बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पुजारी हत्या प्रकरणः सांसद साह र प्रहरीबीच जुहारी

सोमबार, २२ भदौ २०७७, १८ : ५४
सोमबार, २२ भदौ २०७७

रौतहट । सांसद प्रभु साहले पुजारी हत्याकाण्डमा गलत प्रतिवेदन दिएका प्रहरीमाथि कार्वाहीको माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी प्रदेश-२ का अध्यक्षसमेत रहेका सांसद साहले पुजारी श्रीराम साह हत्या प्रकरणमा प्रहरीले गलत प्रतिवेदन सार्वजनिक गरेको भन्दै कार्वाहीको माग गरेका हुन्  । 

सामाजिक सञ्जाल फेसबूकमार्फत सांसद साहले पुजारी प्रकरणमा गलत अनुसन्धान गरेकोले संलग्न प्रहरीलाई निलम्बन गरी पुनः छानबिन गर्न माग गरेका छन् ।  गरुडामा  निरञ्जन रामको हत्यापछि हिरासतमा रहेका विजय रामको समेत हत्या हुँदा विवादित भएको प्रहरीले पुजारी हत्या प्रकरणमा पनि यस्तै पर्दा हाल्न खोजेको उनको आरोप छ । 

त्यस्तै सांसद साहले उक्त घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास गरिएको भन्दै निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् । सांसद साहले यस घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत एवं प्रतिवेदन सार्वजनिक गर्ने पदाधिकारीहरुलाई तुरुन्त निलम्बन गरि घटनाको पुनः छानबिन गर्न जरूरी रहेको बताएका छन् ।

उता, प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले भने पुजारीको हत्या आर्थिक कारोबारमा कुरा नमिलेर भएको दाबी गर्दै आएका छन् । मृतक पुजारीका भाई लालबहादुर ठाकुरले दिएको जाहेरीमा रामनरेश पटेलसँग आर्थिक कारोबार भएको, पटेलका बाबुले एक लाख साँवाको ब्याजसहित ३ लाख पुग्दा विवाद भएको र त्यसकै कारण हत्या भएको डिआईजी धिरजप्रताप सिंहको दाबी छ ।

तर पुजारी परिवारका सदस्यले भने कुनै आर्थिक लेनदेन नरहेको भनी दुःखेसो पोखेका छन् । अर्कोतर्फ हिरासतमा रहेका पुजारी हत्याका आरोपी रामनरेश पटेल र बालकुमार पटेलका परिवारले पनि पुजारीसँग आफुहरुको कुनै किसिमको आर्थिक कारोबार नरहेको  स्पष्ट पारेका छन् । 

आरोपी रामनरेश पटेलका बाबु तुलसी राउत र अर्का आरोपी बालकुमार पटेलका बाबु जवाहिर राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफुहरुको पुजारीसँग कुनै आर्थिक कारोबार नरहेको बताए । रामनरेशका बाबु तुलसी राउतले आफुले मृतक श्रीराम साहसँग कुनै किसिमको ब्यवहार नभएपनि प्रहरीले निर्दोष छोरालाई हत्याको आरोपमा फसाएको दुःखेसो पोखे ।

प्रदेश प्रहरी कार्यालयले हत्या प्रकरणको गहिरो छानबिन एवं अनुसन्धान गरेको भन्दै पुजारीको हत्या लेनदेनको कारण भएको लिखित प्रतिवेदन सार्वजनिक गरेको छ । माधवनारायण नगरपालिकाको खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी श्रीराम साहको भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर हत्या गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप