बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोरोनाबारे अफवाह’ फैलाउने नक्कली डाक्टर : जसले लिन्थे ‘चमत्कार’ को ३० हजार !

महंगोमा औषधी बेचेरै ललितपुरमा घर
सोमबार, २२ भदौ २०७७, १७ : २३
सोमबार, २२ भदौ २०७७

काठमाडौँ । कोरोनाबाट मृत्यु भएकाहरुको धमाधम ‘मिर्गौला, आँखा र लिभर निकालिन्छ’ भनेर अफवाह फैलाउने सुवास सुब्बा लिम्बुले आफूलाई प्राकृतिक चिकित्सक दावी गरेका छन् । 

ललितपुरको ढोलाहिटीमा अन्तिम विकल्प प्रा.लि.उपचार तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने लिम्बुले ‘क्यान्सर र एचआईभी एड्स निको पार्छु’ भन्दै एउटै औषधीको ३० हजारसम्म लिएको खुलासा भएको छ । 

अफवाह फैलाएको आरोपमा सोमबार बिहान अपराध महाशाखाले लिम्बुलाई पक्रेर अनुसन्धान थालेको छ । उनले ‘चमत्कार’ नामको 'भिटामिन डी' औषधी ३० हजारमा बिक्री गरेको बिल रातोपाटीलाई प्राप्त भएको छ । 

लिम्बुले एचआईभी ८० प्रतिशत र क्यान्सर २० प्रतिशत निको पार्न सक्छु भन्दै सबै बिरामीलाई ‘चमत्कार’ नामको आयुर्वेदिक औषधी दिने गरेका थिए । लकडाउन शुरु हुनुअघि ५० हजारसम्म बेच्ने सो औषधी लकडाउनपछि ३० हजारमा बेच्ने गरेको बताइएको छ ।

भारतको कालिमबङमा वनस्पति विज्ञान शास्त्र (बोट्नी) पढेर आएको दावी गर्ने लिम्बु तेह्रथुमबाट काठमाडौँ आएका हुन् । आयुर्वेदिक औषधीको व्यापार शुरु गरेको ६ महिनामा उनले लतिलपुरको नखिपोटमा घर बनाएको उनलाई चिन्नेहरु नै बताउँछन् । 

तिनै लिम्बुलाई अफवाह फैलाएको कसुरमा नियन्त्रणमा लिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए । उनले भने, ‘महंगोमा औषधी बेचेर ठगी गरेको हुनसक्छ, त्यसबारे पनि अनुसन्धान गर्छौं ।’ 

अस्पतालका डाक्टरले ‘अब उपचार हुन सक्दैन’ भनेका बिरामीलाई उनले अन्तिम विकल्प भन्ने आयुर्वेदिक औषधीले निको पार्ने दावी गर्थे । धेरैजसो रुकुम, रोल्पा, बाग्लुङ र गोरखाका बिरामीलाई औषधी बेच्ने लिम्बुले घरमै गेष्टहाउस जस्तो बिरामीलाई राखेर थेरापी उपचार पनि गर्थे । उनले त्यसका लागि घरमा सुरक्षा गार्ड समेत राखेका थिए । 

नखिपोटस्थित सुबास सुब्बा लिम्बुको घर ।

सञ्चार माध्यममा ‘कोरोना संक्रमितलाई आफन्तले शदगद गर्न नपाउने’ समाचार पढेको भरमा उनले युट्युबमा अस्पतालका डाक्टरले कोरोनाबाट मृत्यु भएको बिरामीको अंग निकाल्ने गरेको अन्तर्वार्ता दिएको प्रहरीसँग बताएका छन् ।

बाग्लुङकी एक महिलालाई उनले दिएको औषधी अधिक सेवन गरेर क्यान्सर नै भएको बताइएको छ । लिम्बुले मुख नबारेकाले औषधीले काम नगरेको भन्दै उल्टै गाली गरेको ति महिलाले बताइन् । 

अहिले क्यान्सर रोग विशेषज्ञको सरसल्लाहमा ती महिलाको उपचार भइरहेको छ । लिम्बुले बेच्ने गरेको ‘चमत्कार’ नामको औषधीको विश्वसनियताबारे प्रश्न उठेको छ । 

बिरामीको उपचारको नाममा ७ वर्षदेखि अवैध धन्दा चलाउँदै आएका लिम्बुले प्यारालाइसिस, एचआईभी एड्सजस्ता रोगका बिरामीलाई एउटै औषधी दिने गर्छन् । 

क्यान्सर, एचआईभीका १०० रोगीमध्ये ९९ जनालाई निको पारेर पठाएको दावी गर्ने लिम्बुले भ्रामक प्रचार गरेर लुट मच्चाइरहेको सूचना अपराध महाशाखाले पाएपछि उनलाई पक्रेको हो । 

बैंकमा कारोबार नगर्ने

लिम्बुले बैङ्क ट्रान्जेक्सनमा कारोबार गर्दैनन् । लिम्बुबाट औषधी किन्दै आएका बागलुङका एक युवाका अनुसार कि त आईएमई गर्न लगाउँछन् नभए नगद नै लिन्छन् । 

लिम्बुले आफ्नो बैङ्क खाता नभएको भन्दै उपचार गर्न आउने बिरामीहरुबाट नगद नै लिने गरेको ती युवाको भनाइ छ । ती युवाले पनि ८ पटकसम्म लिम्बुले उत्पादन गरेको औषधी किनेको बताउँछन् । 

‘बैङ्कमा कारोबार नहुने भनेपछि मलाई त्यतिबेलै शंका लागेको थियो,’ ती युवाले रातोपाटीसँग भने, ‘बैङ्क अकाउन्टमा हाल्दिन्छु भन्दा मान्दैनथे । प्रहरीले समातेपछि मात्र थाहा भयो लिम्बुको हर्कत ।’

ती युवाका अनुसार लिम्बुले एकदिनमा ५ देखि ६ लाखसम्मको औषधी बेच्थे । पछिल्लो समय कोरोनाका समेत औषधी पत्ता लगाइसकेको लिम्बुले दावी गर्दै आएका थिए । 

अस्पतालमा उपचार गराउँदा गराउँदा वाक्क भएका बिरामी पनि लिम्बुको घर आउँथे । अनि उपचार गर्ने बहानामा लिम्बुले धेरैलाई ठगेको ती युवा बताउँछन् । 

कोरोनाअघि सामाजिक सञ्जालहरूमा विज्ञापन हेरेर ‘अन्तिम विकल्प’ मा दैनिक ५० देखि ६० को हाराहारी बिरामीहरु उपचारको लागि पुग्थे,’ ती युवकले रातोपाटीसँग भने । 

पक्राउ परेपछि अस्पताल बन्द !

प्रहरीले पक्रेपछि लिम्बुको घरको गेटमा ‘अस्पताल बन्द छ’ भनेर लेखिएको छ । जहाँ लिम्बुको फोटो, नम्बर र ठेगाना उल्लेख गरिएको छ । 

त्यसअघि आइतबार, सोमबार, बुधबार र शुक्रबार ८ बजेदेखि टोकन लिन पाइन्थ्यो । बिहान ९ बजेदेखि ५ बजेसम्म चेकअपको समय तोकिएको थियो । 

त्यस्तै लिम्बुले मंगलबार १० बजेदेखि ५ बजेसम्म चेकअप गर्थे । बिहीबार ९ बजेदेखि २ बजेसम चेकअप हुन्थ्यो । शनिबार विदा भएपनि औषधीको लागि बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला हुन्थ्यो । 

लिम्बु डाक्टर नै होइनन् : अध्यक्ष ज्ञवाली

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले पढ्दै नपढेको मान्छेले केही गर्न नसक्ने भन्दै लिम्बु डाक्टर नै नभएको खुलासा गरे । 

गाउँघरमा पाइने जडीबुटी एक ठाउँमा मिसाएर औषधी भन्दै अफवाह फैलाउने लिम्बुलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने ज्ञवालीको माग छ । ‘गफ बढी गर्ने लिम्बुको शैली नै हो,’ ज्ञवालीले भने । 

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवाली

हालसम आयुर्वेदिक पद्धतिबाट क्यान्सर निको हुने पद्धति फेला नपरेको अध्यक्ष ज्ञवाली बताउँछन् । ‘लिम्बु एचआईभी संक्रमितलाई पूरै निको पारिदिएको दाबी गर्छन् तर त्यस्तो औषधि संसारमै नबनेको ज्ञवालीको भनाइ छ । 

क्यान्सरको उपचारमा प्रयोग हुने प्रमाणित औषधिहरू पनि केही जडीबुटी र केही केमिकलबाट बनेको बताउँदै अध्यक्ष ज्ञवालीले भने, ‘तर जडीबुटी खाएर कसैको क्यान्सर निको भएको छैन ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप