बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको विरोधमा अटो व्यवसायी- अति भयो !

सोमबार, २२ भदौ २०७७, १८ : २४
सोमबार, २२ भदौ २०७७

काठमाडौं । अटोमोबाइल्स क्षेत्र स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा लम्ब्याउन नहुने पक्षमा देखिएको छ । उपत्यकामा जारी निषेधाज्ञाको समय बुधबार सकिनै लाग्दा अटोमोबाइल्स क्षेत्रको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसनले निषेधाज्ञाको विकल्प खोज्नुपर्ने धारणा सार्वजनिक गरेको हो । सरकारले जारी राखेको लकडाउन थप लम्ब्याउनसक्ने देखिएको भन्दै त्यसो नगर्न महासंघले सुझाएको हो ।

नाडाले विश्वका अरु देशमा लकडाउन नगरिकनै कोरोनाभाइरसको नियन्त्रणका लागि उल्लेख्य सफलता हासिल भएको र संक्रमण भयावह भएको मुलुकमा समेत आर्थिक क्रियाकलापलाई सूचारु राखेको भन्दै नेपालमा पनि थप लकडाउन गर्न नहुने मत राखेको छ । लकडाउन वा निषेधाज्ञाका कारण नेपालको अर्थतन्त्र धरासायी हुँदै गएको र बेरोजगारी समेत भयावह बन्दै गएको अवस्थामा कोरोना भाइरस रोकथामको वैकल्पिक उपाय अप्नाउन समेत महासंघले सरकारसँग आग्रह गरेको छ । 

महासंघले दक्षिण पूर्वी एसियाका केही देशहरुले लकडाउन नै नगरी संक्रमण रोकथामका उपायहरुको अवलम्बन गरिरहेको पनि देखिएको, उच्च गतिमा संक्रमण बढिरहेको अमेरिका जस्तो मुलुकले पनि लकडाउन नगरेको लृष्टान्त दिँदै नेपालमा लकडाउन मात्रै नै संक्रमण उपाय हो भन्ने आधार नभएको जनाएको छ ।  

लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभएर बेरोजगारीको समस्या समेत भयावह बनाउँदै गएको भन्दै निषेधाज्ञाको थप्दै जाँदा थप भयावह हुने निश्चित रहेको समेत महासंघले चेतावनी दिएको छ । अटो क्षेत्र समेत लकडाउनकै कारण ठूलो मारमा परेको भन्दै महासंघले भनेको छ, ‘अब अति भयो । समयलाई बुझौ, संसारलाई नियालौं र अब काम गरौ ।’

सरकारले संक्रमणबाट बच्ने सुरक्षात्मक उपायहरुको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्छ भन्ने धारणा महासंघको रहेको अध्यक्ष कृष्णप्रसाद दुलालले उल्लेख गरेका छन् । अन्यथा जनता स्वयं दुःख, पीडा र अभावका कारण बाध्य भई सडकमा आउने चेतावनी समेत उनले दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप