कम्बोडियामा विद्यालयहरु पुनः खुल्न थाले

एजेन्सी । कोरोनाभाइरसको महामारीका कारण बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारबाट पुनः सञ्चालन हुन थालेको जानकारी दिएका छन् ।
शिक्षा मन्त्री हाङ चौन नारोनले विद्यालय सञ्चालन गर्दा आधारभूत स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । पठनपाठन गराउने विद्यालयहरूका लागि सरकारले छुट्टै निर्देशिका पनि बनाएको र त्यसको पूर्ण पालना गराउनुपर्ने शर्त राखिएको उनले बताए । सो निर्देशिका स्वास्थ्य मन्त्रालयले तयार पारेको हो ।
निर्देशिकामा हरेक शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनु पर्ने, तापक्रम परीक्षण गरिने, नियमितरूपमा हात धुनुपर्ने वा ‘सेनिटाइजर’को प्रयोग गर्नुपर्ने र सामाजिक दुरी कायम गर्नु पर्ने व्यवस्थाहरु समावेश गरिएको छ ।
सामाजिक दुरी कायम गर्नका लागि साढे एक मिटरको मापदण्ड बनाइएको पनि निर्देशिकामा उल्लेख गरिएको छ । त्यसैगरी कुनै पनि विद्यार्थी तथा शिक्षकमा ३७।५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएमा उनीहरुलाई विद्यालयमा प्रवेश गर्न नदिइने भएको छ ।
कुनै पनि कक्षाकोठामा २० देखि २५ भन्दा बढी विद्यार्थी राखिने छैन, मन्त्री नारोनले भने । उनले विद्यालयले त्यही अनुसार व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारे । मन्त्री नारोनका अनुसार हरेक हप्तामा दुई वा तीन दिन मात्रै विद्यालयमा उपस्थित हुने र अरु दिन घरबाटै पढ्ने व्यवस्था गरिएको छ ।
कम्बोडियालाई कोरोनाभाइरसको महामारी रोक्न सफल देशका रुपमा लिइएको छ । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा अहिलेसम्म कोरोनाका कारण २७४ जना सङक्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये २७२ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
-
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
-
भियतनाममा पनि पोखराकै जस्तो बेलुन विस्फोट, जन्मदिन मनाउँदा भयो यस्तो घटना
-
‘आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा’
-
देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
-
भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण टोली प्रतिनिधि प्रधानमन्त्री भेट्न बालुवाटारमा