शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नियम लत्याएर त्रिभुवन विश्वविद्यालयका दुई विभागीय प्रमुख नियुक्त

सोमबार, २२ भदौ २०७७, १७ : २५
सोमबार, २२ भदौ २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर दुईजना विभागीय प्रमुख नियुक्त गरेको छ । मौजुदा नियम मिचेर कार्यकारी परिषद्ले समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईलाई नियुक्त गरेको हो । 

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम-०५० को ०७३ पुस सम्मको संशोधनअनुसार विभागको प्रमुख नियुक्त गर्दा बरिष्ठ शिक्षकहरुमध्येबाट सम्बन्धित डिनको राय लिएर ३ जनाको सिफारिस गर्नुपर्ने व्यवस्था छ । डिनको राय लिएर पछि शिक्षाध्यक्षले कार्यकारी परिष्दमा पेश गर्नुपर्छ ।  तर, कानुनी व्यवस्थालार्ई बेवास्ताा गर्दै डिनको लिखित राय नै नलिईकन कार्यकारी परिषद्ले सह–प्राध्यापक लुइटेल र प्रा.डा.प्रसाईलाई नियुक्त गरेको छ ।

 समाजशास्त्र र भाषाविज्ञानको विभागीय प्रमुख नियुक्त गर्दा आफुसँग राय नलिइएको त्रिभुवन विश्वविद्यालयकी डिन प्रा.डा.कुसुम शाक्यले बताइन् । रातोपाटीसँग कुरा गर्दै शाक्यले भनिन्– ‘मसँग राय लिइएको छैन्, कार्यकारी परिष्दले आफ्नै ढंगले नियुक्त गरेको रहेछ, मैले पछि मात्रै थाहा पाएँ ।’

त्रिभुवन विश्वविद्यालयले समाजशास्त्र र भाषाविज्ञानसँगै साउन ३२ मा एकैदिन नियुक्त गरेको अर्थशास्त्रका विभागीय प्रमुख नियुक्त गर्दा चाहिँ सम्बन्धित डिनको राय लियो । तर, उपकुलपति धर्मकान्त बाँस्कोटाले आफ्नो पूर्ववत मान्यताविपरित अवकाश पाउन ३ महिनामात्र बाँकी रहेका प्रा.डा. सुहनकुमार कर्णलाई नियुक्त गरे । यसबारे प्रतिक्रिया लिन खोज्दा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. धर्मकान्त बाँस्कोटा सम्पर्कमा आउन चाहेनन् । 

अन्य प्रोफेशर हुँदाहुँदै अवकासमा जान ३ महिना मात्र बाँकी रहेका प्राध्यापकलाई विभागीय प्रमुख बनाउनु उचित निर्णय नभएको त्रिविका प्राध्यापकहरु बताउँछन् । त्रिविको पछिल्लो निर्णय गैह्रकानुनी रहेको भन्दै नेविसंघ त्रिवि समितिले विश्वविद्यालयमा तालाबन्दी गरेको छ । 

समाजशास्त्र विभागको प्रमुख नियुक्त भएका लुइँटेललाई यसअघि आफ्नो स्वार्थमा आन्दोलन गर्न विद्यार्थी उक्साएको आरोप लागेको थियो । मास्र्टर्सको फस्ट सेमेस्टरको परीक्षामा जानिबुझी फेल गराएर ‘आन्दोलन गर्नु, म विभागीय प्रमुख भएपछि सबैलाई पास गराउँछु’ भन्दै उनले तत्कालिन डिपार्टमेन्ट हेडविरुद्ध विद्यार्थीलाई उक्साएको भन्दै उनी विवादमा परेका थिए । 

‘०७५ मालुईटेलले प्राक्टिकलमा फेल गराएर १३ जना विद्यार्थिलाई तत्कालिन समाजशास्त्रको एचओडी तुल्सीराम पाण्डेविरुद्ध आन्दोलन गर्न सुझाएका थिए’ त्रिवि समाजशास्त्रमा अध्ययनरत विद्यार्थी किरण थापाले रातोपाटीसँग भने– ‘ढुंगा हान्न लगाएर त्यतिबेला एचओडी हटाउन उहाँको योजना थियो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप