शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

सामाजिक विकासको बलियो इँटा

मङ्गलबार, २३ भदौ २०७७, १८ : १२
मङ्गलबार, २३ भदौ २०७७

–पुष्पराज कोइराला

आर्थिक, आणविक, जैविक र हतियारको सम्पन्नताले विश्व विजेतामा स्थापित भई बसिरहने एक मात्र ध्याउन्नमा तल्लीन भएका विश्वका सर्वशक्तिमान मुलुकलाई समेत किंकर्तव्यविमूढका साथ धराशायी हुने गरी अप्रत्यासित रूपमा विश्वव्यापी फैलिएको कोभिड–१९ बाट नेपालजस्तो मुलुक अछुतो रहने कुरै भएन । नेपाली जनता कोभिड–१९ को महामारीबाट प्रभावित भई २०७६ चैत ११ देखि मुलुक बन्दाबन्दीको अवस्थामा बस्नु परेको छ । यही बन्दाबन्दीको समयमा नेपाली पाठक माझ लेखक खगराज बरालको ‘सिकाइ र सहयोग’ नामक पुस्तक साङ्ग्रिला प्रकाशनले बजारमा ल्यायो । अघिल्लो वर्ष ‘सिकाइ र सहयोग’ नामक पुस्तक प्रकाशन गरेका बरालले एक वर्षपछि ‘सिकाइ र सहयोग’ नामक पुस्तक पाठकका माझमा ल्याएका छन् । निजामती सेवाको उच्च तहमा रहेर काम गरिरहेका बराल विशेषगरी नेपालको शिक्षा प्रशासन र शिक्षा पद्धतिका बारेमा जानकार व्यक्ति हुन् । आफ्नो अध्ययन र अनुभवको सूक्ष्म विषयलाई लेखनको विषयवस्तु बनाउने बरालको ‘सिकाइ र सहयोग’ पुस्तक बन्दाबन्दीको समयमा पढ्न अवसर मिल्यो । पुस्तक पढ्दा एकातिर बन्दाबन्दीको समयको सदुपयोग गर्न पाएँ, अर्कोतिर अनुभूतिजन्य विषय पढ्दा नयाँ स्वाद पनि भेट्टाएँ । 

पच्चीसवटा शीर्षकमा ‘सिकाइ र सहयोग’ नामक पुस्तक उनिएको छ । तीमध्ये बाल अधिकार र हाम्रो व्यवहार शीर्षकले आजको शिक्षित, बौद्धिक समाजलाई थप प्रगतिशील, समाज सेवी बनाउन बालबालिकाको मनमस्तिष्कलाई बाल्यकालदेखि नै विकसित गर्दै गएमा मात्र आजका बालबालिका भोलिका लागि राष्ट्रका कर्णधार हुन सक्छन् भन्ने मान्यता उजागर गरेको छ । यसका लागि समाजमा रहेका हामीले हाम्रा बानी व्यहोरा सुधार्नुपर्ने रहेछ भन्ने सन्देश प्रवाह गरेको छ । संस्कृत, संस्कार र संस्कृति नामक शीर्षकबाट पूर्वीय दर्शन र बौद्ध दर्शनको जननी समेत संस्कृत भाषा रहेछ भन्ने जानकारीलाई पुष्टि गर्न थप बल मिल्दछ । सिकाउने आºनै काइदा शीर्षकमा जापानी स्वयंसेवकले दिएको प्रशिक्षणले मानिस शाकाहारी कि मांसाहारी भन्ने प्रश्नको उत्तर जीवनभरका लागि अविस्मरणीय रहन गएको सन्देश मिल्छ । बुझाइमा अर्थ र अनर्थ शीर्षकबाट चीनमा कोकाकोलालाई केकौकोला भन्दछन् भने झैैँ भाषिक अर्थमा लवज, भूगोल र समाजका आआफ्नै चालचलन, बोलिचाली र व्यवहारले समेत असर गर्दो रहेछ भन्ने जानकारी मिल्दछ । पुर्खाको विश्वास शीर्षकबाट हाम्रो समाजले वंश परम्पराको सुरक्षाका लागि परिवारका सम्पूर्ण सदस्यले एउटै साधनबाट यात्रा गर्दा हुन सक्ने सम्भावित दुर्घटनाबाट हुने क्षतिबाट बचेर वंश सुरक्षाका लागि अवलम्बन गरेको विश्वासलाई यात्राका क्रममा बसको कन्डक्टर र यात्रुबीचको टिकट चेकिङसन्दर्भ उठाएर मीठो र मिहिन पारामा उजागर गरिएको छ ।

लैङ्गिक सवाल र जापानी परिवेश शीर्षकले हरेक वर्ग, तह र तप्काका व्यक्ति र समुदायको समानुपातिक प्रगतिका लागि हरेक व्यक्ति कानुन र समाजका लागि कति जिम्मेवार हुनु पर्दोरहेछ  भन्ने कुरा जापानी राजपरिवारको उत्तराधिकारीसम्बन्धी दृष्टान्त उल्लेख गर्दै पाठकलाई गहिरिएर सोच्न बाध्य बनाएको छ । लैङ्गिक पक्ष र परिवेश शीर्षकले हाम्रो घर परिवार र समाजमा महिला र पुरुष बीच गरिने विभेदकारी चरित्रको खुला चित्र प्रस्तुत गरेको छ । यो शीर्षक पढेपछि आपैmले भोगका कुरालाई पुनः स्मरण गराउँछ । नाता र सम्बोधन शीर्षकले त नेपालको मौलिक नाताहरू सम्बोधनलाई गायव पारी आफू खुशी नाता बोल्ने अनौठा परिपाटीको पर्दाफास गरेको छ । समाजमा यस्तै प्रवृत्ति मौलाउँदै गएको र यस प्रवृत्तिले नेपाली परिवेश र घर घरबाट नाता सम्बन्धको नेपाली मौलिकता लोप हुने र नेपालीको परिचय पनि हराउन सक्ने सन्देश दिएको छ । यो शीर्षक पढ्दा पाठक म म भन्दै मौलिकता हटाउनमा आपूm पनि दोषी त छैन भन्दै झस्किन्छ । खानपान र हाम्रो चलन, बानी त कस्तो राम्रो जस्ता शीर्षकबाट जीवन, जीवनको महत्त्व र जीवनको गरिमा राख्न गर्नुपर्ने बानी व्यहोरा, खानपानको उचित व्यवस्था जस्ता विषयमा लेखकले अति सूक्ष्म विषय उठान गरेर पाठकलाई उनीहरूकै ऐना देखाइदिएका छन् ।

यो शीर्षक पढ्दापढ्दै आपूmले गरेका व्यवहार सम्झेर पाठक आपैm झसङ्ग हुन पुग्छ । वर्तमानको आर्थिक मन्दीको अवस्थामा सहरिया जीवनयापनमा आºनो धर्म, संस्कार र परम्पराअनुसार गर्नुपर्ने सामाजिक कार्य (विवाह, ब्रतवन्ध आदि) गर्दा अपनाउनु पर्ने मितव्ययिता र आत्मियताका विषयमा निम्ता र निम्तालु शीर्षकबाट धेरै कुराको सिकाइ हुन्छ । अनुवंशिकताको प्रभाव शीर्षकमा हिन्दु धर्मले प्रतिपादन गरेका उपनिषद्, पुराण, निर्णय सिन्धु र कर्मकाण्डको महिमा अनुसार गोत्र तथा मातापिताको सातपुस्ता भित्रको वंशावलीपश्चात् मात्र वरवधुबीच विवाह भएमा सुयोग्य नागरिक सहितको समाज निर्माणमा सहयोग पुग्ने विचार उल्लेख छ । यो कुरा मानिसमा मात्र होइन पशु विज्ञानमा समेत लागू हुने कुरा नेपालका विभिन्न अनुसन्धान केन्द्रको अवलोकन भ्रमण र वैज्ञानिकसँगको छलफलको सन्दर्भसहित लेखकले विस्तृत जानकारी दिएका छन् । हाम्रा पुर्खाले ज्ञान विज्ञान थाहा नपाए पनि अभ्यासमा भने विज्ञानसम्मत् व्यवहार गरेका रहेछन् भन्ने कुरा यो शीर्षक पढेपछि पाठकले आत्मसात गर्छ । संस्कृतको वास्तविक महत्त्व शीर्षकबाट आर्यवर्त भारत वर्षको अधिनस्थ नागरिक समाजको आफ्नोपन हो भन्ने सन्देश दिएको छ । यो शीर्षकभित्रको विषयले सनातन मौलिकता हो र त्यसैभित्र नै गहन हिन्दुत्व लुकेको छ कुरा स्मरण गर्न र चिन्तन गर्न बाध्य बनाउँछ । 

सङ्क्षेपमा भन्नु पर्दा लेखक बरालले ‘सिकाइ र सहयोग’ पुस्तकमा समेटेको भाषा, लेखनशैली, सरलता र विषयवस्तुको उठान निकै मन छुने किसिमको छ । लेखनका विषयवस्तु हाम्रा लागि नौला छैनन् तर ती विषयवस्तुको प्रस्तुतिले नौलो अनुभूति गराउँछ । पाठकले पुस्तकभित्र विषयवस्तु आºनै दैनिक जीवनमा घटेका र घटिरहने नियमित प्रक्रिया हुन् भन्ने ठान्छ । लेखककोे ती सबै प्रिय र अप्रिय लाग्ने सबै प्रकृतिका घटनालाई एकाकार तथा गोलबद्ध गरी किताबी रूपमा प्रस्तुत गरेका छन् । यस्ता घटनाले मानिसको दिमागमा सधैँभरि ताजा रहने गरी रन्को दिएको छ । व्यक्तिको भावी जीवनको चरित्र र समाज निर्माणका लागि ठूलो टेवा मिल्ने गरी ज्ञान प्रदान गरेका छन् । अति सूक्ष्म घटनालाई टपक्क टिपेर मानिसको मन छुने गरी भन्नु र एउटा न एउटा सन्देश दिन सक्नु लेखकीय खुबी हो । त्यो खुबी लेखकमा भेटिन्छ । 

पुस्तक औपदेशिक छैन तर कता कता उपदेश दिए झैँ भने लाग्न सक्छ । शीर्षकहरू शृङ्खलाबद्ध नभए पनि पहिलो शीर्षक पढेपछि पुस्तक नसकुन्जेल पुस्तक बन्द गर्न मन लाग्दैन । पुस्तकका विषयवस्तुले मनलाई तानिरहन्छन् । उत्पादन बिनाको वितरण, चेतना बिनाको उत्तेजना, योग्यता बिनाको आकाङ्क्षा, लगानी बिनाको प्रतिफल, धैर्यता बिनाको प्रगतिले आक्रान्त नेपाली समाजलाई सो ‘सिकाइ र सहयोग’ पुस्तकको अध्ययनपश्चात् पुस्तकमा उल्लेख भएका कुराहरू जीवनमा लागू गरी समाज विकासका लागि टेवा दिन सकिन्छ ।  यसले नेपालीको मौलिक समाज विकासमा एउटा गतिलो इँटा थप्न सफल भएको छ । यो पुस्तक हरेक व्यक्तिले पढ्नु पने खालको छ । पुस्तक पठनीय छ र सङ्ग्रहणीय छ । नागरिक समाजको आकर्षणको केन्द्रविन्दुमा रहने गरी थप कृतिहरूको सिर्जना गरी नेपाली समाजमा लगानी गर्न सर्जक बराललाई थप प्रेरणा र हौसला मिलोस् । आगामी दिनमा थप विज्ञतासहितका पुस्तकका लागि शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप