शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशीलमा मिसियो सहकारी पार्टी

सोमबार, २२ भदौ २०७७, १५ : १५
सोमबार, २२ भदौ २०७७

काठमाडौं । विवेकशील नेपाली दल र सहकारी पार्टी नेपालबीच सम्मिलन सम्झौतामा हस्ताक्षर भएको छ । भदौ २१ गते सम्मिलन सम्झौतामा हस्ताक्षर भएसँगै दुई दल एकीकृत भएको विवेशशील नेपाली दला अध्यक्ष मिलन पाण्डेले जानकारी दिए ।  पाण्डेका अनुसार विवेकशील नेपाली पार्टीले नेतृत्व गर्ने सहमतिसहित सहकारी पार्टी नेपाल विवेकशील नेपाली दलमा सम्मिलन भएको हो । यो सम्मिलनसँगै विवेकशील नेपाली दलले सुसंस्कृत राजनीतिको केन्द्र बनाउने उद्घोष गरेको छ ।

विवेकशील नेपाली दल २०६९ देखि नेपालमा वैकल्पिक सुसंस्कृत राजनीति गर्दै सक्रिय छ भने सहकारी पार्टी नेपाल सहकारी आन्दोलनलाई संस्थागत गर्ने र उत्पादनमा केन्द्रित गर्ने नीति तय गर्दै राजनीतिमा सहकारी संस्कृति (सहकार्य, सहमति र मेलमिलापको संस्कार) स्थापित गर्ने उद्देश्य लिएर २०७० सालदेखि देखि सक्रिय थियो । 

२०७० को निर्वाचनका समानुपातिक मात्र भाग लिएको सहकारी पार्टीले ६ हजार बढी मत ल्याएर आएको थियो भने ३ सय ३५ उम्मेदवार उठाएको थियो ।  सम्मिलन सम्झौता पत्रअनुसार एकीकृत दलको नाम विवेकशील नेपाली दल नै रहने र विधान र राजनीतिक दस्तावेज पनि विवेकशील नेपाली दलकै कायम रहने छ ।  विवेकशीलको सङ्घीय समिति  विस्तार गर्दै सहकारी पार्टीका केन्द्रीय पदाधिकारीलाई स–सम्मान सम्मिलित गरिने सहमति भएको छ । 

जसमा अध्यक्ष हिरामणि पौडेललाई पार्टीको कृषि तथा सहकारी विभाग प्रमुखको जिम्मेवारी दिइने भएको छ । अन्य तहगत नेतृत्वका हकमा क्षमता र योग्यताका आधारमा उचित जिम्मेवारी प्रदान गरिने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौतामा हस्ताक्षरपछि विवेकशील नेपाली दलका महासचिव निर्देश सिलवालले, मूल्य मान्यतामा आधारित सुसंस्कृत राजनीतिको केन्द्र तथा उन्नत लोकतान्त्रिक सङ्गठन बनाउँदै सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्ने र पुस्तान्तरण सहितको रूपान्तरणकारी नेतृत्व निर्माणमा लाग्ने विवेकशीलको नीति अनुरूप यो सम्मिलन भएको बताए ।

यस्तै सहकारी पार्टी नेपालका अध्यक्ष हिरामणि पौडेलले विद्यमान अव्यवस्था र अराजकताबाट निकास पाउन र आउँदो ७९, ८०को निर्वाचन मार्फतनै सुसंस्कृत राजनीतिको अभ्यास स्थापित गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

उनले यसलाई गम्भीर रूपमा मनन गर्दै सहकार्य तथा मेलमिलापको नीति अनुरूप विवेकशील नेपाली दलको नेतृत्वमा वैकल्पिक केन्द्र निर्माण गर्न आफू पनि सम्मिलित भएको बताए ।  यो सम्मिलनसँगै विवेकशील नेपाली दलले मूल्य–मान्यता, विचार र राजनीतिक एजेन्डा मिल्ने सम्पूर्ण व्यक्ति, समूह र पार्टीहरूलाई सहकार्य, सम्मिलन र एकताको लागि विवेकशीलकै घोषित नीतिअनुरूप आह्वान गरेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप