर नेपाललाई नमुना मुलुक बनाउने सपनाको दस्तावेज पेस गरे उनले ।
भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिएर दुई पटकसम्म जेलको यातना भोगेका बीपी स्वतन्त्रता र समानतालाई प्राणभन्दा प्यारो ठम्याउनु हुन्थ्यो । भारतबाट अङ्ग्रेजी उपनिवेश घुँडा टेकिसकेपछि तिनैको आडमा अडेको नेपालको निरङ्कुश राणाशाही धराशयी बन्नसक्छ भन्ने आत्मविश्वास थियो बीपीमा । त्यसैले उनी भारतीय स्वतन्त्रता सङ्ग्रामका सिपाही बन्न पुगे ।
राजनीति र सिर्जना संसारलाई जीवनको मूल आधार बनाएका बीपी दक्षिण एसियाकै राजनेताको रूपमा गनिन्छन् । राजनीतिमा आफू समाजवादी भन्न गर्व गर्ने उनी साहित्यमा अराजकतावादी भएको यथार्थलाई निर्भीकतापूर्वक प्रकट गर्दछन् । उनका आख्यान अर्थात् कथा र उपन्यास पूरै समाज मनोविज्ञान, यौन मनोविज्ञानमा कलात्मक शैलीमार्फत यथार्थको सम्प्रेषण गर्न सफल छन् । सुम्निमा, तीन घुम्ती, हिटलर र यहुदी, नरेन्द्र दाइ, बाबुआमा र छोरा, श्वेतभैरवी, दोषी चश्मा, आफ्नो कथा, जेलजर्नल र एक गद्य कविता सङ्ग्रह पनि प्रकाशनमा आएका छन् । नेपाली आख्यान विधामा नयाँ आयाम दिएर सिग्मन फ्रोयड धारालाई आत्मसात गर्दै अझ स्वच्छ रूपमा मनोवैज्ञानिक यथार्थलाई संवरण गर्ने अद्भूत खुबी थियो उनमा । नेपाली आख्यान विधामा मनोविश्लेषणपरक धाराको थालनी उनकै देन हो । अवचेतन, अर्धचेतन र चेतन मनलाई स्पर्श गर्ने बीपीका कलम कडा आलोचना र अति प्रशंशासित हतोत्साही र फुरुङ्ग कहिल्यै भएनन् । उच्चताभाष, हीनताभाष, यौनकुण्ठा, भय, हर्ष, विष्मयका मनोग्रन्थिमा उनको कलम पत्र पत्र केलाएर गतिलो शल्यक्रिया गर्न सफल छ । सामाजिक मनोवृत्तिमा डुबुल्किने उनको लेखनवृत्ति आलोचना फिडब्याक हो भन्नेमा विश्वस्त थियो । त्यसैले उनी भन्थे आलोचक भनेको लेखकहरुको कमजोरी वा रालसिगान पुछिदिएर पिलोको रूपमा रहेका घाउखटिरामा कैँची चलाउने मार्ग दर्शक मेधा हो । कला बन्धन चाहँदैन र यो पुरानोभन्दा नयाँ बाटो हिँड्न मन पराउँछ भनी उनी सर्जकहरुमा नवीनता, मौलिकता र सामाजिक परिवेशलाई अनुवरण गर्न आह्वान गर्न पुगेका छन् ।
बीपीको राजनीतिक चिन्तन गतिशील नदीको प्रवाह जस्तै हो । तर त्यो प्रवाहमा उनी जनतालाई केन्द्रविन्दुमा राख्न कहिल्यै पनि भुल्दैनन् । उनको राजनीतिक जीवन उतार चढाब र सङ्घर्षको उच्च गाथा हो । थालनीमा मार्क्सवादबाट प्रभावित उनी समाजवाद, गान्धीवाद हुँदै प्रजातान्त्रिक समाजवादको माध्यमबाट देशको राजनीतिक र आर्थिक उन्नयन गर्न सकिन्छ भन्नेमा पुगे । तर नीतिनिर्माता जनता हुनुपर्छ । त्यसको कार्यान्वयनकर्ता पनि उनीहरु नै बनाएर सबैमा अपनत्वको भावना बढाउनु पर्छ भनी माइलस्टोन जनता नै ठम्याउँथे ।
नेपालको सन्दर्भमा जातियतावादी, क्षेत्रीयतावादी र ऊग्र कम्युनिस्टसितको सहकार्य घातक हुन्छ भनेर आफ्नै धरातलमा आन्दोलन गर्नुपर्छ भन्थे । यसै क्रममा नेकाका नेता बद्रीनारायण बस्नेतको भनाइ उल्लेखनीय छ । एक पटक मार्क्सवादी नेता मनमोहन अधिकारी विराटनगर जाँदा बस्नेतसित मन्त्रणा गरेछन्, बद्रीजी बीपीलाई सम्झाउनोस् न राजाविरुद्ध संयुक्त आन्दोलनमा जाऊँ, त्यसो भए निरङ्कुश राजशायी हट्छ नेपालबाट । लगत्तै बीपी विराटनगर आउँदा मैले उहाँलाई नेता मनमोहन अधिकारीको प्रस्ताव सुनाएँ । उहाँ त मजासित हाँस्नुभयो र भन्नुभो बाठा छन् कम्युनिस्टहरु, मलाई फसाउन खोजिरहेका छन् । बस्नेतजी उनीहरु पाँच टुक्रा छन् । समूह समूहमा भाग माग्छन् । सबै निर्णय आफ्नै हिसाबले गर्न खोज्छन् । अनि हामीले मानेनौँ भने काँग्रेसले बिगारा हो भनी गाली गर्छन् । प्रपोगन्डा मच्चाउन उनीहरु धेरै माहिर छन् । भनिदेऊ न उनीहरुलाई आन्दोलन गर्न कसले रोकेको छ । इन्डोनेसियाका सुकार्नोलाई त्यहाँको कम्युनिस्ट एडिटले कसरी साँठगाँठ गरेर सिध्यायो उसको क्रान्ति फर्मुला बीपीले सविस्तार बताइदिए । मूलतः नेपालका कम्युनिस्टहरुको चरित्र अवसरवादी छ र यिनीहरु आापूmलाई राष्ट्रवादी मुखले मात्र भन्छन् । दरबार वा विदेशी शक्ति जोसित ताल पर्छ, त्यतै लहसिन्छन् । बीपी क्रान्ति आफ्नै बुतामा गर्नुपर्छ भन्थे । साँच्चै यतिखेर हेर्दा नेपालमा कम्युनिस्ट नायक त रहेन छन् । सबै कमाउनिस्ट, खोक्रा, बोक्रा, मनमौजी, सुटेडबुटेड र भाटगिरी मात्र पो अनुभूत भइरहेको छ ।
उनी विकेन्द्रीकरणलाई माध्यम बनाएर जनसहभागिताको आधारमा देश उन्नयनको सपनामा लिप्त थिए । धार्मिक स्वतन्त्रता, समावेशीता, समानता, उत्पादनमा वृद्धि, युरोप र विकसित देशको विकास मोडलभन्दा छुट्टै मौलिक विकासलाई प्राथमिकता दिन्थे । सङ्घीय सरकार, प्रादेशिक सरकार, आत्मनिर्णयको अधिकार जस्ता कुरा बीपीको चिन्तनभित्र थिएन । पछिल्लो समय नेकाँ विदेशी दबाब, कथित कम्युनिस्टहरुको प्रभाव र सत्तालोलुपतामा भासिँदा यो भद्रगोले अव्यवस्थामा भासिन घिसारियो । बीपी मधेसी, आदिवासी, जनजाति, पहिचान र राज्य संरचनामा न्यायोचित प्रतिनिधित्व दिन समाजवादी लोकतान्त्रिक व्यवस्थाले नै कामयावी हुन्छ भन्नेमा भरोसा राख्थे । यसका लागि पूर्ण प्रजातन्त्रको स्थापना र आर्थिक विकास उनको भिजन थियो । झन्नै डेढ वर्षको कार्यकालमा उनको सरकारले ल्याएको भूमिसुधार, बिर्ता र राजारजौटा उन्मूलन, जङ्गलको राष्ट्रियकरण, मिल हुन्छ, मजदुरको खेत हुन्छ जोत्नेको जस्ता सूत्रहरु धेरै प्रगतिशील थिए । जसलाई तत्कालीन सामन्तवादले पचाउन नसकेर विदेशीको साँठगाँठमा लोकतान्त्रिक स्पिरिटको व्यवस्थाको हत्या गरे । प्रथम जननिर्वाचित प्रमं. अपदस्थ गरियो । स्व. राजनीतिज्ञ कीर्तिनिधि विष्ट भन्थे बीपीले जीवनभर दरबारबाट दुःख पाए तर आवेगमा कहिल्यै राजसंस्थाको कुभलो चिताएनन् । मान्छे खराब हुनसक्ला तर संस्था खराब हुन सक्दैन भन्ने मान्यता थियो उनमा ।
त्यसैले त राष्ट्रियताको सवालमा राजाको र मेरो घाँटी जोडिएको छ भनेर उनले निर्भीकतापूर्वक बोले । प्रा. कृष्ण खनालको शब्दमा भन्नुपर्दा बीपी सत्ताभन्दा आदर्शले प्रेरित हुनुहुन्थ्यो । राजनीति भनेको सत्ताको खेल मात्र होइन, आजका खेलाडी नियमबिनाको खेलमा छन् । भोगवादी संस्कृतिले गाँजेको छ । नेतृत्वमा बस्ने मानिसहरुमा समाज अध्ययनको कमी छ । प्राज्ञ ज्ञानु पाण्डे भन्नुहुन्छ साहित्यकार बीपी आत्मानुशासनमा रहेर भनाइ र गराइमा फरक हुनुहुन्न थियो । त्यसैले त बौद्धिक व्यक्तित्व दीपकप्रकाश लोहनी बीपीलाई बुभ्mन काँग्रेसलाई मात्र बुझेर हुँदैन भनी उहाँप्रतिको अनुसन्धान गवेषणा गर्न नयाँ पुस्तालाई आह्वान गर्दछन् ।
गद्य कवि, उपन्यासकार, यथार्थवादी मनोवैज्ञानिक कथाकार, खुला किताबका पानाजस्तै जीवनीकार, अब्बल कानुनविद्, राष्ट्रवादी , सफल कूटनीतिज्ञ, नेपालको परराष्ट्र नीतिका सन्तुलित पुरुष, आदर्श र व्यवहारको सङ्गम र एक गर्विला युगनायक क्रान्तिपुरुष हुन् उनी । पञ्च काँग्रेससित नतर्स, कम्युनिस्टहरु काँग्रेससित नझस्क, पञ्चायत मरेको घोडा हो । म यसलाई चाबुक हान्न चाहन्न । प्रजातन्त्र नभए देश रहँदैन जस्ता बीपी वाणी उदात्त र सूक्तिपरक छन् । उनको संस्मण बोक्रे र धोक्रे कर्मकाण्डीय ढ्वाङ हैन । वास्तवमा बीपी एक बहुमुखी प्रतिभाका यशश्वी एवं कीर्तिशाली पुरुष हुन् । उनको चिन्तन नेपालको सन्दर्भमा युगौँसम्म प्रासङ्गिक छन् । सबैलाई चेतना भया ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
-
४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?
-
लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो
-
रश्मिका मन्दनाले गरेकी हुन् इन्गेजमेन्ट ?
-
बिहीबार युक्रेन हमलामा प्रयोग भएको मिसाइलबारे पुटिनको खुलासा
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन